भरतपुर अस्पतालमा आजदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क (विज्ञप्तीसहित)



Download our app to get more features

चितवन, ८ साउन । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा आजदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क गरिएको छ । 

अस्पताल विकास समितिको निर्णय अनुसार आज साउन ८ गते देखि अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउनुहुने सम्पूर्ण सेवाग्राहीहरुको लागि ओपिडी टिकट निःशुल्क गरिएको अस्पतालका प्रवक्ता डा. गोविन्द कंडेलले प्रेस विज्ञप्ती मार्फत जानकारी दिए । 

अस्पतालमा आउने अति गरिब तथा सिमान्तकृत सेवाग्राहीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच हुनेछ भन्ने कुरालाई मनन गरी यो निर्णय गरिएको अस्पतालले जनाएको छ । 

अति गरिब, वेवारिसे, विपन्न तथा सिमान्तकृत समुदायलाई अस्पतालको आकस्मिक कक्षमा समेत टिकट र उपचार निःशुल्क भइरहेको समेत विज्ञप्तीमा जनाईएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले स्वास्थ्यमा सबैको पहुँच पुर्याउने उद्देश्य ओपिडी टिकट निःशुल्क गरिएको बताए । यो निर्णयले सेवा छिटो छरितो हुने समेत विश्वास व्यक्त गरे । पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन समेत लामो समय लाग्ने गरेको उनले बताए ।

यसअघि अस्पतालमा सेवा लिन आउँने महिला, ज्येष्ठ नागरिक र स्वास्थ्य बीमा भएका सेवाग्राहीको शुल्क नलिने गरेकोमा अहिले सबैलाई निःशुल्क गरिएको हो ।

अस्पतालमा ओपिडी जाँच गर्न आउँने बिरामीको चाप बढ्न थालेपछि भीड व्यवस्थापन गर्न अस्पतालले यसअघि ओपिडी टिकड काउन्टर थप गरी समय समेत बढाउने निर्णय गरी सोही अनुरूप सेवा सञ्चालन गर्दै आएको छ ।

नेपालको मध्यभागमा अवस्थित यस भरतपुर केन्द्रीय  अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् ।

Last modified on 2022-07-24 21:47:57

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts