भरतपुर अस्पतालमा डाक्टर, नर्स, फार्मेसी र ल्यावमा ४७ जनालाई रोजगारीको अवसर (विज्ञापनसहित)



Download our app to get more features

चितवन, ९ साउन । चितवनस्थित भरतपुर अस्पतालले स्वास्थ्य तर्फका विभिन्न पदमा ४७ जना स्वास्थ्यकर्मी माग गरेको छ । 

जसमा चिकित्सक तर्फ मेडिकल अधिकृत पदको लागि करार सेवामा ८ र मासिक ज्यालादारी सेवामा ५ गरी कुल १३ जना माग गरिएको छ । त्यस्तै, स्टाफ नर्स तर्फ करार सेवामा १२ र मासिक ज्यालादारी सेवामा १२ गरी कुल २४ जना माग गरिएको छ ।

त्यसैगरी, फार्मेसी सहायक र ल्याव टेक्निसियन तर्फ करार सेवामा १/१ र मासिक ज्यालादारी सेवामा ४/४ गरी कुल ५/५ जना माग गरिएको छ ।

उनीहरूले यहि साउन ९ देखि १५ गतेसम्म कार्यालय समयभित्र दरखास्त दिन सक्ने छन् । 

ठूलो संख्यामा बिरामी आउँने र भीडभाड हुने यस अस्पताल माग गरिएको यो विज्ञापन अझै प्रयाप्त भएको छैन । सरकारको ध्यान नपुग्दा सीमित कर्मचारीको भरमा काम गर्नुपर्ने अस्पतालको बाध्यता छ ।

‘सीमित कर्मचारी–असीमित बिरामी’

यसअघि, भरतपुर अस्पताल: ‘सीमित कर्मचारी–असीमित बिरामी’, भीड व्यवस्थापनमा हम्मे–हम्मे शीर्षकमा हाम्रो डक्टर न्यूजमा समाचार आएको थियो । 

भरतपुर अस्पतालमा  ‘सीमित कर्मचारी–असीमित बिरामी’ को कारण भीड व्यवस्थापनमा हम्मे–हम्मे पर्ने गरेको छ । 

जनशक्ति र‌ पूर्वाधार भन्दा बिरामीको सँख्या बढी हुँदा उपचार तथा भीड व्यवस्थापनमा समस्या देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । 

दैनिक २ हजार हाराहारीसम्म बिरामी

अस्पतालको ओपिडीमा अहिले दैनिक ११ सयदेखि २ हजार हाराहारी बिरामी पुग्ने गरेका छन् । त्यसमा बिमाका बिरामीको संख्या बढी छ ।

स्थानीय सरकारहरुबाट सहयोगको अपेक्षा 

मेसु प्रा. डा. पौडेलले भने– ‘सेवाग्राहीको समस्याप्रति हामी दुखित छौं। संघिय सरकारबाट जनशक्ती थप नभइसकेको अवस्थामा चितवनका स्थानीय सरकारहरुबाट पनि भरतपुर अस्पतालको समस्या बुझि सहयोग गरिदिए बिरामीहरूकै पिरबेथा बुझे सरह हुने थियो । नागरिक समाजहरुले पनि स्थानीय सरकारहरुलाई भरतपुर अस्पतालसँग यो विषयममा जोडिदिए राम्रो हुने थियो । आधारभुत स्वास्थ्य सेवा सबै नागरीकको अधिकार भएसँगै यसको विशिष्टिकरण पनि हामी सबैको साझा कर्तव्य हो।’

केन्द्रीय अस्पतालमा स्तरोन्नति, जनशक्ति भने अभाव

नेपाल सरकार मन्त्रीपरिषदको मिति विसं २०७५ चैत ३ गतेको निर्णय अनुसार विशिष्ट विशेषज्ञ अस्पतालमा स्तरोन्नति गरी सङ्घीय सरकार अन्तर्गत हालसम्मको अवधिमा कुनै थप जनशक्ति एवं दरवन्दी प्राप्त हुन नसक्दा अस्पतालमा विस्तार गरिएका सेवाहरू सहज रूपमा प्रवाह गर्न सकिएको छैन । अहिले अस्पतालको अधिकांश विभाग/वार्ड/शाखा/इकाईहरूमा न्यून जनशक्तिले कार्य गर्नु परेको छ ।

अस्पतालको क्षमता बढी, कर्मचारी कम

नेपाल सरकार मन्त्री परिषद्को मिति विसं २०६७ कार्तिक ८ गतेको निर्णयबाट ३ सय शैया स्वीकृत प्राप्त तथा अस्पताल विकास समितिबाट ३ सय शैया थप गरी हाल यस अस्पताल ६ सय शैया क्षमतामा सञ्चालित छ । यस अस्पतालमा नेपाल सरकारको दरबन्दी सङ्ख्या भने जम्मा १ सय ७५ मात्र रहेको छ । जुन अस्पतालमा सञ्चालित शैया क्षमताको तुलनामा अत्यन्तै न्यून हो । 

केन्द्रीय अस्पतालमा स्थायी कर्मचारी १ सय ६२ जना मात्रै

हाल अस्पतालमा नेपाल सरकारबाट स्थायी कर्मचारी १ सय ६२ जना मात्रै छ । त्यस्तै नेपाल सरकार अन्तर्गत करारमा ८ जना, छात्रवृत्ति तर्फ २९ जना, आमा सुरक्षा कार्यक्रम अन्तर्गत १६ जना, पोषण गृह कार्यक्रम अन्तर्गत ९ जना र अन्य कार्यक्रम अन्तर्गत २ जना गरी जम्मा २ सय २६ जना कर्मचारी कार्यरत छन् । जसमा नेपाल सरकारको दरबन्दी सङ्ख्या भने जम्मा १ सय ७५ मात्रै छ ।

विकास समितिको भरमा अस्पताल  

यस अस्पतालमा अधिकांश कर्मचारी अस्पताल विकास समिति अन्तर्गत छन् । त्यसमा पनि अधिकांश करारमा छन् । विकास समिति अन्तर्गत स्थायी ६२ जना, अस्थायी २ जना, करार ३ सय १ जना, दैनिक ज्यालादारी ६५ जना र नर्सिङ कलेजतर्फ करारमा कार्यरत कर्मचारी १७ जना गरी जम्मा ४ सय ४८ जना कर्मचारी कार्यरत छन् । अस्थायी समेत गरी विकास समितिबाट दरवन्दी स्वीकृत ४ सय ५० छ ।

सेवा परामर्श तर्फ १ सय ३५ जना कार्यरत

हाल अस्पतालको सेवा परामर्श तर्फ सामाजिक सेवा एकाइ सहजकर्ता १२ जना, सुरक्षाकर्मी २४ जना र सरसफाइकर्मी ९९ जना गरी जम्मा १ सय ३५ जना कर्मचारी कार्यरत छन् ।

नेपाल सरकारतर्फ स्वीकृत दरबन्दीहरू पुनरावलोकन गरी आवश्यक प्रक्रिया अघि बढेको अस्पतालले जनाएको छ । जसमा आगामी ५ वर्षभित्र हाल कायम रहेको १ सय ७५ दरबन्दीलाई बढाइँ १ हजार ३ सय २३ दरबन्दी प्रस्ताव गरी स्वीकृतिका लागि मन्त्रालयसमक्ष पेश गरिएको अस्पतालले जनाएको छ ।

ओपिडी टिकट निःशुल्क

यसैबीच, भरतपुर अस्पतालले आइतवारदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क गरिएको छ । अस्पताल विकास समितिको निर्णय अनुसार साउन ८ गतेदेखि अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउनुहुने सम्पूर्ण सेवाग्राहीहरुको लागि ओपिडी टिकट निःशुल्क गरिएको अस्पतालका प्रवक्ता डा. गोविन्द कंडेलले प्रेस विज्ञप्ती मार्फत जानकारी दिए । 

अस्पतालमा आउने अति गरिब तथा सिमान्तकृत सेवाग्राहीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच हुनेछ भन्ने कुरालाई मनन गरी यो निर्णय गरिएको अस्पतालले जनाएको छ । 

मध्य नेपालको आशाको केन्द्र

नेपालको मध्यभागमा अवस्थित यस अस्पतालमा चितवनसहित नवलपरासी, गोरखा, धादिङ, मकवानपुर, वारा, तनहुँ, लम्जुङ, रुपन्देही सहितका १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । तर, बिरामीको चाप बढी रहने यस अस्पतालमा सीमित कर्मचारी र व्यवस्थित पूर्वधारको अभावमा घण्टौं लाईनमा बस्नु पर्ने तीतो यथार्थ सबै सामु छर्लङ्ग छ । यद्यपि यस समस्याको समाधान तर्फ सरोकारवाला निकायको खासै ध्यान पुगेको देखिएको छैन । अस्पतालको सेवा सुविधा तथा उपचारलाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला निकायको ध्यान पुग्नु जरूरी देखिन्छ ।

विज्ञापनको पुरा विवरण यहाँ हेरौं :

Last modified on 2022-07-25 07:18:19

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts