भरतपुर अस्पतालको ओपीडी टिकट अब सबैजनाले घरबाटै काट्न सक्ने, घण्टौं लाईन बस्नु नपर्ने



Download our app to get more features

चितवन, १७ साउन । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले अब सबैजना बिरामीले घरबाटै अनलाइन टिकट काट्न सक्ने जनाएको छ ।

बिमा भएका र अन्य बिरामीलाई समेत मध्येनजर गरी अनलाइनबाट ओपीडी (बहिरङ्ग) टिकट शुरू गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले हाम्रो डक्टर न्यूजलाई जानकारी दिए । उनका अनुसार अब घरै बसेर समेत अनलाइन मार्फत टिकट काट्न सक्ने छन् ।

बिरामीले भरतपुर अस्पतालको वेबसाइटमा गई अनलाईन टिकट भन्ने ठाउँमा गई बिमाका बिरामीको लागि बिमा टिकट र अन्य बिरामीको लागि फ्री टिकट भन्ने विकल्प छनोट गरी त्यहाँ प्राप्त निर्देशनलाई पालना गरी टिकट लिन सकिने व्यवस्था गराएको मेसु डा. पौडेलले जानकारी दिए ।

अनलाईन टिकट प्रभावकारी हुने विश्वास

यसअघि अस्पतालमा पैसा तिरेर उपचार गर्नुपर्ने बिरामीको मात्रै ओपीडी अनलाइनबाट काट्न सकिने व्यवस्था गरेकोमा पैसा तिर्न झन्झटिलो भएको हुँदा बिरामीको आकर्षण नदेखिएको हुन सक्ने उनले बताए । अहिले अस्पतालले सम्पूर्ण सेवाग्राहीहरुको लागि ओपिडी टिकट निःशुल्क गरिएको छ । त्यसकारण अब त्यो झन्झट नहुने हुँदा यो अनलाईन टिकट प्रभावकारी हुने मेसु डा.पौडेलको विश्वास छ ।

सबैलाई निःशुल्क ओपीडी टिकट

अस्पताल विकास समितिको निर्णय अनुसार यहि साउन ८ गते देखि अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउनुहुने सम्पूर्ण सेवाग्राहीहरुको लागि ओपिडी टिकट निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा आउने अति गरिब तथा सिमान्तकृत सेवाग्राहीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच हुनेछ भन्ने कुरालाई मनन गरी यो निर्णय गरिएको हो ।

अति गरिब, वेवारिसे, विपन्न तथा सिमान्तकृत समुदायलाई अस्पतालको आकस्मिक कक्षमा समेत टिकट र उपचार यसअघि नै निःशुल्क हुँदै आएको छ ।

सेवाग्राहीलाई समेत सहज हुने विश्वास

अस्पतालका मेसुट डा. पौडेलले स्वास्थ्यमा सबैको पहुँच पुर्याउने उद्देश्य ओपिडी टिकट निःशुल्क गरिएको बताए । यो निर्णयले सेवा छिटो छरितो हुने समेत विश्वास व्यक्त गरे । पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन समेत लामो समय लाग्ने गरेको उनले बताए । यसले अनलाईन टिकट लिने सेवाग्राहीलाई समेत सहज हुने उनको विश्वास छ ।

अनलाइन टिकट प्रभावकारी होला ?

यसअघि अस्पतालमा ओपीडी टिकट काट्न घण्टौं लाईनमा बस्नुपर्ने बाध्यता थियो । जसले गर्दा बिरामीले हैरानी व्यहोर्नु पर्थ्यो । टेक्नोलोजीमा धेरै नै अघि रहेको नेपाली माझ अनलाइन टिकट अब कत्तिको प्रभावकारी बन्छ त्यो भने हेर्न बाँकी नै छ । यो सुविधा प्रभावकारी बनोस् शुभकामना छ ।

कसरी काट्ने अनलाइन टिकट, सो बारे अस्पतालले जारी गरेको सूचना यस्तो छः

Last modified on 2022-08-02 10:05:43

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts