नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै, थपिए ८ सय १५ नयाँ सङ्क्रमित



Download our app to get more features

काठमाडौं, २६ साउन । नेपालमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन लागेदेखि दैनिक १ देखि ३ जनाको दरले कोरोनाका कारण मृत्यु हुने गरेकोमा गत २४ घन्टामा ५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार खोप नलगाउने मानिसहरूमा पछिल्लो समय कोरोना सङ्क्रमणले जटिलता ल्याएको देखिएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पनि १२ हजार नजिक पुगेको छ । गत २४ घन्टामा ५ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ८२ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर ८ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर ४ हजार ५ सय ३४ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार ४ सय ११ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ४ सय ६५ जना र २ हजार १ सय २३ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ९२ हजार १ सय ४६ र एन्टिजेन विधिबाट १ लाख ४६ हजार २ सय ९९ जना सङ्क्रमित भएका छन् । 

गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ४ सय ७६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७४ हजार २ सय ९५ पुगेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts