भरतपुर अस्पतालमा सधैजसो बिरामीको भीड, सेवालाई छिटो-छरितो बनाउने प्रयास



Download our app to get more features

चितवन, २७ साउन । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालले आफ्नो सेवालाई छिटो-छरितो र अझै व्यवस्थित बनाउन थुप्रै प्रयासहरू गरेको छ ।

सधैजसो बिरामीको भीडभाड रहने यस अस्पतालमा सेवा लिन आउँने बिरामीलाई मध्यनजर गरी विभिन्न सेवा सुविधा थप गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा.  कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अनलाइनबाट ओपीडी (बहिरङ्ग) टिकट शुरू

जसअन्तर्गत यहि साउन १७ गतेदेखि बिमा भएका र अन्य बिरामीलाई समेत मध्येनजर गरी अनलाइनबाट ओपीडी (बहिरङ्ग) टिकट शुरू गरिएको छ । उनका अनुसार अब घरै बसेर समेत अनलाइन मार्फत टिकट काट्न सक्ने छन् ।
 
बिरामीले भरतपुर अस्पतालको वेबसाइटमा गई अनलाईन टिकट भन्ने ठाउँमा गई बिमाका बिरामीको लागि बिमा टिकट र अन्य बिरामीको लागि फ्री टिकट भन्ने विकल्प छनोट गरी त्यहाँ प्राप्त निर्देशनलाई पालना गरी टिकट लिन सकिने व्यवस्था गराएको मेसु डा. पौडेलले जानकारी दिए । 

सबैलाई ओपीडी टिकट निःशुल्क

यसअघि अस्पतालमा पैसा तिरेर उपचार गर्नुपर्ने बिरामीको मात्रै ओपीडी अनलाइनबाट काट्न सकिने व्यवस्था गरेकोमा पैसा तिर्न झन्झटिलो भएको हुँदा बिरामीको आकर्षण नदेखिएको हुन सक्ने उनले बताए । अहिले अस्पतालले सम्पूर्ण सेवाग्राहीहरुको लागि ओपीडी टिकट निःशुल्क गरिएको छ । त्यसकारण अब त्यो झन्झट नहुने हुँदा यो अनलाईन टिकट प्रभावकारी हुने मेसु डा. पौडेलको विश्वास छ ।

स्वास्थ्य सेवामा सबैको सहज पहुँचको लागि निःशुल्क ओपीडी टिकट

अस्पताल विकास समितिको निर्णय अनुसार यहि साउन ८ गते देखि अस्पतालमा स्वास्थ्य परीक्षणको लागि आउनुहुने सम्पूर्ण सेवाग्राहीहरुको लागि ओपिडी टिकट निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार अस्पतालमा आउने अति गरिब तथा सिमान्तकृत सेवाग्राहीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच हुनेछ भन्ने कुरालाई मनन गरी यो निर्णय गरिएको हो । 

अति गरिब, वेवारिसे, विपन्न तथा सिमान्तकृत समुदायलाई अस्पतालको आकस्मिक कक्षमा समेत टिकट र उपचार यसअघि नै निःशुल्क हुँदै आएको छ ।

सेवा छिटो-छरितो हुने समेत विश्वास

अस्पतालका मेसु डा. पौडेलले स्वास्थ्यमा सबैको पहुँच पुर्याउने उद्देश्य ओपिडी टिकट निःशुल्क गरिएको बताए । यो निर्णयले सेवा छिटो-छरितो हुने समेत विश्वास व्यक्त गरे । पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन समेत लामो समय लाग्ने गरेको उनले बताए । यसले अनलाईन टिकट लिने सेवाग्राहीलाई समेत सहज हुने उनको विश्वास छ ।

अनलाइन टिकट प्रभावकारी होस् 
 
यसअघि अस्पतालमा ओपीडी टिकट काट्न घण्टौं लाईनमा बस्नुपर्ने बाध्यता थियो । जसले गर्दा बिरामीले हैरानी व्यहोर्नु पर्थ्यो । टेक्नोलोजीमा धेरै नै अघि रहेको नेपाली माझ अनलाइन टिकट अब कत्तिको प्रभावकारी बन्छ त्यो भने हेर्न बाँकी नै छ । यो सुविधा प्रभावकारी बनोस् शुभकामना छ ।

अन्य प्रयास 

मेसु डा. पौडेलका अनुसार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म जिओपीडीमा जाँच गर्न पाइने व्यवस्था, टिकट काउन्टर बिहान साढेसात देखि दिउँसो २ बजेसम्म खुला रहने (१२ देखि १ बजेसम्म बन्द रहनेछ।) त्यस्तै, बिलिङ काउण्टर थप गरि डिस्चार्ज काउन्टर छुट्टै व्यवस्था गरिएको छ । बिमा काउन्टर राती पनि खुला गरिएको छ । यहि साउन १ देखि अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ । यहाँबाट सेवाग्राहीले आफूलाई आवश्यक जानकारी लिन सक्नेछन् । अल्ट्रासाउण्ड (भिडियो एक्सरे) नयाँ भवनमा स्थानान्तर गरी टोकनको व्यवस्था गरिएको छ ।

फार्मेसीमा टोकन तथा बस्नको लागि आवश्यक कुर्चीको व्यवस्था गरिएको छ । त्यस्तै, वृध्द, असहाय, अपाङ्गलाई सहजहोस् भनेर छुट्टै लाईनको व्यवस्था गरिएको छ । गर्भवतीलाई लाइन बस्नै नपर्ने र सिधै जाँच गर्न पाउने व्यवस्था गरिएको छ ।

Last modified on 2022-08-12 20:36:12

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts