सेती अस्पतालमा ४ सय दरबन्दीका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण



Download our app to get more features

धनगढी, २९ साउन । धनगढीको सेती प्रादेशिक अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरिएको छ। मंगलबार २ सय शय्यामा स्तरवृद्धि गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेको हो ।

प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई २०७७ माघ १३ गते तीन सय शय्यामा स्तरवृद्धिको निर्णय गरेको थियो ।

२०७७ मा नै तीन सय शय्यामा स्तरवृद्धि गर्ने निर्णय गरेको सुदूरपश्चिम सरकारले अहिले आएर १ सय शय्या घटाएर २ सय शय्याको अस्पताल बनाउने निर्णय गरेको हो। विगतको निर्णय स्वास्थ्य ऐन विपरीत भएकोले दोस्रो निर्णय गरेको दाबी प्रदेश सरकारको छ।  प्रदेश सरकारले बढीमा २ सय शय्याको अस्पताल मात्र सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेकोले पहिलो निर्णयको औचित्य नभएको बताइन्छ। 

प्रदेश सरकारले संघ सरकारलाई तीन सय शय्या थप गरि ५ सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति दिन संघीय सरकारलाई अनुरोध गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरेर निर्णयका लागि मन्त्रिपरिषदमा पठाउने तयारी भइरहेको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्तले बताए।

‘सरकारले २ सय शय्याको अस्पतालमा स्तरवृद्धि गरेसँगै अस्पतालमा करिब ४ सय दरबन्दी कायम हुने देखिएको छ,’ उनले भने, ‘मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सकेर निर्णयका लागि मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ।’

विक्रम सम्बत् १९९७ मा जिल्ला अस्पतालको रुपमा स्थापना भएको सेती अस्पताल २०४० सालमा अञ्चल अस्पतालमा स्तरोन्नती भएको थियो। २०६० सालमा सरकारले ५० शय्या सञ्चालनको स्वीकृति प्रदान गरेको थियो। त्यसबेपछि अस्पताल विकास समितिबाट थप ७५ शय्या सञ्चालनको निर्णय भएको थियो । 

हाल सेतीमा ३ सय बढी शय्या सञ्चालनमा छन्। तर कूल स्वीकृत दरबन्दी भने १०६ जनाको मात्रै छ। प्रदेश सरकारले भने २ सय शय्यामा स्तरवृद्धिको निर्णय गरेसँगै चिकित्सक, नर्सिङ, प्रयोगशाला, पारामेडिकल र प्रशासनिक गरि ४ सय दरबन्दी स्वीकृतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको छ। 

सेती प्रादेशिक अस्पतालमा अहिले कायम रहेको १०६ दरबन्दीमा ३१ जना चिकित्सक, २४ जना नर्सिङ कर्मचारी, ४ जना प्रयोगशालामा र ३ जना प्रशासनिक कर्मचारी कार्यरत छन्। यस्तै प्यारामेडिकलतर्फ ८ जना, कार्यालय सहयोगी ३२ जना छन्। 

सेती अस्पताल २ सय शय्यामा स्तर वृद्धि भएसँगै सेती अस्पतालमा ११औं तहका ६ जना, नवौं र दसौं तहका ४६ जना, ८औं तहका ४४ जनासहित ९६ जना चिकित्सक हुनेछन्। यस्तै नर्सिङतर्फ १७४, प्रयोगशालातर्फ २०, पारामेडकलतर्फ ६१, प्रशासन र लेखा १२, मर्मत सम्भारतर्फ ६ र कार्यालय सहयोगी ५७ जनाको दरबन्दी हुनेछ। 

अस्पताललाई ५ सय शय्या बनाउने दाबी 
प्रदेश सरकारले सेती अस्पताललाई ५ सय शय्यामा लैजाने निर्णय कार्यान्वयन गरेरै छाड्ने सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले बताए। ‘सेती अस्पताललाई ५ सय शय्याको अस्पताल बनाउन मेलै सम्पूर्ण प्रयास गरिरहेको छु,’ उनले भने, ‘प्रदेश सरकारले २ सय शय्यामा स्तरवृद्धि गरेसँगै केन्द्र सरकारबाट थप ३ सय शय्याको स्वीकृति गर्ने काम यो पटक अवश्य गरिने छ।’ 

अहिले गरेको निर्णय चुनावमा भोट पाउने हिसाबले नगरेको सामाजिक विकास मन्त्री बोहराको दाबी छ। ‘चुनाव त आउँछ जान्छ, हामीलाई जनस्वास्थ्यको क्षेत्रमा काम गर्नुछ,’ उनले भने, ‘सेतीको स्तरवृद्धि गर्ने कुरामा राजनीति गर्न खोजिएको छैन। यो त काम गर्न पो खोजिएको हो।’

यस अघि २०७४ को संघीय र प्रदेश सभाको निर्वाचनमा पनि सेती अस्पताललाई स्तरवृद्धि गर्ने घोषणा गर्न नेकपा एमालेका उम्मेदवार नारदमुनि राना र नेपाली काँग्रेसकी उम्मेदवार आरजु राणा देउवाबीच प्रतिस्पर्धा चलेको थियो।

अहिले पनि सरकारले निर्वाचन घोषणा भएसँगै स्तरवृद्धिको निर्णय गरेकाले राजनीतिक लाभ लिनकै लागि प्रदेश सरकारले स्तरवृद्धिको निर्णय गरेको भन्ने धेरैको बुझाइ रहेको छ।

Last modified on 2022-08-14 11:44:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts