गर्भावस्थामा रेडियोलोजिकल परीक्षण गराउनुपरे के-के कुरामा ध्यान दिने ? जानौं



Download our app to get more features

विभिन्न रोगको अवस्था बुझ्न र निदान गर्न रेडियोलोजिकल परीक्षण अहिले अनिवार्य जस्तै छन् ।

एक्स–रे, सिटी स्क्यान, एमआरआई, अल्ट्रासोनोग्राफीजस्ता रेडियोलोजिकल परीक्षणका आ–आफ्नै महत्व र जोखिम छन् । यिनै महत्व र जोखिमका आधारमा रोग र अवस्थाअनुसार परीक्षण गरिन्छ । 

खास त गर्भावस्थामा रेडियोलोजी परीक्षण गर्दा निकै सचेत हुनुपर्छ । गर्भवती भएका या गर्भ रहेको शंका लागेका व्यक्ति र उनका आफन्तले रेडियोलोजीका क्रममा कस्ता सावधानी अपनाउनुपर्छ ? रेडियोलोजिस्ट राकेश कर्णले सुझाव दिएका छन् :

– एक्स–रे, सिटी स्क्यान, न्युक्लियर मेडिसिनजस्ता परीक्षणमा हानिकारक विकिरण हुने भएकाले गर्भावस्थामा यी परीक्षण गराउनु हुँदैन । अल्ट्रासोनोग्राफी, एमआरआईमा कुनै हानिकारक विकिरण प्रयोग हुँदैन । 

– नेपाली जनबोलीमा ‘भिडियो एक्स–रे’ भनिने परीक्षण एक्स–रेसँग सम्बन्धित जाँच होइन । यो नै गर्भावस्थाका लागि सबैभन्दा सुरक्षित र रोजाइको रेडियोलोजिकल परीक्षण हो । यसलाई मेडिकल भाषामा अल्टा«सोनोग्राफी(युएसजी वा अल्ट्रासाउन्ड) भनिन्छ । 

– एमआरआईमा कुनै हानिकरक विकिरण प्रयोग हुँदैन । तर, शक्तिशाली चुम्बकीय क्षेत्रका कारण गर्भाशयमा रहेको भ्रूणको विकासमा असर पार्नसक्छ । त्यसैले गर्भाधारणको पहिलो तीन महिनासम्म एमआरआई परीक्षण नगराउनु नै उचित हुन्छ । 

– असम्भव भएसम्म गर्भावस्थामा एक्स–रे, गामा–रेजस्ता विकिरणयुक्त परीक्षण गर्ने र विकिरण क्षेत्रमा हिँडडुल गर्नु हुँदैन । यस्ता विकिरणले भ्रूणको विकास र वृद्धिमा नकारात्मक असर पुर्याउँछ । गर्भधारणको पहिलो तीन महिनामा विकिरणको जोखिम उच्च हुन्छ । 

– प्रजनन उमेरका महिलाको एक्स–रे, सिटी स्क्यानजस्ता विकिरणयुक्त परीक्षण गर्नुअघि उनीहरु गर्भवती भए÷नभएको पक्का गर्न अन्तिम महिनावारी मिति (एलएमपी) सोध्ने गरिन्छ । त्यसैले बिरामी महिला गर्भवती भए वा गर्भवती भएको शंका भए सम्बन्धित डाक्टर वा प्राविधिकलाई जानकारी गराउनुपर्छ । आवश्यक परेमा यस्ता परीक्षण गर्नुपूर्व पिसाब जाँच(युपिटी टेस्ट) गरेर गर्भ रहे÷नरहेको पक्का गर्नुपर्छ । 

– गर्भवती महिलाको गम्भीर अवस्थाका कारण एक्स–रे, सिटी स्क्यानजस्ता विकिरणयुक्त परीक्षण गराउनैपर्ने भए यसबारे पहिल्यै सम्बन्धित प्राविधिकलाई जानकारी गराएमा कम विकिरण प्रयोग हुने विधि अपनाई जोखिम कम गर्न सम्भव हुन्छ । 

Last modified on 2022-08-15 08:50:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts