सुदूरपश्चिममा भाइरल ज्वरोको प्रकोप



Download our app to get more features

धनगढी, ६ भदौ । सुदूरपश्चिममा कोरोना संक्रमणको त्रास कायमै रहेका बेला भाइरल ज्वरोका बिरामीसमेत बढेका छन्। 

मौसम परिवर्तन भएसँगै प्रदेशमा भाइरल ज्वरोका बिरामी बढेका हुन्। 

सरसफाइ तथा स्वास्थ्य मापदण्ड नअपनाउँदा भाइरल ज्वरोका विरामी बढेको चिकित्सकले बताएका छन्। विशेषगरी कैलाली कञ्चनपुरमा यसका बिरामी बढी छन्।

मौसममा भइरहने फेर बदलका कारण मानव स्वास्थ्यमा समस्या देखिने गरेको छ। 

अहिले स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित पेट दुख्ने बिरामीको चाप बढेको सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निराजनदत्त शर्मा पौड्यालले बताए। 

अहिले विभिन्न प्रकारको भाइरल ज्वरो बढेको देखिएको छ। मौसम परिवर्तन हुने समयमा यस्तो समस्या देखिने गरेको छ’ उनले भने। 

कैलाली कञ्चनपुर लगायतका अन्य जिल्लामा रहेका स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ। 

विशेषगरी सेती प्रादेशक अस्पताल, महाकाली अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पताल लगायत अन्य जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामी बढेका हुन्। 

भाइरल ज्वरोमा रुघाखोकी लाग्ने, शरिर दुख्नेसँगै खान मन नलाग्ने समस्या बिरामीमा देखिने गरेको छ। 

स्वास्थ्य मापदण्डमा ध्यान नदिएकै कारण यस्तो समस्या देखिने गरेको चिकित्सकले बताएका छन्। 

मौसम परिवर्तनसँगै पानीमा भिज्नेहरु पनि यसको सिकार हुन थालको महाकाली प्रादेशिक अस्पतालका मेसु डाक्टर अर्जुन भट्टले बताए । 

उनी भन्छन्, 'महाकाली अस्पतालमा पनि यसका विरामी धेरै आउने  गरेका छन्। यसबाट जोगिनका लागि स्वास्थ्य मापदण्डमा ध्यान दिन आवश्यक छ।’

यो समयमा भाइरल ज्वरोका बिरामी सधै बढ्ने गरेका छन्। कोरोना भाइरसको सन्त्रासका कारण मानिसहरुले सरसफाई र स्वास्थ्यमा ध्यान दिएको भएपनि अहिले भने लापरबाही बढेको छ। त्यसकै कारण भाइरल ज्वरोका विरामी बढेको चिकित्सक बताउँछन्। 

भाइरल ज्वरोको संक्रमण बढेकाले सरसफाईमा ध्यान दिनुका साथै अनिवार्य मास्क लगाउन आग्रह गरिएको छ। विशेषगरी खानपीन तथा सरसफाइमा ध्यान दिन आवश्यक रहेको सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर पौड्यालले बताए। 

'यसबाट बच्नका लागि जथाभावी नछुने। बाहिरबाट आएपछि हात मुख राम्रो सँग सफा पानीले धुनु पर्छ,’ डाक्टर पौड्यालले भने, ‘बाहिरको खानेकुरा नखाने। खानपीन र सरसफाइमा ध्यान दिए यसबाट जोगिन सकिन्छ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts