बेलायत जाने नर्सले कुनै पनि शुल्क तिर्नु नपर्ने गरी नेपाल सरकारसँग सम्झौता



Download our app to get more features

काठमाडौं, ७ भदौ । नेपाली नर्स अब बेलायत जान सक्ने भएका छन् । 

रोजगारीका लागि नेपाली नर्स लैजानको लागि बेलायत सरकार र नेपाल सरकारबीच सम्झौता भएसँगै नेपाली नर्स बेलायत जाने बाटो खुलेको हो । 

स्वास्थ्य क्षेत्रका जनशक्ति लैजाने विषयमा सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले समझदारीपत्रमा हस्ताक्षर गरे ।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् भने रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरूले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउने पनि सम्झौतामा उल्लेख गरिएको छ । 

बेलायतले पहिलो चरणमा एक सयदेखि २ सयजना नर्स लैजाने गरी सम्झौता भएको छ । तर, बेलायत जाने नर्सहरूले नेपाल र बेलायतमा आवश्यक परीक्षा दिनुपर्ने मन्त्रालयले जनाएको छ । उनीहरुको तलब बेलायती स्वास्थ्यकर्मी सरह हुने पनि सम्झौतामा उल्लेख छ । 

स्वास्थ्यकर्मीको छनौट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने सम्झौतामा उल्लेख छ ।

नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने सम्झौतामा उल्लेख गरिएको छ । 

यस्तै विश्व स्वास्थ्य सङ्गठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २ हजारमा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने र नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढिकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने सम्झौतामा उल्लेख छ । 

परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने र नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने सम्झौतामा उल्लेख छ ।  

समझदारी पत्र, नियुक्ति प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेवसाइट http://moless.gov.np/np/page/uk-health-care मा उपलब्ध हुने तथा थप जानकारीका लागि [email protected] मा इमेल गर्न सकिने ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts