छिमेकी देशहरुमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा पनि फेरि कोरोना त्रास !

स्वास्थ्य र गृह मन्त्रालयद्वारा सचेत रहन आग्रह 



Download our app to get more features

काठमाडौं,  १० पुस ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले क्रिसमस र अँग्रेजी नयाँ वर्षमा भीडभाड हुनसक्ने भन्दै त्यस अवधिमा सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले कोभिड संक्रमणबाट बच्न र बचाउन मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेका छन् ।

मन्त्रायलले कोभिड–१९ को बुस्टर डोज लगाउन बाँकी रहेकाहरुलाई छिटो खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले छिमेकी देशहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ. ७ देखिएको भन्दै खोप लगाउन आग्रह गरेको हो । छिमेकी राष्ट्र चीन, जापान, दक्षिण कोरियालगायत राष्ट्रहरुमा कोभिडको संक्रमण पुनः देखिन सुरु भएको छ । त्यहाँ देखिएको कोभिडको सव भेरिएन्ट बिएफ ७ को संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको छ। यस भेरिएन्टले छोटो समयमा नै धेरै व्यक्तिलाई संत्रमण गर्ने देखिएको छ । मन्त्रालयले भने हालसम्म भने यो भेरिएन्ट नेपालमा पुष्टि नभएको जनाएको छ ।

उता, गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सुसूचित हुन अनुरोध गरेको छ ।

मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा शनिबारनै  जारी विज्ञप्तिमा एकअर्कामा भौतिक दूरी कायम राख्ने तथा व्यक्तिगत सरसफाइलगायतमा आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ ।                  

Last modified on 2022-12-25 10:54:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts