महिलाहरूमा अनियमित महिनावारीको समस्या बढ्दै, पिसिओएस र पिसिओडी मुख्य कारण!



Download our app to get more features

पछिल्लो समय महिलाहरूमा अनियमित महिनावारीको समयस्या निकै बढ्न थालेको चिकित्सकहरू बताउँछन् । ३/४ महिना नियमित महिनावारी हुने फेरि ६ महिनासम्म अनियमित हुने समस्या लिएर अस्पताल पुग्ने महिलाहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको चिकित्सकहरूको अनुभव छ । 

विशेषगरी अविवाहित महिलामा यो समस्या बढी देखिने गरेको पाइएको छ । 

काठमाडौंकी नलिना प्रधान २६ वर्षको भइन् । पछिल्लो ३ वर्षदेखि उनको महिनावारी अनियमित हुने समस्याका कारण अस्पताल पुगिन् । अस्पताल पुग्दा उनको अल्ट्रासाउण्ड र रगत परीक्षण गरियो । उनको रिपोर्टमा पोलिसिस्टिक ओभरिज (पिसिओएस) नामक समस्या देखियो । यो एक यस्तो अवस्था हो, जसले महिलामा महिनावारीलाई अनियमित गराउने र निसन्तानसम्म गराउने भूमिका निर्वाह गर्छ ।

भक्तपुरकी ३० वर्षीया अनिसा सायजूको पनि समस्या उस्तै छ । पहिलो महिनावारी भएपछि पुनः महिनावारी हुन २ देखि ३ महिनाको समय कुर्नुपर्ने हुन्छ । उनी अविवाहित छिन् र उनको तौल पनि बढी छ । अस्पतालमा जाँच गराउँदा उनमा पनि त्यही समस्या देखियो । 

यी दुई प्रतिनिधिमुलक घटना मात्रै हुन् । पछिल्लो समय अधिकांश महिलाहरूमा यो समस्या देखिन थालेको छ । जसका कारण महिनावारी गडबडी हुने र गर्भधारण गर्न पनि समस्या निम्तिन थालेको छ । हुन त पिसिओएस एक अवस्था मात्रै हो । थाइराइडको समस्याले पनि महिनावारीमा गडबडी हुन सक्ने चिकित्सकहरू बताउँछन् । 

स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्रेयसी अर्यालका अनुसार विशेषगरी अस्पताल पुग्ने महिलाहरू अविवाहित र हाइट अनुसारको तौल नहुँदा तथा अव्यवस्थित खानपान तथा हार्मोन असन्तुलनका कारण महिनावारी गडबडीको समस्या आइरहेको छ ।

डा.अर्यालले इन्डोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हार्मोनको सन्तुलन बिग्रिएका कारण महिनावारी गडबडी हुने गर्छ । पछिल्लो समय देखिएको अस्वस्थ्यकर खानपान तथा बसाइसराइका कारण पनि महिनावारी गडबड भएको देखिन्छ । 

महिनावारीमा गडबडी महिलामा चरम समस्याका रुपमा देखिएपनि आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ ।

महिलामा हुने हर्मोनमा देखिएको असन्तुलन, पोषणको अभाव, पाठेघरमा समस्या, शरीरको तौल निकै कम वा निकै बढी, अत्यधिक मोटोपनाका कारण पनि महिनावारीमा गडबडी हुन्छ । यी कारणहरू मुख्य हुन् भने, तनावका कारण पनि महिनावारीमा उतारचढाव आउने गर्छ ।

महिनावारी सुरु भएको ४ देखि ५ वर्षसम्म बढी मात्रामा महिनावारीको गडबडी हुने गर्छ । महिनावारी सुक्नुभन्दा १ देखि २ वर्ष पहिले पनि गडबडी देखिन सक्छ ।

अत्यधिक रक्तश्राव र पेट दुख्ने समस्या, चिकित्सकहरूले बताए अनुसार पछिल्लो समय महिलाहरूले आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्ने क्रम बढेको छ । यसका कारण पनि उनिहरूमा छिटो तथा ढिलो महिनावारी हुने, महिनावारी भएपछि रगत धेरै बग्ने समस्या देखिएको छ । 

उपचारमा आउने मध्ये ४० प्रतिशत महिलाको महिनावारी भएको समयमा बढी रगत बग्ने र सहनै नसक्ने गरी पेट दुख्ने गरेको समस्या पाइएको डा. अर्यालको भनाइ छ ।

अधिकांश महिलाहरूलाई समयमा महिनावारी नभएको भन्दै उपचारका लागि आउने गरेको उनि बताउछन् । कसैको महिनावारी ३० दिनमा हुने गरेको छ भने अर्को महिना पनि ३० दिनमै भए त्यसलाई गडबडी मानिँदैन । तर, कसैलाई ३० दिनमा भएर अर्को पल्ट १० देखि १५ दिन पर गएको वा डेढ दुई महिना बितेको खण्डमा महिनावारीमा गडबडी भएको मानिन्छ ।

पछिल्लो समय महिलाहरूमा पोलिसिस्टिक ओभरिजको समस्या बढ्दै गएको छ । अस्वस्थ खानपान, बिलासी जीवनशैली लगायतका कारणले निःसन्तानजन्य समस्या बढ्दै गइरहेको चिकित्सकहरू बताउँछन् । यस्तो जीवनशैली अपनाउने धेरै व्यक्तिमा चाहेको बेला बच्चा नहुने र केहीमा सँधैका लागि बच्चा नहुने समस्या समेत देखिएको छ ।

पोलिसिस्टिक ओभरिज के हो ?
पोलिसिस्टिक ओभरिजलाई पिसिओडी वा पिसिओएस पनि भनिन्छ । पछिल्लो समय यो समस्या धेरै महिलामा देखिन थालेको छ । सामान्य भाषामाभन्दा महिलामा सेक्स हर्मोनको असन्तुलन हुँदा वा डिम्बासयमा आवश्यताभन्दा बढी हर्मोन निर्माण भएका डिम्ब विकसित हुने क्रममा कहिलेकाही स–साना पानीको फोका जस्तो सिस्ट वा गाँठा बन्छ यसलाई नै पोलिसिस्टिक ओभरिज भनिन्छ ।

पोलिसिस्टिक ओभरिजको कारण :
पोलिसिस्टिक ओभरिजको मुख्य कारण सेक्स हर्मोनको उत्पादन बढी हुनु हो ।
जङ्क फुडको बढी प्रयोग गर्नु वा असन्तुलित आहार ।
वंशाणुगत गुण ।
मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढी भएमा पनि यस्तो समस्या आउन सक्छ ।
मोटोपन ।
सरसफाईको कमी आदि ।

लक्षण :
यसका लक्षणहरू सबैमा एकै प्रकारको देखापर्छ भन्ने छैन । व्यक्तिको शारीरिक अवस्था, उमेर आदिले फरक फरक लक्षण देखा पर्न सक्छ । कोही महिलामा लक्षण नै नदेखिए पनि यो समस्या हुनसक्छ । तर, अधिकांशमा निम्न लक्षण देखापर्छ :—
महिनावारी अनियमित हुनु ।
रक्तश्राव बढी हुने ।
अनुहार तथा शरीरमा अनावश्यक रौंहरू पलाउनु ।
तौल बढ्नु ।
तल्लो पेट दुख्नु ।
पेट फुल्नु ।
डन्डिफोर आउनु ।
पटकपटक पिसाब लाग्नु ।
गर्भधारणमा समस्या आउनु ।
गर्भ रहे पनि खेर जाने समस्या हुनु ।
छालामा कालो खैरो दागहरू देखिनु ।
स्तन साह्रो हुनु ।

पोलिसिस्टिक ओभरिजले कसरी निःसन्तान बनाउँछ ?
पेलिसिस्टिक ओभरिज हुने सबैमा सन्तान नै हुँदैन भने होइन । कोही महिलामा यो समस्या हुँदाहुँदै पनि महिनावारी नियमित हुने र गर्भ रहने हुन्छ । तर, कमै मात्रामा यस्तो हुन्छ । जसमा आवश्यक समयमा अण्डासयमा सन्तुलित अण्डा उत्पादन गर्दैन र यस्तो समस्या लामो समयसम्म भएमा सिस्टहरू कडा भएर माला जसरी जम्मा हुन्छ । जसका कारण गर्भ रहँदैन् ।

पेलिसिस्टिक ओभरिजबाट कसरी बच्ने ?
यो समस्या देखिसकेपछि पूर्ण निको हुँदैन् । यद्यपि, यसलाई रोकथाम गर्न र जटिलताबाट बच्न भने सकिन्छ ।
महिनावारीमा गडबडी भए तुरुन्त स्वास्थ्थ परीक्षण गराउने ।
सन्तुलित आहार गर्ने ।
तौल नियन्त्रणमा राख्ने ।
मधुमेह, रक्तचाप सन्तुलनमा राख्ने ।
नियमित व्यायम गर्ने ।
सरसफाईमा ध्यान दिने ।
चाहेको बेलामा बच्चा भएन भने स्वास्थ परीक्षण गराई हाल्ने ।
सक्रिय जीवनशैली अवलम्बन गर्ने ।
अग्रजलाई यस्तो भएको भए, समस्या नदेखिए पनि स्वास्थ्य परीक्षण गराउने ।
 

Last modified on 2023-06-22 11:33:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts