विश्व हेपाटाइटिस दिवस

कलेजो बिगार्ने भाइरल हेपाटाइटिस के हो ?



Download our app to get more features

मानव शरीरका महत्वपूर्ण अंगमध्ये कलेजो एक हो । रगतमा हुने किटाणुबाट संक्रमित विषाक्त विकारलाई रगतबाट निकाल्ने लगायत पाँच सयभन्दा बढी काम कलेजोले गर्छ । खाना पचाउने रस (पित्त) बनउनेदेखि खाएका कुरालाई शक्तिमा बदल्ने महत्वपूर्ण अंग कलेजोमा अलिकति पनि खराबी आयो भने पेट गडबड हुने, ग्यास बढ्ने, खान मन नलाग्ने जस्ता समस्या निम्तिन्छ र विस्तारै भयावह रुप लिन्छ । 

कलेजोमा संक्रमण कसरी हुन्छ र संक्रमणले कसरी कलेजो बिगार्छ ? कलेजोरोग विशेषज्ञ डा.विवेक शर्मा भन्छन्: 
 
१.  कलेजोमा हुने हेपाटोट्रोपिक विषाणुको संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । कलेजोलाई दुई प्रकारका विषाणुले संक्रमित गर्छन् । एउटा हेपाटोट्रोपिक र अर्को नन– हेपाटोट्रोपिक । हेपाटोट्रोपिक विषाणुअन्र्तगत हेपाटाइटिस ‘ए, बी, सी, डी र ई’ पर्छन् । यसले कलेजोलाई मात्र असर गरे पनि शरीरका अन्य भागमा दीर्घकालीन असर पुर्याउँदैन । नन– हेपाटोट्रोपिक विषाणुअन्र्तगत ‘हर्पिस सिम्प्लेक’ र ‘इब्स्टेनवर’ विषाणु पर्छन् । यिनीहरुले भने कलेजोलगायत शरीरका अन्य अंगहरुमा समेत असर पुर्याउँछन् ।

२.  भाइरल हेपाटाइटिस ‘ए, बी, सी, डी र ई’ लाई पनि दुई समूहमा बाँडिएको हुन्छ । पहिलो समूहमा ‘ए र ई’ पर्छन् । यिनीहरु विशेषगरी प्रदूषित पानी तथा खानेकुराबाट सर्छन् र तुरुन्त असर गरे पनि दीर्घकालीन असर भने गर्दैनन् । अर्को समूहमा ‘बी, सी र डी’ पर्छन् । यस्तो भाइरल रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शरीरजन्य तरल पदार्थ र आमाबाट बच्चामा सर्दछ । यो दीर्घकालीन प्रकृतिको पनि हुन्छ र कलेजोलाई समेत असर गर्दछ ।

३.  हेपाटाइटिस ‘बी’ एचआइभी एड्सभन्दा खतरनाक रहेको भनेर प्रचार गरिएको भएपनि शरीरको प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत वयस्क मानिसमा ६ महिनाभित्र यो रोग आफैँ निको भएर जाने गर्छ । १० प्रतिशत संक्रमितमा भने कलेजो कडा हुने लगायतका दीर्घकालीन समस्या देखिन्छ जसलाई ‘लिभर सिरोसिस’ भएको भनिन्छ । लिभर सिरोसिस भएकामध्ये केही संक्रमितलाई क्यान्सरसमेत हुन सक्छ ।

४.  हेपाटाइटिस भयो भने जन्डिस देखिन्छ । यस्तो हुँदा मुख बार्ने, जडीबुटीको प्रयोग गर्ने, नाइटोमा लेप लगाउनेजस्ता काम गरिन्छ । तर, मुख बार्दा पोषणको कमी हुन्छ र रोगसँग लड्ने क्षमतामा ह्रास आउन सक्छ । यस्ता कुरामा जनचेतकोे निकै कमी छ । सम्बन्धित निकायले आमसमुदायलाई स्पष्ट पार्न जरुरी देखिन्छ । जन्डिस रोग होइन रोगको लक्षण मात्र हो त्यसैले त्यसको निदान गर्नुपर्छ ।

५.  हेपाटाइटिसबाट हरेक वर्ष विश्वभर १५ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । संसारभर ‘मेडिकल डिजिज’ मा मानिसको ज्यान लिने यो आठौँ ठूलो रोग हो । ठूलो रोग भएपनि मानिसले धेरै चासो नदेखाएका कारण विश्व स्वास्थ्य संगठनले संसारको हेपाटाइटिसप्रतिको धारणा बदल्न र यस रोगबाट पर्ने आर्थिक भारको चेतना जगाउन हरेक वर्ष जुलाई २८ का दिन विश्व हेपाटाइटिस दिवस मनाउन सुरु गरेको छ ।

६.  हेपाटाइटिसका कारण हुने लिभर सिरोसिस र लिभर क्यान्सर भयावह रुपमा बढ्दो छ । हेपाटाइटिसको रोकथाम गर्न सके ठूलो क्षति हुनबाट बच्न सकिन्छ । सबै किसिमका हेपाटाइटिसको खोप अझैँ उपलब्ध भइसकेको छैन र बजारमा हाल हेपाटाइटिस ‘ए’ र ‘बी’ को मात्र खोप उपलब्ध छ ।

७.  हेपाटाइटिस लाग्दैमा संक्रमितसँग हात मिलाउनै नहुने, सँगै बस्दा पनि सर्नेजस्ता हल्ला व्यापक छ । तर, यो गलत हल्ला हो । हेपाटाइटिसको भाइरस धेरै समयसम्म बाँच्ने हुनाले मात्र यसलाई डरलाग्दो भनिएको हो । हेपाटाइटिसले कलेजोलाई मात्र असर गर्छ । समस्या देखिइसकेपछि यसलाई लुकाउनुभन्दा समयमै उपचार गर्नुपर्छ । यसको उपचार सम्भव छ ।

८.   हेपाटाइटिस ‘बी’ ‘सी’ को उपचार तुलनात्मक रुपमा केही महँगो हुन्छ । हेपाटाइटिस ‘बी’ को औषधि दुई वर्ष या जीवनभर पनि सेवन गर्नुपर्ने हुन सक्छ । जसका कारण आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई खर्च धान्न मुस्किल पर्न सक्छ । नेपालमा हेपाटाइटिस ‘बी’ र ‘सी’ का बिरामी कति छन् भन्ने यकिन तथ्याकं छैन । करिब दुई प्रतिशत अर्थात् ६ लाखको हाराहारीमा हेपाटाइटिस ‘बी’ र एक लाखको हाराहारीमा हेपाटाइटिस ‘सी’ का बिरामी रहेको अनुमान भने गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts