कुलर बिग्रिएर शव कुहिँदा अस्पताल दुर्गन्धित

What's This?


Download our app to get more features

काठमाडौं, ३ असोज । पाटन अस्पतालको शवगृहमा पर्याप्त सुविधा नहुँदा बेवारिसे शव कुहिएर दुर्गन्ध फैलिएको छ । शव गृहमा राखिएको कुलर (शव राख्ने फ्रिज) बिग्रिएपछि शव कुहिएर दुर्गन्ध फैलिएको हो ।

अस्पतालका अनुसार लामो समयदेखि कुलर बिग्रिएपनि प्रशासनले मर्मत गर्न चासो नदेखाएपछि दुर्गन्ध फैलिएको कर्मचारीले बताएका छन् । शवको दुर्गन्धले अस्पताल आउने बिरामी तथा कुरुवाले सास्ती खेप्नुपरेको छ । दुर्गन्ध अस्पताल बाहिरसमेत पुगेपछि त्यस क्षेत्र भएर आवतजावत गर्ने सर्वसाधारण पनि प्रभावित भएका छन् ।

पाटन अस्पताल प्रशासन प्रमुख तीर्थ भुजेलले अस्पतालको कुलर बिग्रिएर मर्मत गर्ने तयारी भइरहेको बताए ।

‘कुलर बने पनि लोडसेडिङले चलाउन पाइँदैन,’ उनले भने, ‘त्यसैले गर्मीमा चाँडै दुर्गन्ध फैलिने गरेको छ ।’

अस्पताल पसिरमा पर्याप्त ठाउँ अभावका कारण यस्तो समस्या भएको उनले बताए ।

‘शव व्यवस्थापन गर्ने जिम्मेवार निकायले निश्चित समयमा व्यवस्थापन नगर्दा पनि समस्या भएको छ,’ उनले भने ।

प्रहरीले झन्डै २ महिनाअघि अस्पतालमा ल्याएको ३ महिला र १ पुरुषको गरी ४ वटा शवमा किरासमेत परिसकेका छन् । प्रहरीले ती शव कुपन्डोलस्थित वाग्मती किनार, शंखमूलस्थित पाटी, बल्खुस्थित मनमोहन पार्क र बगलामुखी मन्दिर परिसरमा भेटाएर शव गृहमा ल्याएको हो ।

महानगरीय प्रहरी पोस्ट पाटन अस्पतालका असई दलबहादुर श्रेष्ठले शव मुचुल्का गरी व्यवस्थापनका लागि नगरपालिकालाई पत्र पठाइसकेको बताए । नगरपालिकाले शव व्यवस्थापनमा चासो नेदखाउँदा समस्या भएको बताए ।

ललितपुर उपमहानगरपालिकाका वातावरण शाखाका इन्जिनियर प्रदिप अमात्यले प्रहरीको पत्र नआएको बताए ।

‘पर्याप्त बजेट नहुँदा पनि व्यवस्थापनका लागि गाह्रो भएको छ,’ उनले भने, ‘३ लाख बजेटले वर्षदिनमा ३० भन्दा बढी शव आए दाहसंस्कार गर्न पुग्दैन ।’

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts