कुलर बिग्रिएर शव कुहिँदा अस्पताल दुर्गन्धित

What's This?


Download our app to get more features

काठमाडौं, ३ असोज । पाटन अस्पतालको शवगृहमा पर्याप्त सुविधा नहुँदा बेवारिसे शव कुहिएर दुर्गन्ध फैलिएको छ । शव गृहमा राखिएको कुलर (शव राख्ने फ्रिज) बिग्रिएपछि शव कुहिएर दुर्गन्ध फैलिएको हो ।

अस्पतालका अनुसार लामो समयदेखि कुलर बिग्रिएपनि प्रशासनले मर्मत गर्न चासो नदेखाएपछि दुर्गन्ध फैलिएको कर्मचारीले बताएका छन् । शवको दुर्गन्धले अस्पताल आउने बिरामी तथा कुरुवाले सास्ती खेप्नुपरेको छ । दुर्गन्ध अस्पताल बाहिरसमेत पुगेपछि त्यस क्षेत्र भएर आवतजावत गर्ने सर्वसाधारण पनि प्रभावित भएका छन् ।

पाटन अस्पताल प्रशासन प्रमुख तीर्थ भुजेलले अस्पतालको कुलर बिग्रिएर मर्मत गर्ने तयारी भइरहेको बताए ।

‘कुलर बने पनि लोडसेडिङले चलाउन पाइँदैन,’ उनले भने, ‘त्यसैले गर्मीमा चाँडै दुर्गन्ध फैलिने गरेको छ ।’

अस्पताल पसिरमा पर्याप्त ठाउँ अभावका कारण यस्तो समस्या भएको उनले बताए ।

‘शव व्यवस्थापन गर्ने जिम्मेवार निकायले निश्चित समयमा व्यवस्थापन नगर्दा पनि समस्या भएको छ,’ उनले भने ।

प्रहरीले झन्डै २ महिनाअघि अस्पतालमा ल्याएको ३ महिला र १ पुरुषको गरी ४ वटा शवमा किरासमेत परिसकेका छन् । प्रहरीले ती शव कुपन्डोलस्थित वाग्मती किनार, शंखमूलस्थित पाटी, बल्खुस्थित मनमोहन पार्क र बगलामुखी मन्दिर परिसरमा भेटाएर शव गृहमा ल्याएको हो ।

महानगरीय प्रहरी पोस्ट पाटन अस्पतालका असई दलबहादुर श्रेष्ठले शव मुचुल्का गरी व्यवस्थापनका लागि नगरपालिकालाई पत्र पठाइसकेको बताए । नगरपालिकाले शव व्यवस्थापनमा चासो नेदखाउँदा समस्या भएको बताए ।

ललितपुर उपमहानगरपालिकाका वातावरण शाखाका इन्जिनियर प्रदिप अमात्यले प्रहरीको पत्र नआएको बताए ।

‘पर्याप्त बजेट नहुँदा पनि व्यवस्थापनका लागि गाह्रो भएको छ,’ उनले भने, ‘३ लाख बजेटले वर्षदिनमा ३० भन्दा बढी शव आए दाहसंस्कार गर्न पुग्दैन ।’

 

Hamro Doctor

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts