टीकाको रङको एलर्जी भए के गर्ने, के नगर्ने ?



Download our app to get more features

सैँमा रातो रङको प्रयोग गरिन्छ । अक्षता बनाउँदा अबिर प्रायः प्रयोग हुने भए पनि अन्य रङ पनि अहिले चलनमा छन् । कतिपयलाई रङको एलर्जी पनि हुने गर्छ । निधारमा लगाएको रङ पसिनाका कारण निधार हुँदै अनुहारसम्म पनि पर्ने हुँदा निधार र अनुहारको छालामा एलर्जी हुने सम्भावना हुन्छ । यसरी एलर्जी भए के गर्ने, के नगर्ने ? यस्ता छन्, छालारोग विशेषज्ञ डा. सबिना भट्टराईका सुझाब:

रातो रङमा मर्करी सल्फाइड केमिकल हुन्छ । यो केमिकलले छालामा संक्रमण गर्छ । यस्तो रङ पर्नेबित्तिकै कतिपयलाई एलर्जी हुने र छाला जानेजस्तो समस्या देखिन्छ । मर्करीले कुनै छालामा तुरुन्तै असर देखाउँछ भने कुनै छालामा ढिलो गरी देखाउँछ । तत्काल चिलाउने र पोल्ने भयो भने एलर्जी भएको बुझ्नुपर्छ ।

-एलर्जी भयो भने तुरुन्त रङ पखालिहाल्नुपर्छ । रङ परेको छाला चिलाउन थाल्यो भने एलर्जी भएको बुझ्नुपर्छ । यस्तो लक्षण देखिएमा तत्काल पानीले रङ पखाल्नुपर्छ । यसपछि चिलाएको तथा एलर्जी भएको ठाउँमा कोल्ड क्रिम लगाउनुपर्छ । चिसो पानीले सेक्न पनि सकिन्छ । तेल या चिल्लो क्रिम लगाउँदा पनि एलर्जीमा फाइदा मिल्छ ।

– रङले एलर्जी भएपछि लामो समयसम्म त्यत्तिकै रहन दियो भने असर बढी हुँदै जान्छ । जति समय रङ छालामा रहन्छ त्यति नै बढी रियाक्सन गर्छ ।

– छालामा रङको एलर्जी हुँदा कन्याउने तथा कडासँग कोपरेर रङ फाल्ने गरेको पनि पाइन्छ । कतिपयले केमिकलको प्रयोगसमेत गर्छन् । यस्तो गर्नु गम्भीर गल्ती हुन्छ । कन्याउँदा एलर्जी घाउमा बदलिन्छ र झनै समस्या निम्तिन्छ ।

-छाला चिलाउन थालेपछि कतिपयले घरमै कागती, अमिलो दल्ने गरेको पनि पाइन्छ । यस्तो काम पनि गर्नु हुँदैन । यसले छालामा झनै असर गर्न सक्छ । भनेको-सुनेको आधारमा अनुहारमा जे पायो त्यही प्रयोग गर्नु हुँदैन ।

– एलर्जी भएमा नचिलाउने औषधि किनेर खान पनि सकिन्छ । हल्का खालको स्टेरोइड मलम छालामा दल्न पनि सकिन्छ । छाला नै सुन्निन थाल्यो भनेचाहिँ विशेषज्ञलाई देखाउन ढिला गर्नु हुँदैन ।

– मलम या कुनै औषधिका कारण एलर्जी ठीक भयो भने फेरि रातो टीका लगाउने गल्ती गर्नु हुँदैन । पटक–पटक एलर्जी दोहोरिँदा समस्या झनै गम्भीर हुन्छ ।

नयाँ पत्रिका दैनिकबाट : फोटो /फाइल

Last modified on 2017-08-13 18:10:03

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts