नेपालमा वर्षेनि क्यान्सरका बिरामी थपिँदै

What's This?


Download our app to get more features

चितवन, ४ कात्तिक । नेपालमा हरेक वर्ष क्यान्सरका बिरामीको सङ्ख्या थपिँदै गएको छ । 

देशभरका अस्पतालमा उपचारका लागि आउने क्यान्सरका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्ले सुरु गरिएको क्यान्सर रजिस्ट्रिमा यो सङ्ख्या थपिएको देखिएको हो । अहिले देशभरका सरकारी र निजी गरी १२ वटा अस्पतालमा तथ्याङ्क सङ्कलन भइरहेको छ । 

बिरामीको उपचार पद्धति लामो हुने हुँदा तथ्याङ्क आउन ढिला हुने गर्दछ । तथ्याङ्क सङ्कलनको संयोजन गरिरहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानाङ्गका अनुसार सन् २०१४ को तथ्याङ्क हालै मात्र तयार भएको छ । जसअनुसार नौ हजार ३६ जना नयाँ क्यान्सरका बिरामी सन् २०१४ मा थपिएका छन् । जसमध्ये पाँच हजार २२ महिला र चार हजार १४ पुरुष रहेका छन् । सन् २०१३ मा नयाँ क्यान्सर रोगीको सङ्ख्या आठ हजार ७ सय २९ थियो । जसमध्ये महिला चार हजार ७ सय १८ र पुरुष चार हजार ११ जना रहेका थिए । 

सन् २००३ बाट देशभरका सातवटा अस्पतालमा क्यान्सर रजिस्ट्री कार्यक्रम सुरु गरिएकामा सन् २०१३ मा आएर पाँच अस्पताल थप गरी १२ पु¥याइएको हो । सन् २०१४ को तथ्याङ्कअनुसार सबैभन्दा बढी चार हजार २ सय २६ जना बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा थपिएका छन् । 

त्यसैगरी भक्तपुर क्यान्सर अस्पतालमा एक हजार ६ सय ५८ जना, वीर अस्पतालमा एक हजार २० जना, धरानको बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्समा ५ सय ५४ जना, टिचिङ अस्पतालमा ५ सय ४७ जना थपिएका छन् । 

त्यसैगरी मणिपाल मेडिकल कलेजमा २ सय ८३ जना, श्री वीरेन्द्र हस्पिटलमा २ सय ९५ जना, नागरिक अस्पतालमा १ सय ५७ जना, पाटन एकेडेमी अफ हेल्थ साइन्समा १ सय ५४ जना, नेपालगन्ज मेडिकल कलेजमा ४८ जना, कान्ति बाल अस्पतालमा ५७ जना र परोपकार अस्पतालमा ३७ जना नयाँ बिरामी थपिएका छन् । 

प्रधानाङ्गका अनुसार सबैभन्दा बढी ६० देखि ६४ वर्ष उमेर समूहका १२ दशमलव सात प्रतिशत रहेका छन् भने सबैभन्दा कम चार वर्ष उमेरसम्मका ० दशमलव ९ प्रतिशत रहेका छन् । क्षेत्रगत रुपमा हेर्दा काठमाडौँका सबैभन्दा बढी ९ सय ७४ जना अर्थात् १० दशमलव ८ प्रतिशत छन् भने दोस्रोमा सुनसरीका ४ सय ३ जना, मोरङका ३ सय ५१ जना र चितवनका ३ सय २४ जना रहेका छन् । 

बढी क्यान्सर देखिएका अङ्गहरुमा सबैभन्दा बढी फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर, मुखको क्यान्सर, रगतको क्यान्सर रहेका छन् । 

प्रधानाङ्गले विश्व स्वास्थ्य सङ्गठनले एक लाख जनसङ्ख्यामा १ सय २० जनासम्ममा क्यान्सर हुने अनुमान गरेका  छन् । 

उपचार नै पहिचान नभई कतिपयको मृत्यु हुने गरेको उनले बताए । 

विदेश जानेले समेत सुरुमा नेपालमा रोगको पहिचान गरेर जाने हुँदा उनीहरुको तथ्याङ्क पनि यहाँ समावेश भएको पाइन्छ । समयमा नै उपचार गर्न सके क्यान्सर रोग निको हुने गर्दछ । यद्यपि बिरामी अन्तिम अवस्थामा उपचारका लागि अस्पताल आउने गरेको चिकित्सक बताउँछन् । 

विश्वका अन्य देशहरुमा पुरुषमा बढी क्यान्सर हुने गरेको भए पनि नेपालमा भने महिलामा बढी क्यान्सर देखिने गरेको छ । समयमा परीक्षण गर्ने प्रचलन नहुँदा पाठेघरको मुख र स्तनको क्यान्सर बढी हुँदा महिलामा बढी क्यान्सर देखिएको हो ।

-रासस / फाइल तस्वीर
 

Last modified on 2017-08-13 13:21:00

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts