कुरिनटारमा ट्रमा सेन्टरकाे निर्माण कार्य सुरू 

What's This?


Download our app to get more features

चितवन,११ कार्तिक  । नेपालस्थित अमेरिकी दूतावासले चितवनको दारेचोकस्थित कुरिनटारमा ट्रमा सेन्टरको निर्माण सुरु गरेको छ । 

अमेरिकी दूतावासका अफिस अफ डिफेन्स कोअपरेसनका प्रमुख तथा प्रमुख सेनानी जोसेफ इभान्सले बुधबार एक कार्यक्रमबीच ट्रमा सेन्टर निर्माणको शिलान्यास गरेका हुन् ।  

चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा अत्यधिक सडक दुर्घटना हुने गरेकाले उक्त क्षेत्रलाई केन्द्रित गरी कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रमा उक्त सेन्टर निर्माण थालिएको हो ।

करिब १४ महिनामा निर्माण सम्पन्न गर्ने योजना रहेको सो ट्रमा सेन्टर २५ शय्या क्षमताको हुने सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका समादेशक तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजुराज सुवालले जानकारी दिए  । उनका अनुसार ‘पृथ्वी हाइवे क्राइसिस म्यानेजमेन्ट ट्रमा सेन्टर’को नाममा सेन्टरको निर्माण थालिएको हो । 

“सेन्टरको निर्माण सम्पन्न भएपछि आवश्यक उपकरणहरु अमेरिकी दूतावासले नै दिन्छ, त्यसपछि एपिएफ अस्पतालका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले ट्रमा सेन्टर सञ्चालन गर्ने सम्झौता भएको छ”–तालिम केन्द्रका समादेशक सुवालले भने ।

निर्माण सम्पन्न भएपछि सशस्त्र प्रहरीलाई हस्तान्तरण गर्ने विपद् व्यवस्थापन तालिम केन्द्रका ससस्त्र प्रहरी उपरीक्षक गणेश थापाले जानकारी दिए  । चितवनको नारायणगढ–फिस्लिङ सडक अति दुर्घटनाग्रस्त क्षेत्रमा पर्दछ । यहाँका ३८ स्थान दुर्घटनाको उच्च जोखिममा रहेको चितवन प्रहरीले जनाएको छ ।–रासस
 

Last modified on 2016-10-27 09:08:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts