डेंगु नियन्त्रण हुँदै 



Download our app to get more features

चितवन, मंसिर १५ । गत भदौ महिनादेखि देखिन थालेको डेंगु ज्वरोले चितवन सहित देशभरी माहामारीको रुप लिएकोमा अहिले नियन्त्रणको अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सन् २०१० मा महामारीको रुपमा देखिएको यस रोगले यस वर्ष फेरि चितवन सहितका जिल्लामा महामारीको रुप लिएको थियो ।

यस वर्ष डेंगु रोगका कारण चितवनका विभिन्न अस्पतालमा चार जनाले ज्यान गुमाएका छन् । डेंगु ज्वरोको अन्तिम अवस्थामा उपचार गर्न पुगेका कारण ती बिरामीहरुको मृत्यु भएको चिकित्सकहरुको भनाइ रहेको छ । ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो मानिसमा सर्ने गर्दछ । डेंगु रोगीलाई टोकेको एडिस जातको पोथी लामखुट्टेले निरोगी मानिसलाई टोेकेमा डेंगु ज्वरो लाग्ने गर्दछ । महामारीको रुपमा फैलिएको डेंगु ज्वरो जाडो बढेसँगै बिस्तारै नियन्त्रणमा आउन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले बताए । केसीका अनुसार चितवनमा यस वर्षको भदौमा ६ जनामा डेंगु देखिएकोमा  असोज महिनामा दुई सय १७ जनामा डेंगुका बिरामीहरु देखिएका थिए । कात्तिक महिनामा त्यो संख्या बढेर चार सय २८ जनामा डेंगु देखियो । चितवनको रत्ननगर नगरपालिकामा महामारीको रुपमा देखिएको डेंगु ज्वरोको कारण पत्ता लगाउन ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टोली समेत खटिएर आफ्नो काम गरेको थियो ।

मंसिर महिनामा डेंगु नियन्त्रणमा आएको बताउँदै केसीले अहिले डेंगुका बिरामी दैनिक दुई÷तीन जना मात्र भेटिएको केसीले जानकारी दिए । केसीले भने, –‘डेंगुको संक्रमण बढी देखिएपछि हामीले जनचेतना मूलक कार्यक्रमका साथै खोज र नष्ट गर्ने अभियान समेत सञ्चालन गरेका थियौँ ।’ अभियानका कारण समेत डेंगु नियन्त्रणमा सहजनता आएको केसीले बताए । डेंगु ज्वरो पटक पटक दोहोरिएर आएमा त्यो बढी खतरापूर्ण हुनसक्ने भएकाले एक पटक डेंगु लागिसकेका बिरामीले यस रोगबाट जोगिन विशेष ख्याल गर्नुपर्ने भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारीले बताए । डेंगु ज्वरो भाइरल भएको कारण कुनै एन्टिवायोटिक औषधि आएर यो रोग निको नहुने भएकाले यसमा निगरानी, व्यक्तिगत सरसफाईमा ध्यान दिनु नै बुद्धिमता हुने अधिकरीको भनाइ छ । अहिले चितवनमा बिस्तारै डेंगु ज्वरोका बिरामीहरु घट्दै गएका चिकित्सकहरुको भनाई छ । 
 

Last modified on 2017-07-26 12:35:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts