विकराल बन्दै गरेको स्तन क्यान्सरबाट जोगिन के गर्ने ? कसरी थाहा पाउने ?



Download our app to get more features

जीवनशैलीको परिवर्तन तथा खानपानका कारण क्यान्सर रोगको वृद्धि भइरहेको छ । महिलाहरुमा हुने क्यान्सरको कुरा गर्दा पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेको छ भने स्तन क्यान्सर दोस्रो स्थानमा छ । 
हाल नेपालमा स्तन क्यान्सर सम्बन्धी जागरुकता बढेको पाइन्छ । विशेषगरी ग्रामिण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रका महिलाहरुमा स्तन क्यान्सर सम्बन्धी जनचेतना बढेको पाइन्छ । तर, अझै पनि अधिकांश महिलाले यसमा अपेक्षा त्यती ध्यान दिन सकेका छैनन् ।

 

नेपालमा कुनै आधिकारिक अनुसन्धान तथा तथ्याङ्क नभएपनि वर्षेनी करिब ५ हजार जनामा स्तन क्यान्सर हुने गरेको पाइन्छ । यकिनका साथ भन्न नसके पनि महिलाहरुमा स्तन क्यान्सर हुने क्रम निरन्तर बढिरहेको छ । बदलिँदो जीवनशैली, अस्वस्थकर जीवनयापन, बदलिँदो यौन जिवनले यसमा वृद्धि गराइरहेको छ ।

स्तन क्यान्सरका कारण
क्यान्सर के कारणले हुन्छ भन्ने हालसम्म पनि थाहा हुन सकेको छैन । तर, यसका केही कारकतत्व हुन सक्छन्, जसले यसको जोखिम बढाउँछ । कारकतत्वलाई दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ । 
क. परिवर्तन गर्न सकिने, 
ख. परिवर्तन गर्न नसकिने,

धेरै यस्ता कुराहरु छन् जसलाई ध्यानदिन सकेका स्तन क्यान्सर बाट बच्न सकिन्छ । जस्तै मोटापन घटाउने, धुम्रपान, रक्सीका साथै समयमै बच्चा जन्माउने(३० वर्ष भन्दा पहिला), नियमित स्तनपान गराउनाले स्तन क्यान्सर हुन बाट बच्न सकिन्छ । 
परिवर्तन गर्न नसकिनेमा महिलाको उमेर, महिनावारी छिटो हुने(१२ वर्ष भन्दा पहिला), महिनावारी ५० वर्ष भन्दापछि हुने, वंशाणुगत जस्ता कारणलाई हामी रोक्न सकिँदैन । तर, सजग भएमा यसको छिट्टै न्यूनिकरण भने गर्न सकिन्छ ।

कस्तो महिलालाई क्यान्सर हुने सम्भावना रहन्छ
 परिवारमा पहिले स्तन क्यान्सरले भएमा ।

  •  ७५ प्रतिशतभन्दा बढी क्यान्सर ५० वर्ष माथिका महिलामा देखिएको छ ।
  • जुन महिलाको पहिलो महिनावारी १२ वर्ष उमेर भन्दा कम उमेरमा भएमा । 
  • जुन महिलाले बच्चा जन्माएकी छैनन् । 
  • जुन महिलाको पहिलो गर्भ ३० वर्षभन्दा माथिको उमेरमा भएमा ।  
  • मोटा महिलामा ।  
  • चुरोट र मदिरापान गर्ने बानी भएका महिलामा ।

नेपालमा कम उमेरमा नै स्तन क्यान्सर देखिन थालेको छ । ४० देखि ५० प्रतिशतलाई ४० देखि ५० वर्षको उमेरमा स्तन क्याक्सर भएको पाइन्छ । त्यसैगरी ३० वर्षको उमेरमा पनि देखिन थालेको छ । जती कम उमेरमा स्तन क्यान्सर हुन्छ त्यती नै यो आक्रामक हुन्छ । त्यसलै स्तन क्यान्सरको परीक्षण ४० वर्ष भन्दा पहिला नै गर्नुपर्ने हुन्छ । 

लक्षण
महिलामा स्तन क्यान्सर हुने क्रम निरन्तर बढिरहेको छ । स्तन क्यान्सर भएनभएको महिला आफैले पनि ऐना हेरेर पत्ता लगाउन पनि सकिन्छ । स्तन क्यान्सर भएमा वा हुने सम्भावना भएमा निम्न लक्षण देखा पर्न सक्छन् 

  • दुबै स्तनको आकारमा परिवर्तन भएमा
  • दुवै अथवा एकापट्टिको स्तनको रङ परिवर्तन भएमा
  • स्तनको मुन्टोबाट तरल पदार्थ बगेमा
  • काखी सुन्निएमा
  • स्तनको छाला परिवर्तन वा रातो भएमा
  • स्तन अथवा काखी दुखिरहेका 
  • स्तनमा गाँठागुठी आएमा
  • स्तनमा डिम्पल परेमा

साथै यी बाहेक स्तनमा कुनै पनि परिवर्तन आएमा चिकित्सकसँग जाँच गराउनु पर्छ । माथि उल्लेखित लक्षणहरु सुरुवाती अवस्थामा देखिने लक्षणहरु हुन् । तर, कतिपय अवस्थामा कुनै लक्षण विना पनि स्तन क्यान्सर देखिन सक्छ । त्यसैले २०÷२५ वर्षदेखि २-३ वर्षमा स्तन जाँच गराउँनु पर्छ । र ४० वर्षभन्दा माथिका दिदी बहिनीहरुले हरेक वर्ष कम्तिमा एकपटक मेमोग्राम गर्दा स्तन क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

२० वर्षसम्मको उमेरमा : स्तनको परिवर्तनको लक्षण थाहा पाउन महिनाको एक पटक आफैँले आफ्नो स्तन परीक्षण गर्ने । 
२० देखि ३९ वर्षको उमेरमा : प्रत्येक तीन वर्षमा चिकित्सकद्वारा स्तन परीक्षण गराउने । 
४० देखि ४९ वर्षको उमेरमा : प्रत्येक एक÷दुई वर्षको अन्तरालमा म्यामोग्राफ गर्ने .
५० वर्ष र तत्पश्चात्  : प्रत्येक वर्ष म्यामोग्राफ गर्ने ।

स्तन क्यान्सर यस्तो क्यान्सर हो, जती छिटो थाहा पाउन सक्यो उपचार पनि राम्रो हुनुको साथै कम खर्चमा उपचार पनि सम्भव रहन्छ । जती ढिलो थाहा पायो उपचार पनि गाह्रो हुनुको साथै खर्च पनि बढिनै लाग्ने गर्छ । 
सुरुकै अवस्थामा थाहा पाँए ९५ प्रतिशतलाई बचाउन सकिन्छ । त्यसै गरी पहिलो चरणलाई ८५ प्रतिशत, दोस्रो चरणलाई ७५ प्रतिशत, तेस्रो चरणलाई ५० प्रतिशत र चौथो चरणमा प्रवेश गरेकालाई १० देखि १५ प्रतिशतलाई मात्र बचाउँन सकिन्छ । स्तन क्यान्सरबाट बच्नु भनेको जति छिटो यसलाई पत्ता लगाउँनु हो । 

उपचार प्रक्रिया
स्तन क्यान्सरको उपचार तीन प्रक्रियाबाट गरिन्छ । 

  • शल्यक्रिया,
  • केमोथेरापी,
  • रेडियोथेरापी,

शल्यक्रियामा पहिलाभन्दा धेरै परिवर्तन भएको छ । पहिला स्तन पुरै काटिन्थ्यो । जसले गर्दा कुरुप समेत देखिन्थ्यो । तर, हाल स्तन बचाएर क्यान्सर भएको भागमा मात्र शल्यक्रिया गरिन्छ । 
केमोथेरापी पहिलाको तुलनामा धेरै राम्रो भएको छ । पहिला यसको साइड इफेक्ट धेरै रहेको थियो भने अहिले यसको साइड इफेक्ट पनि कम हुन्छ । सबैमा एउटै औषधिको प्रयोग गरिन्थ्यो भने हाल क्यान्सरको अवस्था र प्रकार हरेर फरक फरक औषधिको प्रयोग गरिन्छ । 

नेपालमा पहिलाको तुलनामा रेडियोथेरापीको पनि राम्रो विकास भएको छ । नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा नयाँ रेडियसन मेसिन पनि ल्याइएको छ । जसको प्रयोगबाट धेरै भन्दा धेरै स्तन क्यान्सरबाट बचाउन सकेका छौं । शल्यक्रिया पछि स्तन बचाउँन राम्रो रेडियसन मेसिनको आवश्यकता गर्छ । हामीले शल्यक्रिया गरेका सयमा ५० जनाको स्तन बचाउन सफल भएका छौं ।

एक सेन्टिमिटर भन्दा ठूलो गिर्खाहरुलाई शल्यक्रिया र केमोथेरापी गर्नु पर्छ । यदि गिर्खा काखिमा सरेमा रेडियोथेरापी पनि गर्नु पर्ने हुन्छ । 

स्तन क्यान्सर उपचार पछि अपनाउनु पर्ने कुराहरु
स्तन क्यान्सरको शल्यक्रिया पछि पूर्णरुपमानिको भएमा वा केमोथेरापी गरेकाहरुले खानपिनमा ध्यानदिनुको साथै शल्यक्रिया गरेको तर्फको हातलाई विशेष ध्यान दिनुपर्छ । शल्यक्रियामा काखिको गिर्खाहरु निकालिएको हुँदा त्यसमा इन्फेक्सन हुन सक्ने, हात सुन्निने  हुन सक्छ । जीवन शैलीलाई परिवर्तन गर्नुको साथै आफ्नो  मनोवल बढाउँनु पर्छ ।

(डा. अमात्य नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका क्यान्सर शल्य चिकित्सक हुन् ।)

Last modified on 2018-10-16 07:16:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts