सांसद रिताले जोगाइन् गर्भवतीको ज्यान

What's This?


Download our app to get more features

काठमाण्डौं ३, फागुन । सांसद रीता शाहीले मृत्युको मुखमा पुगेकी एक गर्भवतीलाई हेलिकप्टरबाट उद्धार गरी ज्यान बचाएकी छन् । हुम्ला श्रीमष्ट १ की ३० वर्षीया बाटुल्ली शाहीलाई हेलिकप्टरमार्फत काठमाण्डौं ल्याएर सांसद शाहीले ज्यान बचाएकी हुन् ।

बाटुल्लीको अहिले काठमाण्डौं थापाथलीस्थित प्रसुती गृहमा उपचार भइरहेको छ । प्रसूतिगृहमा चिकित्सकहरुले बाटुल्लीको शल्यक्रिया गरेर मरेको बच्चा निकालेका छन् ।

‘एक्कासी मेरो मोबाइलमा फोन आयो,’ सांसद शाहीले भनिन्, ‘फोन उठाउँदा बाटुल्ली मर्न लागिसकी बचाइदेऊ भन्ने खबर सुनेर म आत्तिएँ ।’ उनले स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङसँग समस्या दर्शाएपछि हेलिकप्टरको व्यवस्था भएको बताइन् ।

काठमाडौंदेखि हेलिकप्टर गाउँमा पुग्न करिब ४ घण्टा समय लागेको थियो । हेलिकप्टरमा करिब ९ लाख खर्च भएको सांसद शाहीले जानकारी दिइन् । उक्त हेलिकप्टर भाडा स्वास्थ्य मन्त्रालयले व्यर्होने भएको छ । सांसद शाही आफैं गाउँमा पुगेकी थिइन् ।

बाटुल्लीको पेटमा बच्चा उल्टो अवस्थामा थियो । उनी तीन दिनदेखि घरमै बेहोस थिइन् । उल्टो बच्चा निकाल्न नसक्दा बिहीबार राति सांसदलाई फोन गरेको बिरामीका ससुरा महेन्द्र शाहीले बताए । हुम्ला, सिमकोटदेखि श्रीमष्ट गाविसमा पुग्न करिव तीन दिन लाग्ने भएकाले बाटुल्लीलाई बोकेर सिमकोट पुर्‍याउन कठिनाइ भएपछि सांसदलाई ज्यान बचाइदिन आग्रह गरिएको थियो ।

श्रीमष्टा गाविसमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा सुत्केरी हुन नसकेका महिलालाई ज्यान बचाउन मुस्किल हुने गरेको छ । हुम्लामा २६ वटा स्वास्थ्य केन्द्र, २२ वटा बर्थिङ सेन्टर र ८ वटा इकाई सामुदायिक स्वास्थ्य केन्द्र छन् । जिल्ला अस्पतालमा समेत जटिल अवस्थाका गर्भवतीलाई बचाउन जोखिम छ । यसअघि जेठ र भदौमा दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी ज्यान बचाइएको थियो ।

Last modified on 2017-06-23 17:09:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts