‘दाँतको बेवास्ता घातक हुनसक्छ’



Download our app to get more features

काठमाडौँ, ४ वैशाख । तपाईको दाँत दुख्छ, गिजा सुन्निने हुन्छ वा किराले खाएको छ वा पिप आउने र मुख गन्हाउने समस्या छ ? छ भने बेलैमा सचेत हुनुहोस् त्यसको असर दीर्घकालका लागि घातक हुन सक्छ ।

जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । रुपमा मानिस जतिसुकै राम्रो भए पनि दाँत फोहर छ भने उसको व्यक्तित्वमा नकारात्मक असर पर्छ ।

सामान्य रुपमा यदि तपाईको दाँत दुखेको छ भने अब हेलचेक्र्य्राइँ नगनुहोस् । त्यसको दीर्घकालीन असर नराम्रो हुन्छ । सुरुमै अलिअलि दुखेको दाँतलाई तुरुन्तै राम्रो दन्त चिकित्सक कहाँ गएर जँचाइ हाल्नुपर्दछ ।

वीर अस्पतालका दन्त चिकित्सक डा.मुकुन्दराज रेग्मीका अनुसार नेपालमा दाँत किराले खाने समस्या भएका रोगी धेरै भेटिने गरेका छन् । नेपालीको सामान्य दुखाइ हुँदा जाँच नगराउने बानीका कारण कतिपयलाई किराले हाडसम्म असर गर्नसक्ने र त्यसले क्यान्सरजस्ता रोगसम्म निम्त्याउन सक्ने उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “सुरुमै उपचार गर्न सकेमा यस्ता रोगबाट बच्न सकिन्छ । दाँतमा सङ्क्रमण सामान्य उपचारबाट निको पार्न नसकिने अवस्था आएमा जराभित्र रहेका नसाको उपचार गर्नुपर्ने हुन्छ जसलाई इन्डोडन्टिक थेरापी (आरसिटी) भनिन्छ ।

यदि दाँतको समयमै उपचार हुन नसके दाँत निकाल्नुको विकल्प रहँदैन । आरसिटी भनेको सङ्क्रमित दाँत रोगीलाई गरिने अन्तिम उपचार पद्धति हो । दाँतमा केही समस्या भएमा दन्त विज्ञको मात्र जानुपर्ने उहाँको सुझाव छ ।

नेपालमा दन्त चिकित्सामा विज्ञ नभएकाले पनि क्लिनिक खोलेर बसेका हुनाले जहाँ पायो त्यहीँ जाँच गराउनु हँुदैन । नेपालमा अन्य रोगको तुलना दन्त चिकित्सा महङ्गो भएकाले मानिस उपचारका लागि कम आउने गरेको बताउनुहुन्छ, डा रेग्मी ।

वीर अस्पताल दाँत हाल्ने (इम्प्लान्ट) उपचारका लागि रु चालीस हजारसम्म लाग्ने डा.रेग्मी बताउनुहुन्छ । दाँतलाई सामान्य रुपमा स्वस्थ राख्न हामीले प्रयोग गर्ने ब्रस, मञ्जनमा समेत ध्यान दिनुपर्ने हुन्छ । घरायसी दतिउन र कोइलाजस्ता रगड्ने वस्तुले दाँत सफा गर्न नहुने चिकित्सकहरु बताउँछन् ।

बिहान र बेलुका गरी दैनिक दुई पटक दाँत माँझ्ने गर्नाले दाँतको सतहमा विभिन्न ब्याक्टेरिया जम्न पाउँदैन । मुख कुल्ला गर्ने औषधि (माउस वास) को प्रयोगले गिजाको समस्या तथा किरा लाग्ने सम्भावनालाई कम गर्न सहयोग गर्ने डा.रेग्मीको भनाइ छ ।

सुर्तीजन्य पदार्थ, चुरोटजस्ता कुरा नखाने तथा रेसायुक्त खानेकुरा बढी खाने बानीले दाँत बलियो हुन्छ । 
रासस
 

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts