चिकित्सकको आन्दोलनले एमबीबीएस पढाई अवरुद्ध 

What's This?


Download our app to get more features

कास्की ११, फागुन । विभिन्न माग राखेर मनिपाल शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि एमबीबीएसको पढाई अवरुद्ध भएको छ ।  पुनः आन्दोलित भएका उनीहरु एमबीबीएसका कक्षामा पढाउन गएका छैनन् । आन्दोलनरत चिकित्सकहरुले मनिपाल शिक्षण अस्पतालको इमर्जेन्सी र ओपीडी सेवासमेत सञ्चालनमा असहयोग गरेका छन् ।

श्रम ऐनअनुसार करारका चिकित्सकलाई स्थायी गर्नुपर्ने, समयसापेक्ष तलब वृद्धि र शनिबार तथा सार्वजनिक बिदाका दिनको सट्टा बिदाको व्यवस्था गर्नुपर्ने माग दोहोर्‍याउँदै मनिपाल शिक्षण अस्पतालका प्राध्यापक–शिक्षक आन्दोलित भएका हुन् । यसअघि भदौ ६ देखि यिनै मागसहित आन्दोलित चिकित्सक र कलेज प्रशासनबीच जिल्ला प्रशासन कार्यालय कास्कीमा वार्ता भएको थियो । ४ बुँदे सहमति भएपछि मंसिर २ देखि आन्दोलनरत पक्ष काममा फर्किएको थियो । उक्त सहमतिअनुसार कलेज प्रशासनले तलबमा वृद्धि गरेको भए पनि १२ करारका चिकित्सकको स्थायी गर्नुपर्ने मुख्य मागसहित उनीहरु फेरि आन्दोलित भएका हुन् ।

कलेज प्रशासनले भने तलब वृद्धि भएको र अन्य मागका विषयलाई सम्बोधन प्रक्रियामा भएका बेला चिकित्सक आन्दोलित हुनु दुःखद भएको जनाएको छ । मनिपाल शिक्षण अस्पताल भारतीय व्यवस्थापनद्वारा सञ्चालित प्रतिष्ठान हो । 

मनिपाल शिक्षण अस्पतालमा चिकित्सकको आन्दोलनका कारण नवौं, सातांै र पाँचांै सेमेस्टरका ४ सयभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । कलेजमा नेपालीसँगै भारत, श्रीलंका र मालदिभ्सका विद्यार्थी पनि पढ्छन् ।
 

Last modified on 2017-06-23 14:28:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts