धुमपान मुटु र मस्तिष्कका लागि घातक

What's This?


Download our app to get more features

काठमाण्डौं, ५ वैशाख । सास फेर्न गाह्रो हुने समस्या बढ्न थालेपछि ६५ वर्षीय खिमलाल ओली स्वास्थ्य जाँचका लागि चिकित्सकको सम्पर्कमा गए । उनलाई खोकीले पनि उत्तिकै सताइरहेको थियो । 

चिकित्सकले जाँच गरेपछि उनले दैनिक सेवन गर्ने धूमपानका कारण त्यस्ता समस्या भएको पुष्टि गरे । चुरोट, सुर्ती छाडेमात्र उपचार गरी औषधि लेखिदिने बताइएपछि उनले निकै प्रयास गरेर धूमपान त्यागे ।  

उनी एक प्रतिनिधि पात्रमात्र हुन् । देवकोटाजस्तै मुटु र छातीका विभिन्न समस्या ल्लिएर चिकित्सककहाँ आउने धेरै बिरामी छन् जो चुरोट, सुर्तीका अम्मली हुन् । 

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले धेरै धूमपानले रक्तनलीको भित्री भागमा कोलेस्ट्रोल जम्मा गराउने, रगतलाई बाक्लो बनाई जम्ने सम्भावना गराउने, मुटुको रक्तनली साँघुरो बनाउने, चुरोट सेवन गर्नेको उच्च रक्तचाप कम गर्न पनि समस्या हुने बताए । साथै, चुरोट सेवन गर्नेमा हृदयाघातको सम्भावना दुईदेखि चार गुणा बढी हुन्छ । 

उनका अनुसार चुरोट सेवन गर्ने मानिसलाई फोक्सोको क्यान्सर हुने सम्भावना सामान्य मानिसको भन्दा महिलामा १३ गुणा र पुरुषमा २३ गुणा बढी हुन्छ । फोक्सोबाहेक रगत, घाँटी, मुख, आन्द्रा, पाठेघर, स्तन, पिसाबथैली, मिर्गौलाजस्ता अंगमा पनि क्यान्सरको खतरा बढी रहन्छ ।  

अत्यधिक धूमपानले मस्तिष्काघातको सम्भावना दुईदेखि चारगुणा बढी हुन्छ । सुर्तीजन्य पदार्थ सेवन गर्नेमा दमबाट मृत्यु हुने सम्भावना १२ देखि १३ प्रतिशत हुन्छ । 

धूमपान गर्ने महिलामा बाँझोपन हुने, पटक पटक गर्भपतन हुने, वजन कम भएको बच्चा जन्मने, बच्चाको अचानक मृत्युको सम्भावना बढी हुने चिकित्सकको भनाइ छ । 

डा. अनिलका अनुसार मानिसले धूमपानलाई छाड्ने हो भने हृदयाघात र मस्तिष्काघातको सम्भावना कम हुँदै जान्छ । क्यान्सर र फोक्सोसम्बन्धी रोगको सम्भावना पनि कम हुन्छ । 

केही अध्ययनले चुरोट छोडेको १० वर्षमा हृदयाघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै पनि सेवन नगरेको व्यक्तिजस्तै हुने देखाएको उनले बताए । स्वाद र सुँघ्ने क्षमतामा सुधार भई खाना बढी रुच्ने र शरीरबाट चुरोटको दुर्गन्ध आउन बन्द हुन्छ । 

नेपालमा १७ हजारभन्दा बढी मानिसको प्रत्येक वर्ष सुर्ती सेवनका कारण मृत्यु हुने गरेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार संसारभर ११ करोड मानिस चुरोट सेवन गर्ने गर्छन् । तीमध्ये प्रत्येक वर्ष ६० लाख मानिस सुर्तीजन्य पदार्थ सेवन गरेका कारण मर्ने गरेका छन् । 

विश्व स्वास्थ्य संगठनले सन २०२० सम्ममा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या करिब एक करोड पुग्ने अनुमान गरेको छ । मुटु र रक्तनलीसम्बन्धी रोगमध्ये २५ प्रतिशत धूमपानका कारण हुने गरेको छ जसमध्ये १० प्रतिशत चुरोट सेवनले मात्र गर्छ । 

तीसदेखि ५० वर्ष उमेर भएका अम्मलीलाई हृदयाघातको सम्भावना चुरोट सेवन नगर्नेको भन्दा पाँचगुणा बढी हुन्छ । 

रासस  
 

Last modified on 2016-04-17 15:22:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts