भरतपुर क्यान्सर अस्पतालमा चिनियाँ विशेषज्ञको नयाँ टोली



Download our app to get more features

चितवन, १५ फागुन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा चिनियाँ विशेषज्ञको नयाँ टोली आइपुगेको छ । 

हाल रहेको टोली मार्च १ तारिखमा फिर्ता हुने तयारीसँगै नयाँ टोली नेपाल आइपुगेको हो । चीन सरकारले एसियाकै नमुना अस्पतालका रूपमा भन्दै निर्माण गरिदिएको अस्पतालमा चीन सरकारले नै उच्चस्तरको विशेषज्ञ टोली सुरुवातदेखि नै पठाउँदै आएको छ । अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनका अनुसार अन्तरङ्ग सेवा सुरु गरेकै वर्षबाट चीन सरकारले विशेषज्ञसहितको टोली पठाउन सुरु गरेको हो । 

गत वर्षसम्म टोली दुई÷दुई वर्षमा परिवर्तन हुने गरेको भए पनि अहिलेबाट भने एक÷एक वर्षमा परिवर्तन हुने गरेको छ । आउँदो मार्च १ तारिखबाट चिनियाँ टिम लिडर लि डोङ विनसहितको टोली चीन फर्कंदै छ भने प्लास्टिक सर्जन डा युअन हावजुन नेतृत्वको टोली नेपाल आइसकेको छ । 

करिब एक हप्ताको समयमा पुरानो टोलीले नयाँ टोलीलाई अस्पतालका कामको प्रकृति र चिनजान गराउने कार्यकारी निर्देशक पुनले जानकारी दिए। टोलीमा एकजना दोभासे, एकजना सहायकस्तरको कर्मचारी हुन्छन् भने १५ जना क्यान्सर रोगसम्बन्धी विज्ञ चिकित्सक रहने कार्यकारी निर्देशक पुनले बताए । टाउको, छाती, फोक्सो, कलेजोजस्ता महत्वपूर्ण अङ्गका क्यान्सर रोगसम्बन्धी विशेषज्ञ रहने गर्दछन् । 

अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले चीन सरकारले अस्पताल निर्माणसँगै नियमित चिनियाँ विशेषज्ञ टोली खटाउनुका साथै औषधि, उपकरण, अस्पतालमा नै र चीन लगेर चिकित्सक एवम् प्राविधिकलाई तालिम दिने गरेको जानकारी दिए । गत वर्षमात्रै चीन सरकारले सिटिस्क्यानसहितका करोडौँका उपकरण क्यान्सर अस्पताललाई प्रदान गरेको थियो । अध्यक्ष डा न्यौपानेले चीन सरकारको नियमित सहयोगका कारण अस्पताल सञ्चालनमा सहयोग पुगेको बताए । 

सन् १९९८ मा चीन सरकारले निर्माण गरेको भवन हस्तान्तरणपछि सन् १९९९ बाट अस्पतालमा अन्तरङ्ग सेवा सुरु भएको हो । सन् १९९५ बाट नै डे केयर सेवा सुरु गरिएको थियो ।

¬रासस 

Last modified on 2017-06-25 11:16:00

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts