कान्ति अस्पतालको २२ वटा आइसियू अझै चलेन, पुषयता मात्रै दुइसयभन्दा बढी बिरामी इमर्जेन्सीबाटै रिफर



Download our app to get more features

काठमाण्डौं, २८ चैत । कान्ति बाल अस्पतालको इमर्जेन्सीबाट चैत्र महिनामा मात्र ५० जना बिरामी रिफर भएका छन् । यस्तै अस्पतालमा पुषबाटै सञ्चालन गर्ने भनिएको ५२ बेडको आइसियु अझै सञ्चालनमा नआउँदा थप समस्या भएको छ । 

अस्पतालमा आई.सि.यु तथा थप उपचार सम्भव नहुँदा रिफर गरिएको अस्पतालले जनाएको छ । १८ बेड आई.सि.यु रहेकोमा त्यसको संख्या थप गर्दै ५२ बेड पुर्याइएको थियो । 

कान्ति बाल अस्पतालको वार्षिक उत्सवको अवसरमा पुषमा स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालबाट रिफर हुने बिरामीको रेकर्ड राख्न निर्देशन दिएका थिए । त्यसयता अस्पतालबाट दुईसय पाँच जना बिरामी इमर्जेन्सीबाट मात्र रिफर भएका छन् । जसमा पुष महिनामा ८०, माघमा ३३, फागुनमा ४२ र चैत महिनामा (२७ गतेसम्म) ५० जना बिरामी रहेका छन् । 

आई.सि.युको संख्या बढाएसँगै बिरामीको रिफर संख्यामा केही कमी आएको कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीले दाबी गरे । ‘आइसियूको बेड कम हुँदा धेरै बिरामी रिफर गर्नु पर्ने अवस्था रहेको थियो हाल यसको संख्यामा कमी आएको छ’ निर्देशक रायमाझीले भने ‘पहिला सिमित १८ बटा मात्र बेड रहदा भर्ना गर्न नसक्दा बाहिर पठाउनु पर्ने अवस्था रहेको थियो ।’  

अस्पतालमा १८ बेडबाट ५२ बेडको आइसियू पुर्याइएपनि ३० वटा बेड मात्र सञ्चालनमा छ । ३० बेडमध्ये एन.आई.सि.यु १२, पि.आई.सि.यु १०, एस.आइ.सि.यु ६ र आइसूलेसन आई.सि.यु दुईवटा बेडमा सञ्चालामा भएको छ । 

निर्देशक डा. रायमाझीका अनुसार ५२ बेड सञ्चालन गर्ने भनिएपनि दरबन्दी कम हुँदा पूरै बेड सञ्चालन गर्न नसकिएको हो । त्यसका लागि आवश्यक थप ८१ जना दरबन्दी थप गरेर छिट्टै ५२ बेड नै सञ्चालन ल्याउने उनको दावी छ । 

सरकारी अस्पताल भएकाले सस्तो र सहज उपचारको लागि सबैको ध्यान कान्ति बाल अस्पतालमा रहेको छ । हरेकदिन बिरामीको संख्या र अन्य अस्पतालबाट रिफर भए आउने बिरामीको संख्यामा बृद्धि भइरहेको हुँदा ५२ बेड आई.सि.यु पनि कान्ति अस्पतालका लागि अभाव रहने देखिएको छ । हरेक दिन बिरामीको संख्यामा बृद्धि भइरहेको हुँदा ५२ बेड आई.सि.यु सञ्चालनमा रहेपनि रिफर भने पूर्णरुपले नरोकिने रायमाझीले दावी गरे । 

आई.सि.यु बाहेक न्यूरो सर्जरी, नाक कान घाँटी, हाडजोर्नी, मुटुको शल्यक्रिया जस्ता सेवा अस्पतालमा नहुदा समेत अस्पतालले बिरामी रिफर गर्ने गरेको छ । निर्देशक रायमाझीले भने ‘उक्त सेवा अस्पतालमा नहुँदा थप उपचारका लागि सरकारी अस्पतालमा रिफर गर्ने गरेका छौं ।’ 

Last modified on 2017-06-18 15:25:52

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts