सावधान ! सेकुवा खाए क्यान्सर होला



Download our app to get more features

पछिल्लो समय नेपालीहरुको जीवनशैलीसँगै खानपानको आनिबानी पनि पविर्तन भएको छ । मानिसले दैनिक व्यस्तताले घरमा पकाएको भन्दा पनि होटल तथा रेष्टुराँको खानालाई बढी प्राथमिकता दिने गरेका छन् ।
जीवनशैलीमा आएको परिवर्तनले हरियो सागपत भन्दा पनि मासुमा बढी जोड दिएको पाइन्छ । मासुका विभिन्न परिकारसँगै पोलेको र भुटेको मासु खाने प्रचलन बढीरहेको छ ।


पछिल्लो समय मासु र मासुजन्य परिकारले नेपालीका भान्सामा बाहुल्यता पाउने गरेको छ । स्वास्थ्यको दृष्टिकोणले पोलेको र भुटेको मासु हानिकारक हुनुका साथै क्यान्सरको खतरासमेत हुने चिकित्सकहरु बताउँछन् । स्वास्थ्यका लागि शाकाहारी भोजन गर्नु उत्तम मानिन्छ । मासुका विभिन्न परिकार केवल स्वादको लागि मात्र प्रयोगमा ल्याइन्छ । दैनिक खानामा मासु आवश्यक भए सेतो मासु खान चिकित्सकहरु सुझाउँछन् ।


मासुका परिकारमध्ये सबै भन्दा हानिकारक पोलेको र भुटेका मासु मानिन्छ । सेकुवा बनाउँदा आगोमा सेकाइने मासु र आगोको बीचमा अँगार बन्छ । मासु डढेर अँगार बन्दा त्यसमा विभिन्न रसायन उत्पन्न हुन्छन् । जसमध्ये मासुमा नाइटोसमिन भन्ने रसायनिक पदार्थ उत्पन्न हुन्छ । यस रसायनले पाचन प्रकियामा क्यान्सर बनाउने क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल बताउँछन् ।


‘सेकुवा बनाउँदा कालो भएन भने मासु राम्रोसँग पाक्दैन ।’ डा. बरालले भने, ‘पकाउनको लागि कालो नै बनाउनु पर्ने भएकाले यसले क्यान्सर निम्त्याउँछ ।’


तारेको र भुटेको मासुमा धेरै चिल्लो हुने भएकाले अल्सर हुने संभावन धेरै हुन्छ । जसले गर्दा भुटेको र तारेको मासुले ठूलो आन्द्राको क्यान्सर बढी हुने गरेको चिकित्सकहरु बताउँछन् । पटक पटक पातलो दिशा, पेट काट्ने, दुख्ने गरेमा परिक्षण गर्नुपर्ने हुन्छ ।


डा. बराल भन्छन्, ‘मासु उमालेर खानु स्वास्थ्यका लागि उत्तम मानिन्छ । मासुसँगै साग सागसब्जी, फलफुल तथा रेसादार खानेकुरा खाएमा पाचन प्रणालीमा हुने क्यान्सर कम गर्न सकिन्छ ।’


नेपालमा फोक्सोको क्यान्सर पहिलो स्थानमा रहेको छ भने खानपानका कारण काठमाण्डौं उपत्यकामा पाचन प्रणालीको क्यान्सर दोस्रो स्थानमा रहेको डा. बरालले बताए ।

 

Last modified on 2016-04-21 18:56:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts