स्वास्थ्यनासक, विकासको बाधकः धूमपान्

सन्दर्भः विश्व धूमपानरहित दिवस



Download our app to get more features

आजको सन्दर्भः

मे ३१ मा संसारभर विश्व धूमपान रहित दिवस मनाउने गरिन्छ । निकोटिन र अन्य सूर्तिजन्य पदार्थहरु सिर्जित समस्याहरुबारे मनन्, जनचेतना अभिवृद्धि र यसविरुद्ध पैरवी गर्ने मूल प्रण् सहित् यो दिवस मनाइन्छ । यो साल यसबाट मानव समाज, सभ्यता र विकासमा पर्ने बाधाबारे मनन् गर्न यस दिवसले आव्हान गरेकोछ । यहाँ सुर्ती, निकोटिन र यसका समस्याबारे चर्चा गरिँदैछ ।    

निकोटिन परिचयः
चाँडो, अत्याधिक र धेरैलाई लत् लगाउने नशालु चिज हो निकोटिन । धुँवा तान्ने (Smoking)मा चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, सुल्पा र धुँवारहित (Smokeless)मा सुर्ती, जर्दा, पान, मसला, नस, गुट्खा जस्ता कुराहरुमा निकोटिन हुन्छ । 

समस्याको व्यापकताः
यी पदार्थहरु समाजमा ग्राह्य र स्वीकृत छन्; विविध स्वरुपमा, सजिलै जहाँ पनि पाइन्छन् । साथीभाई, व्यापारव्यवसाय, भेटघाट र व्यवहारमा यो प्रतिष्ठा र आत्मीयताको माध्यम बनेको स्थिति छ । बिकसित मुलुकमा, करीब तीन चौथाई मानिसले जीवनमा कुनैबेला यसको सेवन गर्ने, एकचौथाईमा यसको लतै पर्ने र सेवनकर्ताहरुमा एकतिहाई जतिमै दुव्र्यसन हुनेगर्छ । विश्वमा १ अर्बभन्दा धेरै मानिसले यसको सेवन गर्छन् र यसकै प्रयोगका कारण सन् २०३० सम्ममा प्रतिवर्ष १ करोड मानिसको मृत्यू हुने अनुमान छ । धेरैथोरै भिन्नता भएपनि विश्वका सबैजसो भागमा यो व्यापक रुपमा सेवन गर्ने गरेको देखिन्छ । धेरै रोग र स्वास्थ्य समस्याहरु निकोटिन सेवनसँग जोडिन्छन् । 

विश्व स्वास्थ्य संगठनका अनुसार, संसारका विशेषतः नेपाल जस्ता विकासशील मुलुकहरुमा आधाभन्दा धेरै बालबालिकाहरु सुर्तीको धुँवाबाट प्रदुशित हावामा सास फेर्छन्, यसको महामारी विकासशील राष्ट्रहरुमा बढ्दैछ, यसको सेवनकर्तामध्ये आधाजतिको यसैको कारण मृत्यू हुन्छ, मृत्यूका ८ मुख्य कारणहरुमध्ये ६ वटामा सूर्तिजन्य पदार्थ कारक मानिन्छ । हालको तथ्यांकमा हरेक दशमा एकबाट उक्लेर हरेक छमा एकजनाको मृत्यूको कारण बन्दैछ । बीसौं शताब्दीमा १० करोड मानिसको ज्यान लिएको यो समस्याले एक्काइसौं शताब्दीमा १ अर्बको ज्यान जाने प्रक्षेपण गरिएकोछ । अरुले धुमपान गरी छाडेको धुँवाबाट पनि ६ लाखजतिले मृत्युवरण गर्छन् । यसर्थमा, यो अरु दुव्र्यसनजन्य पदार्थभन्दा खतरनाक साबित हुन्छ । डब्लुएचओले एक दशकभन्दा पहिलेदेखि नै यसलाई सर्वाधिक व्यापक, प्राणघातक र महंगो स्वास्थ्य समस्या भनी सम्बोधन गर्दै आएको छ । स्वास्थ्य, विकास र आर्थिक असरका हिसाबले यो मानवजाति र समाजका लागि सबभन्दा ठूलो खतराको रुपमा देखिएको छ । 

नेपालमा निकोटिन समस्याः
नेपालको स्थिति झन् भयावह देखिन्छ । धरानमा हालै भएको एक शोधले समुदायमा ४०%, मानसिक बहिरंग सेवामा ५५% र अन्तरंगमा भर्ती रहेका ६५% मानिसमा निकोटिनको दुव्र्यसन रहेको देखायो । नेपालमा यसबारे जनचेतना, सजगता र सरोकारको कमि छ; सबैतिर, गाउँमा अझ बढी सेवन छ; नेपाली महिलाहरुको धुमपान दर विश्वमै उच्च छ; सुर्ती, पानपराग, खैनीलाई अम्मल भनी हेर्ने बुझाइ छैन, यसको उपचार गर्नुपर्छ, उपचार हुन्छ भन्ने जानकारीको कमि छ । अम्मलीलाई सम्झाउने नाउँमा अक्सर हिनताबोध गराउने वा चरित्रमाथि प्रश्न लगाउने गरिन्छ । शिशु, बच्चा र  परिवारसँगै बन्द कोठामा धँुवा छाड्ने गरिन्छ हामीकहाँ । हाम्रा साँस्कृतिक माहोल, चालचलन यसको प्रयोगलाई स्वीकृति दिन्छ, आज पनि चुरोट, सुर्तीजन्य पदार्थको प्रयोग विनाको भोज, पार्टी वा भेला खल्लो र अपूर्ण हुन्छ । राज्य चुरोट बट्टामा सन्देस राख्ने कुरामा सिमित देखिन्छ । प्रभावकारी रुपमा यसको कर उठाउन र त्यसको सदुपयोग गर्नसम्म असक्षम देखिएको छ । सवारी साधन, पार्क जस्ता सार्वजनिक स्थलहरुमा यसको खुल्ला प्रयोग गर्नेलाई नियमतः कार्वाहि गर्ने कुरा यहाँ जोक्स बन्ने गर्छ ।  

निकोटिन पदार्थ र स्वास्थ्य समस्याः
चुरोट जस्ता निकोटिनयुक्त पदार्थहरुमा निकोटिनका अलावा हुने टार, एमोनिया, आर्सेनिक, कार्वोनमोनोक्साइड जस्ता सयौं खालका हानिकारक रसायनहरुले स्वास्थ्य जोखिममा पार्छन् । अर्वुदरोगको ३० प्रतिशतभन्दा बढी क्यान्सर यसमा हुने बेन्जोपाइरिन जस्ता क््यान्सरकारक रसायनले हुने तथ्यांक छ । सुर्ती सेवनले फोक्सो, मुख, पेट, घाँटी, पिसावथैली, मिर्गौला लगायत् अरु धेरैखालका क्यान्सर हुने गर्दछन् । यसले निमोनिया, ब्रोन्काइटिस, दम र अरु सासप्रश्वासका रोगहरु, मुटु र रक्तनलीका रोगहरु, नशासम्बन्धी रोगहरु र अरु धेरै स्वास्थ्य समस्याहरु मार्फत् सेवनकर्ताको आयु क्रमशः घटाउँछ । क्षयरोग, पाचन समस्या, पाठेघरको क्यान्सर, मोती्िन्दु जस्ता धेरेै स्वास्थ्य समस्याहरुसँग सुर्तीजन्य पदार्थको सम्बन्ध हुन्छ । महिलाको सेवनले गर्भको शिशुको तौल कम हुने, मानसिक र शारिरीक विकासमा असर पर्ने तथा घरमा सँगै बसेर अरुले गरेको सेवनले परिवारजनलाई पनि गम्भीर पर्नेगर्छ । यसको सेवनको उदासिन, छट्पटी, पागलपन, मद्यपान र अन्य नशालुपदार्थको दुव्र्यसन सहित् अरु मानसिक समस्याहरुसँग पनि निकटको सम्बन्ध देखिएको छ । छट्पटी कम गर्न चुरोट पिउनाले पछि लत् लागी छाड्न नसक्ने र छट्पटी अरु बढ्नेगर्छ । अन्य नशाको समस्या पनि धेरैमा निकोटिनबाट शुरु हुनेगर्छ ।

यसका असरः   
निकोटिनले दिक्दार र थकान हुने खालको काममा जाँगर जगाइराख्ने, मन स्थिर र शान्त राख्ने, रिस घटाउने, तौल घटाउने भन्ने जस्ता केहि प्रतिवेदन पनि छन् । जुनसुकै हिसाबले शुरु भएपनि चाँडो निकोटिनले त्यत्तिक्कै प्रभावका लागि ज्यादा मात्रा चाहिने, सेवन नगर्दा तल्तल लाग्ने र यसको सेवन अनिवार्य जस्तो महसुस गराउने गर्छ । सेवन हुँदै गएपछि अरु लत लाग्ने पदार्थभन्दा तुलनात्मक रुपले यसमा अधिक, चाँडो र प्रभावकारी हिसाबले दुव्र्यसनका लक्षणहरु उत्पन्न हुन्छन् ।

व्यापक प्रयोगका कारण हुने आर्थिक व्यय, गम्भीर र विविध स्वास्थ्य असरका कारण हुने अस्वस्थता, बिकलांगता र मृत्युबाट पर्ने आर्थिक हानी आदिको यथार्थपरक विश्लेसनले यो मानव जाति र समाजको सबभन्दा खतरनाक स्वास्थ्यनासक र विकासको बाधक भएको पुष्टि हुन्छ । सन् २०१७, मे ३१ को विश्व धुमपान रहित् दिवसले यहि तथ्यलाई पुनः औंल्याएको छ ।    

रोकथामका उपायहरुः 
व्यक्ति, परिवार, समाज, राज्यको तहमा यसको प्रयोग र समस्या हुन नदिनको लागि प्राथमिक रोकथामका उपायहरु, जस्तैः जनचेतना जगाउने, यसमा कर बढाउने, निश्चित ठाउँमा मात्र बिक्रीबितरण गर्ने, धुमपान गर्ने कानुन लागु गर्नेे, यसको सेवन गर्दै नगर्ने, गर्नेहरुको संगतबाट आफू र विशेषतः बच्चाहरुलाई टाढा राख्ने, बालबालिकाहरुको अगाडि अभिभावकले यसको सेवन नगर्ने, उनीहरुलाई सुर्तीजन्य पदार्थको बिक्रिबितरण नगर्ने र सल्काउन नलगाउने, सुर्तीको सट्टा अरु खेती गर्ने, विज्ञापनमा रोक लगाउने, यसका बेफाइदाबारे जानकारी र फोटो चुरोट बट्टामा प्रभावकारी ढंगले राख्ने, यसको उत्पादन र प्रयोगलाई सामाजिक र कानुनी रुपमै निरुत्साहित पार्ने अभियानको जरुरत छ । सेवन गर्नेले छाड्ने तथा लत बसेको भए व्यक्ति, परिवार र साथीभाईले यसको उपाय उपचारतिर लाग्नुपर्छ । राज्यले जनसरोकार र जनस्वास्थ्यमा यथोचित् प्राथमिकता र कार्यक्रमहरु ल्याउन र यसबाट सिर्जित समस्याहरुको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी हुन्छ ।  

निकोटिनको अम्मलको उपचारः  
उपचार बिना निक्कै कमले मात्र यसको अम्मल दिगो हिसाबले छाड्नसक्ने हुन्छन् । व्यक्तिको व्यसनको प्रकृति, गम्भीरता र जटिलता अनुसार सुहाउँदो उपचार पद्धति अबलम्बन गर्दा फलदायी हुनेगर्छ । कारक तत्वहरुको पहिचान, उपयुक्त विधिहरुको चयन, यसबारे र पुनः प्रयोग गरिने उच्च खतराका स्थितिहरु चिनेर अपनाउन सकिने उपायहरुबारे जानकारी लिन दक्ष चिकित्सकको सल्लाह उपयोगी हुन्छ । अरु शारिरीक वा मानसिक समस्याहरु पनि साथै भए उपचार गर्न जरुरी हुन्छ; यसले निकोटिनको अम्मल छाड्न पनि सहायता पुग्छ ।  

मनोवैज्ञानिक विधिहरुमा यस्ता अम्मलदेखि टाढिन, खतराजन्य परिस्थितिहरु सामना गर्न र मनमा सकारात्मक बिचार बनाइराख्न सघाइन्छ । शरीरमा निकोटिन बिस्थापन गर्ने विविध औषधीहरु (गम, लोजेंग, प्याच, स्प्रे, इन्हेलर) पाइन्छन् । निश्चित अवधिका लागि यिनको प्रयोग गर्दा यो अम्मल छाड्न सरल र सफल हुने देखिन्छ । यसको तल्तल् र यसको प्रयोग छाड्दा हुने छट्पटी आदिमा फाइदा हुने अरु औषधीहरु पनि उपलव्ध छन् । व्यक्तिको आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा उपचार पद्धतिहरुको अबलम्बन गर्दा छाड्न गाहारो मानिने निकोटिनको अम्मलबाट मुक्ति मिल्नेछ । आजै र अहिल्यै स्वास्थ्यनासक र विकासको बाधक यस्तो अम्मल हटाउन अघि बढौं ।  

Last modified on 2017-06-14 12:49:23

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts