अपरेसन पछि घाउको स्याहार कसरी गर्ने ? के गेडागुडी खाँदा घाउ पाक्छ ?


शरीरको कुनै पनि भागको अपरेसन गरेपछि बन्ने घाउको स्याहार गर्नु एकदमै जरुरी हुन्छ । त्यस्तो घाउको राम्रोसंग हेरविचार नगरेमा घाउ पाक्ने, संक्रमित हुने, ढिलो जोडिने आदि समस्याहरु देखिन सक्छ ।
ड्रेसिङ्ग कहिले गर्ने ?
सामान्यतया घाउको प्रकृति हेरेर त्यसको ड्रेसिङ्ग कहिले गर्ने भनेर निर्धारण गरिन्छ । संक्रमित र फोहोर घाउहरु छन् भने त्यसलाई दैनिक रुपमा सफा गरिरहनुपर्ने आवश्यक हुनसक्छ । अपरेसनबाट बनेको घाउलाई भने केहि दिन बिराएर पनि ड्रेसिङ्ग गर्न सकिन्छ । यी कुराहरु बिरामी भर्ना भएको अस्पतालको प्रोटोकल र उपचार गर्ने चिकित्सकहरुले गर्ने घाउको जाँचहरुमा पनि भर पर्छ ।
टाँका कहिले खोल्ने ?
टाँका कहिले खोल्ने भन्ने कुरा घाउको अवस्था, रहेको भाग र सिलाउनको निम्ती के प्रयोग गरिएको छ आदि कुराहरुमा भर पर्छ । सामान्यतया अनुहार, पेट आदिको अप्रेसनमा लगाएको टाँका ७ देखि १० दिनमा निकाल्न सकिन्छ भने, हात वा खुट्टाको चाहिँ २ हप्तासम्म लाग्न सक्छ । हात खुट्टाको तुलनामा अनुहारमा रक्तसञ्चार बढी हुने भएकाले घाउ चाडो निको हुने गर्छ र टाँका चाडो निकाल्न सकिन्छ । यसमा पनि अस्पताल र चिकित्सक अनुसार र घाउको अवस्था हेरेर टाँका खोल्ने वा नखोल्ने निर्णय लिनुपर्ने हुँदा, सम्बन्धित चिकित्सकको सल्लाह र घाउको अवस्थाको राम्रो पहिचान गरेर मात्र टाँका खोल्नु बुद्धिमानी हुन्छ ।
घाउको टाँका खोलेपछि भने ड्रेसिङ्ग गरिरहनुपर्ने जरुरी हुँदैन तर घाउको सरसफाईमा भने विशेष ध्यान पुर्याउनुपर्छ ।
कसले सावधानी अपनाउने ?
मधुमेह, एच आई भी एड्स, क्यान्सर लगायत अन्य रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीहरुमा भने घाउ जोडिने वा पहिलेको अवस्थामा आउन समय लाग्ने गर्छ । यी बिरामीहरुले घाउको सरसफाई र हेरचाहमा थप ध्यान पुराउनुपर्ने हुन्छ ।
धुम्रपान गर्नेहरुमा पनि घाउ सन्चो हुन धेरै समय लाग्ने गर्दछ ।
कतिबेला अस्पताल जाने ?
घाउबाट पानी वा पिप बगेमा
लामो समयसम्म पनि घाउ नजोडिएमा
अपरेसन गरेको केहि दिनभित्र ज्वरो आउने, काम्ने भएमा
केहि भ्रमः
अप्रेसन गरेपछि गेडागुडी, माछामासु खायो भने घाउ पाक्छ भन्ने भ्रम धेरै मानिसहरुमा रहेको पाइन्छ । तर खानेकुरा सँग घाउ पाक्ने वा नपाक्नेको तस्तो कुनै सम्बन्ध हुँदैन । घाउको संक्रमण र पाक्ने भन्ने कुरा घाउको सरसफाई र हेरचाहमा भर पर्ने गर्छ । साथसाथै घाउ चाँडो सन्चो हुन प्रोटिनयुक्त खानेकुराहरु जस्तै गेडागुडी, माछामासु, अण्डा आदि यथेस्ट मात्रामा खानुपर्ने हुन्छ ।
Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया


Chief Editor at hamrodoctor
View Other Stories by Author >>