जब भरतकुमारको गिजा सुन्निएर मुखैभरी पीप भरियो....



Download our app to get more features

काठमाण्डौ । चिसापानी रामेछापका ५३ वर्षीय भरतकुमार श्रेष्ठलाई करिव तीन महिनाअघि एक्कासि दाँत दुख्ने समस्याले सताउन थाल्यो । केही समय सामान्य कारणले दुखेको होला भन्ने ठानेर वास्ता गरेनन् । तर समस्या दाँत दुखाइमै मात्र सीमित रहेन । बिस्तारै गिजा पाक्ने समस्याले थप पीडादायी अवस्था सिर्जना गर्दै लग्यो । 

सामान्य खेतीकिसान गर्दै दुइ छोरा , एक छोरी र श्रीमती सहित बस्दै आएका भरतकुमारले वर्षैभरी खेतीपाति गर्दापनी उनको परिवारलाई बर्षभरि खान लाउन धौधौ हुने भएकाले सामान्य समस्या देखिनासाथ अस्पताल दौडिने कुरा प्राथमिकता बाहिरको थियो । त्यसैले त उनले निको हुन्छ कि भनेर गाँउघरमा पाइने जडिबुटी खाने, लगाउनेदेखि झारफूक पनि गरे । ‘गाँउघरमा जानेसुनेको सबै गरें, तर रोग घट्नुको सट्टा झन्झन् बढ्दै गयो ।’ श्रेष्ठले हाम्रो डाक्टरसँग भने ‘दाँतको दुखाई र गिँजा यतिसम्म पाक्न थाल्यो कि मेरो मुखै पुरै सुन्नियो, नाकबाट लगातार पीप, रगत र पानी बग्न थाल्यो ।’ 

घरको कमाउने मान्छे नै थला परेपछी श्रेष्ठको परिवारलाईे रोजिरोटीको जोहो गर्न समेत कठिन पर्ने अवस्थामा उपचार कसरी गर्ने अर्को चिन्ता थपियो । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न सम्भव नदेखेपछी उनी छिमेकीको सल्लाह अनुसार तात्कालिन जिविस, जिल्ला जनस्वास्थ्य रामेछापबाट काठ्माडौसम्म आउनपुग्ने पैसा र जिल्ला जनस्वास्थ्य कार्यालय रामेछापको सिफारिस हात परेपछि आफ्नो उपचार गराएर फर्किने ठुलो आशा बोकेर श्रेष्ठ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल आइपुगे । अस्पतालले सामान्य चेकजाँच गरेर बसुन्धरा स्थित कान्तिपुर डेन्टल तथा जनरल अस्पतालमा रिफर गरिदियो । 

‘डेन्टल अस्पतालमा त पुगें तर झनै अन्यौलमा परें । सायद थोत्रो लुगा, सुन्निएको अनुहार र पुरानो झोला भिरेको मान्छे देखेर होला कसैले वास्ता गरेनन्’– उनले अनुभव सुनाए  ।
हातमा सहयोगको फाइल बोकेर यताउति भौंतारिरहेका भरतकुमारलाई केहीबेरदखि नियालिरहेका कान्तिपुर डेन्टल अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भरतकुमारलाई सबैकुरा सोधे । दाँतको समस्यालाई बेवास्ता गरी सामान्य रुपमा लिएका कारण भरतकुमारको मुखको अवस्था ज्यादै नाजुक अवस्थामा पुगिसकेको थियो । यस्तो देखेपछि डा. श्रेष्ठले तत्काल गिजा तथा मुखको शल्यक्रिया गर्न निर्देशन दिए ।

अस्पतालका चिकित्सक डा. सुमित सिंहको नेतृत्वमा उनको गिजा तथा मुखको शल्यक्रिया हालै सम्पन्न भएको छ  । शल्यक्रियापछि उनी बेड नं २२० मा बसेर थप उपचार गराइरहेका छन् । उनको अनुहार सुन्निएकोपनी ठीक हुँदै छ । उपचारका क्रममा बस्ने खाने लगायतको सबै सुविधा अस्पतालले नै दिएको छ । 

‘अरु बिरामीका आफन्तहरु कोही खाना लिएर आउँछन् कोही के कसो छ भनेर सोधपुछ गर्न आउँछन् तर मेरो यो शहरमा कोही नहुँदा दुख लाग्दो रहेछ ।’ भरतकुमारले थपे, ‘अस्पतालले निशुल्क उपचार गरिदिएर ठुलो गुन लगायो, अव चाँडै निको भएर घर जानपाए ढुक्क हुन्थ्यो ।’ उनि उपचार पछि घर फर्कने खर्च र अन्य औषधिको लागि कसैले सहयोग गरे हुन्थ्यो भन्ने पनि उनको आशा रहेछ । अस्पतालका अध्यक्ष डा. श्रेष्ठले रामेछापका केही समाजसेवीलाइ समेत बोलाएर उनलाई केही सहयोग गराउन सकिन्छ कि भन्ने पहल गरिरहेको जानकारी दिए । 

दाँतको समस्यालाई सामान्य नलिन डा. श्रेष्ठको सुझाव
दाँतरोग विशेषज्ञ समेत रहेका डा. बुद्धिमान श्रेष्ठले सामान्य दाँतको दुखाइलाई ध्यान नदिँदा पछि गएर किराले खाने, गिजा सुन्निने, गिजाबाट रगत आउने, पिप आउने, संक्रमण हुने जस्ता समस्या देखिने बताए । ‘सुरुमै उपचार हुन नसकेकाले भरतकुमारको मुखको स्वास्थ्य पनि निकै गम्भीर अवस्थामा पुगेको हो ।’ उनले भने । 

उनका अनुसार मुख स्वास्थ्यमा धेरै देखिने समस्या मध्ये गिजाबाट रगत आउनु पनि एक हो । गिजाबाट रगत आउनुको मुख्य कारण व्यक्तिको मुख स्वास्थ्य कमजोर हुनु हो । दाँत तथा गिजाको सतहमा लेउ बसेको हुन्छ । यदि राम्रोसँग सतहबाट लेउ सफा नभएमा माइक्रो अर्गानिजम व्याक्टेरीयाका कारण गिजामा संक्रमण सुरु हुन्छ । जसका कारण गिजा सुन्निने, रगत आउने हुन्छ । त्यसपछि विस्तारै गिजाले दाँतको भाग छोड्दै जानुका साथै दाँत  सतहबाट तल झर्दै जान्छ ।

पछि गएर दाँत हल्लिने, रगत आउने, पिप आउने, संक्रमण हुने तथा मुख गन्हाउने जस्ता समस्या देखिन्छ ।  त्यसैले मुख तथा दन्त स्वास्थ्यलाई बेवास्ता गरी सामान्य रुपमा लिनुहँदैन  । सामान्य दाँतको दुखाइलाई ध्यान नदिँदा पछि गएर किराले खाने, गिजा सुन्निने, गिजाबाट रगत आउने, पिप आउने, संक्रमण हुने जस्ता समस्या देखिन्छन् । सुरुमै उपचार हुन सके यस्ता समस्याबाट बच्न सकिने भएकाले सबैलाई दन्तस्वास्थ्यको विषयलाई सामान्य नसोच्न डा. श्रेष्ठ सुझाव दिन्छन् । 

Last modified on 2017-08-01 16:53:12

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts