सुर्तीजन्य पर्दाथलाई निरुत्साहित गर्न करको दायरा बढाउन माग 



Download our app to get more features

काठमाडौ, १ साउन । पछिल्लो समय विश्वव्यापी रूपमा सुर्तीजन्य पदार्थको सेवनले अनेक समस्या निम्त्याइरहेको भन्दै धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन यसमा लगाइने करको दायरा बढाउनुपर्ने सरोकारवालाले औल्याएका छन् ।

आइतवार द युनियन र एक्सन नेपाल तथा स्वास्थय खबरले संयुक्त रुपमा आयोजना गरेको ‘टोबाको ट्याक्स, अ सस्टेनेबल सोर्स फर हेल्थ फाइनान्सिङ’ विषयको एक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले विश्व स्वास्थ्य संगठनले तोकेअनुसार सुर्तीजन्य पदार्थमा ७० प्रतिशतसम्म कर लगाउनु पर्नेमा जोड दिएका हुन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ मन्त्रालयकी सचिब डा. किरण रेग्मीले चुरोटको प्रडक्सन नरोकेसम्म जति करको दायरा बढाएपनि सुर्तीजन्य पदार्थको सेवन बिरुद्धका कार्यक्रमहरु सोचेजस्तो प्रभावकारी नदेखिने भन्दै सुतीजन्य उद्योग सञ्चालनमै रोक लगाउनुपर्ने आवश्यकता रहेको बताइन् । उनले भनिन, ‘कर राज्यको राम्रो आर्थिक श्रोत त हो, तर सुर्तीजन्य पदार्थको उत्पादनमा रोक लगाउनु नै सबैभन्दा राम्रो उपाय भएकाले त्यसतर्फ पनि सोच्नु जरुरी देखिएको छ ।’ 
नेपाली कांग्रेसका सांसाद रामहरि खतिवडाले सुर्तीजन्य पदार्थका कारण दैनिक ६० जना भन्दा बढि मानिसले अकालमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै  सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण नियन्त्रणमा तत्काल लागि पर्नुपर्ने बताए । 
नेकपा एमालेका सांसद कृपाराम रानाले नेपाललाई टोबाको फ्रि राष्ट्र बनाउन सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि करको दायरा बढाउनु निकै आवश्यक रहेको बताए । उनले नेपालमा सुर्तीजन्य पदार्थमा करको दायरा बढाउन आफुले के गर्न सकिन्छ सक्दो गर्ने आश्वासन दिए  । 
कार्यक्रममा आन्तरिक राजस्व विभागका अधिकृत ईश्वरप्रसाद कोइरालाले यो वर्ष चुरोट तथा सुर्तीजन्य पदार्थमा १० देखि १२ प्रतिशतसम्म कर बढेको जानकारी दिए । उनले चुरोट तथा सुर्तीजन्य पदार्थको बट्टा र आकारका आधारमा कर बढेको बताए । उनले अनुगमनका क्रममा केही कम्पनीले ९० प्रतिशत चित्र छापेको नपाएपछि ती कम्पनीलाई कडाइ गर्दै नियमनमा ल्याउन लागिएको जानकारी दिए।
सुर्तीजन्य पदार्थबिरुद्ध क्रियाशील द युनियन सिंगापुरका डेपुटी रिजनल डाइरेक्टर डा. तारासिंह बमले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि नेपालमा बनेका ऐन तथा नियमहरु उत्कृष्ट भए पनि प्रभावकारी ढंगले कार्यान्वयनमा आउन नसकेको बताउदै कानुन पूर्ण कार्यान्वयनमा आए धेरै हदसम्म सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण आउने जानकारी दिए ।
एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्ती नियन्त्रणका लागि नेपालले कानूनी रुपमा केही नीति बनाएपनि कार्यान्वनय फितलो भएको बताए । 

कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर, युवासंघका सचिव बचन बहादुर सिंह, अखिल क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्मा लगायतले सुर्ती नियन्त्रणका लागि युवा तथा विद्यार्थीहरुले गर्नुपर्ने कामकाबारेमा धारणा राखेका थिए । उनिहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेका कानूनको पूर्ण पालना गराउन सांसदको ध्यानाकषर्ण समेत गराएका थिए ।

Last modified on 2017-07-16 23:12:34

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts