स्वास्थ्यकर्मी अभावले सोलुबासी उपचारबाट बञ्चित

सल्लेरी (सोलुखुम्बु), ११ साउन । सोलुखुम्बुका अधिकांश स्वास्थ्य चौकीमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सर्वसाधारण उपचारबाट बञ्चित हुनुपरेको छ । उपचारका लागि घण्टौ हिडेर स्वाथ्य चौकीसम्म आएका बिरामी स्वास्थ्यकर्मी नभेटेपछि निरास भएर फर्केने गरेका छन् ।
लिखुपिके गाउँपालिका–५ स्थित भकाञ्जे स्वास्थ्य चौकी महिनौंदेखि दुई एएनएमको भरमा छ । चौकीमा पाँच स्वास्थ्यकर्मीको दरबन्दी भए पनि तीन जनाको पद रिक्त छ । भएका दुई जना पनि कहिलेकाहीँ बिदामा बस्दा उपचार सेवाबाट बञ्चित हुनु परेको त्यस क्षेत्रका बासिन्दाको गुनासो छ । भकाञ्जेका श्यामबहादुर बस्नेतले भने, ‘स्वास्थ्य चौकीमा उपचार सेवा नपाएको महिनाँै भयो, यहाँ न औषधि छ न त स्वास्थ्यकर्मी नै ।’
जिल्लाको दुर्गम गाउँपालिकाका रुपमा चिनिने यस क्षेत्रका नागरिक बिरामी परे दुई दिन पैदल हिडेर जिल्ला अस्पताल फाप्लु आउने गर्छन, अथवा रामेछापको बाम्तीभण्डार जाने गर्छन । लिखुपिके गाउँपालिका–५ की गीता बस्नेत सरोकारवाला निकायले स्वास्थ्यसेवाप्रति देखाएको उदासीनताले सेवाग्राहीले समस्या भोग्नु परेको बताउँछिन । उनले भनिन् ‘भाइरल ज्वरोको बिरामी बढेका छन् तर चिकित्सक र औषधि पर्याप्त छैन । सामान्य रोगको पनि उपचार नपाएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्था नआउला भन्न सकिँदैन ।’
स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष आङवाङ शेर्पाका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयमा चौकीको समस्या समाधानका लागि जानकारी गराए पनि सावधान हुन सकेको छैन । अध्यक्ष शेर्पाले भने, ‘यो विषयमा मैले जनस्वास्थ्य प्रमुख मिङ्मार शेर्पालाई जानकारी गराएको छु, आशा छ चाँडै समस्या समाधान होला ।’
जनस्वास्थ्य कार्यालमै छैनन दरवन्दी अनुसार कर्मचारी
लिखुपिके गाउँपालिकामा मात्र नभई जिल्लाका सबैजसो स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा पनि दरबन्दी रिक्त रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयमा मात्रै ३ जनाको दरवन्दी खाली छ । जिल्लाभरका स्वास्थ्य चौकीमा ४७ कर्मचारीको दरबन्दी रिक्त रहेको कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा पनि स्टाफ नर्स एक, ल्याब टेक्निसियन एक र अहेब एक गरी तीन जनाको दरबन्दी रिक्त रहेको कार्यालयले जनाएको छ ।
स्वास्थ्य चौकीमा एक हेल्थ असिस्टेन्ट, दुई अहेव र दुई अनमिको दरबन्दी हुन्छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकसहित १० जनाको दरबन्दी हुन्छ ।
कार्यालयका सूचना अधिकारी पवन लामाका अनुसार ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा रिक्त रहेका दरबन्दी पूर्ति एक वर्षदेखि हुन सकेको छैन । भएका कर्मचारीलाई सरुवा गरी अन्य जिल्लामा पठाइदिने तर सरुवा भएको स्थानमा पूर्ति नगरी दिँदा समस्या भएको उनको भनाइ छ ।
रासस