स्वाइन फ्लूबाट बच्न यस्ता सावधानी अपनाउनुहोस्



Download our app to get more features

काठमाडौं, लगायत मानिसको बढी चहलपहल हुन शहरमा स्वाइन फ्लूको प्रकोप देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार स्वाइन फ्लूका कारण केहीको मृत्यु भइसकेको छ भने सयौंमा संक्रमण भएको प्रमाणित भइसकेको छ ।

सन् २००९ देखि नेपालको विभिन्न भुभागमा बेलाबेलामा स्वाइन फ्लु देखिने गरेको छ । H1N1 भनिने इन्फ्लुएञ्जा भाइरस यो रोगको कारक हो । स्वाइन फ्लू सबै उमेर समुहका मानिसमा देखिन सक्छ । तर, यसले रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्ववृद्वा, गर्भवती र बालबालिकामा चाडो प्रभाव पार्छ । सामन्यतया यो संक्रमण मौसम परिवर्तन हुने बेलामा बढी देखिने गर्छ । 

लक्षणहरू 

  • रुघाखोकी लाग्ने
  • ज्वरो आउने
  • टाउको दुख्ने
  • घाँटी दुख्ने वा खसखस हुने
  • शरीरको विभिन्न भाग दुख्ने
  • आलस्य हुने
  • थकाइ लाग्ने
  • खान मन नलाग्ने 
  • सास फेर्न गाह्रो हुने

कसरी सर्छ स्वाइन फ्लू
स्वाइन फ्लू देखिएको बिरामीबाट अर्को स्वस्थ मानिसमा हावाको माध्यमबाट सर्छ । बिरामीले खोक्दा, हाछ्यु गर्दा, बोल्दा थुकका साना कणबाट हावामा फैलन्छ । यो रोगको जीवाणु सार्वजनिक स्थानहरू जस्तैं रेलिङ, ढोका, लिफ्ट आदिमा घन्टौंसम्म जिवित रहन सक्छ । त्यसैले हातले त्यो ठाउँ छोएमा शरीरमा प्रवेश गर्छ र श्वासप्रश्वास नली र फोक्सोमा संक्रमण भएपछि स्वाइन फ्लूको समस्या देखिन्छ । 

जाँच कसरी गर्ने
माथि उल्लेखित लक्षणहरू देखिएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा गएर तुरुन्त परीक्षण गराउनुपर्छ । चिकित्सकको सल्लाह बमोजिम थुक वा रगत परीक्षण गर्नुपर्छ ।

उपचार 
परीक्षणबाट स्वाइन फ्लू यकिन भएमा औषधिको सेवन गर्नुपर्छ र रोगको अवस्था हेरेर अस्पताल भर्ना हुनुपर्ने हुन्छ । 

कसरी बच्ने

  • हाच्छ्यु गर्दा, खोक्दा रुमालले नाक र मुख छोप्ने
  • सार्वजनिक स्थानमा हिड्दा माक्स प्रयोग गर्ने
  • संक्रमण वा महामारी देखिएको बेलामा भिडभाड, सार्वजनिक स्थानमा सकेसम्म नजाने
  • घरबाहिर वा सार्वजनिक स्थानमा गएर आएपछि साबुनपानीले हात धुने
  • संक्रमीत मानिस भएको ठाउँ जस्तैं अस्पताल, महामारी देखिएको ठाउँमा सकेसम्म नजाने
  • हात मिलाउनु भन्दा नमस्कार गर्ने बानी बसाल्ने
  • आफ्नो हात आँखा, नाक, मुखतिर सकेसम्म नलैजाने
  • रुघाखोकी, ज्वरो वा माथि उल्लेखित लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर जांच गराउने
     
Last modified on 2019-01-22 17:20:09

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts