डा. केसीको अनशन झन् पेचिलो बन्दै, मनमोहन मेडिकल कलेज किन्न प्रधानमन्त्रीले नै थाले लविङ्ग



Download our app to get more features

काठमाण्डौ, २९ साउन । २१ दिनदेखि आमरण अनशनमा बसेका प्राडा गोविन्द केसीलाई फकाउन उच्च राजनीतिक नेतृत्वले नै लविङ्ग थालेका छन् । 

चिकित्सा शिक्षा विधेयक समितिले पास गरेसँगै टुंगिने आशा गरिएको केसीको अनशन झन् लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनको अनशन तोडाउन पहल गर्दै आएका छन् । समितिले पास गरेको मस्यौदाका केही विषयमा डा. केसीले विमति जनाएसँगै प्रधानमन्त्री देउवाले शनिवार कनकमणि दीक्षित, संविधानवीद निलाम्बर आचार्य, विधेयकका मस्यौदाकार केदारभक्त माथेमा लगायतलाई बोलाएर परामर्श गरेका थिए । 

त्यसमा मुख्यतः विधेयकमा भएको १० वर्षसम्म काठमाण्डौमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने लगायत बुँदालाई केसीको मर्म अनुरुप संसोधन गराएर सहमति खोजिने छलफल भएको थियो । तर, केसीले त्यसमा पनि सहमति नजनाएपछि प्रधानमन्त्रीले आज माओवादी अध्यक्ष प्रचण्ड, नेता नारायण काजी श्रेष्ठ र सरकारी वार्ताटोलीलाई बोलाएर छलफल गरेका छन् । 

मनमोहनमा कुरा अड्कियो 
मनमोहन मेडिकल कलेजको विषयमा गएर आजको छलफल सकिएको सरकारी वार्ताटोलीका एक सदस्यले बताए । मनमोहन मेडिकल कलेजलाई सरकारले किनेर भएपनि समाधान निकाल्ने मनस्थितिमा प्रधानमन्त्री पुगेको श्रोतको दावी छ । 

सरकारी वार्ताटोलीका सदस्यहरुले पहिले नै मनमोहन मेडिकल कलेजलाई खरिद गर्ने प्रकृया चलाए पनि कलेजले कुनै प्रतिक्रिया नदिएको बताएपछि प्रधानमन्त्री आफैले त्यसका लागि उच्चस्तरीय राजनीतिक पहल थाल्ने बताएको वार्ताटोलीका ती सदस्यले बताए ।

जसका लागि प्रधानमन्त्रीले एमाले नेता एवं मनमोहन मेडिकल कलेज सञ्चालन गर्ने नेपाल स्वास्थ्य सेवा सहकारी लिमिटेडका अध्यक्ष एवं एमाले नेता राजेन्द्र पाण्डे, एमाले अध्यक्ष केपी ओली लगायतसँग छलफल गर्ने भनेपछि आजको वार्ता सकिएको हो । त्यसपछि प्रधानमन्त्रीले पाण्डेलाई फोन मार्फत बिक्रि प्रकृया थाल्न आग्रह गरेपनि पाण्डेले नमानेको स्रोतको दावी छ ।

यस्तै प्रधानमन्त्री देउवाले डा. केसीसँग छलफल गरेर बाँकी विषयमा समाधान निकाल्न माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई जिम्मा दिएका छन् । 

Last modified on 2017-08-15 08:03:24

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts