अस्पतालै पिच्छे भेन्टिलेटरको मूल्य फरक – फरक



Download our app to get more features

विराटनगर,७ भदौ । मोरङको कानेपोखरी गाउँपालिका – ६ का विवेक सुब्बाले टाइफाइड बिग्रिएपछि भाइलाई विराटनगरमा रहेको विराट हस्पिटलमा भर्ना गरे ।

चिकित्सकको सल्लाहमा भाइलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरियो । सुब्बाले भाईलाई भेन्टिलेटरमा दुई दिन राखेर उपचार गरेको मात्र झण्डै ५० हजार रुपैयाँ अस्पताललाई बुझाए । विराटनगरमा दुईवटा मेडिकल कलेज र एक दर्जन हाराहारीमा निजी हस्पिटल छन् । निजी हस्पिटलको भेन्टिलेरको मुल्यमा एकरुपता नहुँदा उनीहरुले तोकेकै मुल्य तिर्न बिरामी तथा आफन्तहरु बाध्य छन् । सरकारी अस्पतालको भन्दा कयौ गुना महङगो शुल्क निर्धारण गरेका निजी अस्पतालमा विपन्न सामुदायले उपचार गर्नुपरे जायजेथा नै बेच्नु पर्ने अवस्था छ ।  

विराटनगरमा सञ्चालित  निजी अस्पतालहरुले भेन्टिलेटरमा राखेर बिरामीको उपचार गरेबापत दैनिक ७ हजार ७ सय देखि २८ हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् । विराटनगरको नोवेल मेडिकल कलेजले भेन्टिलेटरमा राखेर उपचार गर्नुपरे दैनिक  ७ हजार ७ सय रुपैयाँ लिने गरेको कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनले भने ‘आइसीयुको शुल्क केही कम छ भने भेन्टीलेटर चार्जमा डाक्टरको चार्ज छुट्टै जोडिन्छ ।

विराटनगरकै न्यूरो अस्पतालमा पनि भेन्टिलेटरमा विरामी राख्नु परे एक दिनको १३ हजार रुपैयाँ तिर्नुपर्छ । अस्पतालका भारत श्रेष्ठले दिएको जानकारी अनुसार दैनिक आइसीयु चार्ज ६ हजार ५ सय र भेन्टिलेटर जडान गर्नुपरे थप ६ हजार ५ सय रुपैयाँ लाग्छ । यता, विराटगर अस्पताल (विराट नसिंङ होम) ले लिने शुल्क अन्य अस्पतालको भन्दा झण्डै दुई गुना छ । भेन्टिलेटरका लागि आउने विरामीबाट अस्पतालले अक्जिजन, एडमिशनसहित अन्य शुल्क जोडेर पहिलो दिन २८ हजार ८ सय ३५ रुपैयाँ लिने गरेको छ  भने दोस्रो दिनदेखि डाक्टर चार्ज बाहेक १५ हजार २ सय ५० रुपैयाँ लाग्ने अस्पताले जानकारी दिएको छ । 

विराटनगरको मोरङ सहकारी अस्पतालले भेन्टिलेटरमा राख्नुपरे विरामीबाट दैनिक ११ हजार रुपैयाँ लिने गरेको छ । अस्पतालका प्रशासकिय अधिकृत विकास अधिकारीका अनुसार आइसीयुमा मात्र दैनिक चार्ज  ५ हजार रुपैया लाग्छ भने भेन्टीलेटर जडान गरे थप ६ हजार ५ सय रुपैयाँ लाग्ने गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भने आइसीयु र भेन्टीलेटर प्रयोग गरे विरामीबाट दैनिक ३ हजार ५ सय रुपैयाँ शुल्क लिने गरेको छ । तर निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरुको शुल्क भने धेरै महंङ्गो छ । 

विराटनगरको आर. के. चिल्ड्रेन अस्पतालले दैनिक १४ हजार रुपैयाँ लिने गरेको छ । त्यस्तै सप्तकोशी नसिंङ होमले भेन्टीलेटरमा राखेर बिरामीको उपचार गरेबापत दैनिक ११ हजार रुपैयाँ  शुल्क लिने गरेको छ भने हाम्रो अस्पताल विराटनगरले ११ हजार ६ सय रुपैयाँ तोकेको छ । त्यस्तै भर्खरै खुलेको म्याक्स इन्टरनेशनल हस्पिटलले भने भेन्टिलेटर शुल्क दैनिक ९ हजार रुपैयाँ निर्धारण गरेको छ । निजी अस्पतालहरुले विरामीबाट लिने आइसीयु शुल्क कोशी अञ्चल अस्पतालको भन्दा पाँच गुणा बढि हुने गरेको छ । कोशी अञ्चल अस्पतालले आइसीयुमा एक दिन विरामी राखेको एक हजार रुपैया लिने गरेको छ भने निजी अस्पतालहरुले आइसीयुको बेड चार्ज मात्र ५ हजार रुपैया भन्दा माथी निर्धारण गरेका छन् । अञ्चल अस्पतालको भेन्टिलेटर सेवा सञ्चालनमा छैन ।  

निजी अस्पतालहरुले मनपरी शुल्क लिएपनि नियमनकारी निकायहरु भने मौन छन् । निजी अस्पतालहरुको शुल्क निर्धारण सम्बन्धी गाइड लाइन नभएका कारण अनुगमन गर्न नसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहता बताउँछन् । ‘नियमन गर्ने एउटा निकाय जनस्वास्थ्य कार्यालय पनि हो’ उनले भने, ‘केन्द्रबाट स्पष्ट गाईड लाइन आएको छैन ।’ शूल्क निर्धारण सम्बन्धी राज्यले सीमा नतोक्दा अस्पतालहरुले आफु अनुकुल शुल्क निर्धारण गरेको मेहताको भनाई छ । 

कोशीको भेन्टिलेटर सञ्चालनमा आएन
विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा उपकरण ल्याएर जडान गरिएपनि भेन्टिलेटर सेवा सञ्चालन हुन सकेको छैन् । जडान गरिएको भेन्टिलेटर सञ्चालन हुन नसक्दा बिरामीहरुले महँगो मुल्य तिरेर निजी हस्पिटलमा उपचार गर्न बाध्य भएका छन् । नेपाल सरकारको लगानीमा अञ्चल अस्पतालमा दुई वटा वेडमा भेन्टिलेटर जडान गरिएको थियो । तर, अस्पतालमा भेन्टिलेटरमा राख्नु पर्ने विरामी आए सिधै अयन्त्र रिफर गरिन्छ । एक बर्षअघि आवश्यक उपकरण ल्याएर भेन्टिलेटर जडान गरिए पनि सञ्चालनमा आउन सकेको छैन ।
यता  अञ्पतालका मेडिकल सुपरीटेण्डेन्ट  डा. रोशन पोखरेल अस्पतालले आंशिक रुपमा मात्र भेण्टिलेटर सेवा सञ्चालन गर्दै आएको बताउँछन् । ‘हामी सँग स्टाप अभाव छ अक्सिजनको फ्लो पनि कम छ ’ उनले भने, ‘हामीले भन्दा राम्रो भेण्टीलेटर नोवेल र  धरानले राखेका छन् । विरामी आए उतै लैजानुहोस भन्छौ, जान नमाने यही राख्छौ ।’ तर अस्पतालका कर्मचारी भने जडान भएयता भेन्टिलेटर सेवा सञ्चालन हुन नसकेको बताउँछन् ।

अस्पतालको आइसीयुमा सेवाग्राही बनेर हाम्रो डक्टर संवाददाता पुग्दा डिउटीमा रहेका नर्सहरु भेन्टिलेटर भएपनि सञ्चालनमा आउन नसकेको बताए ।आइसीयु सेवा सुचारु गरिसकेपछि भेन्टिलेटर जडान गर्नुपर्ने हो । तर अञ्चल अस्पताले भने भेन्टीलेटरमा राख्नुपर्ने विरामी आए अन्यन्त्र रिफर गर्ने गरेका छन् । निजी अस्पताल सञ्चालकहरुको आ– आफ्नो स्वार्थका कारण भेन्टिलेर सेवा सञ्चालन हुन नसकेको स्रोतले बतायो ।  अञ्चल अस्पतालका डाक्टरहरुले निजी अस्पतालमा पनि सेवा दिने भएकाले भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने विरामीहरुलाई आ–आफनो अस्पतालमा रिफर गर्ने गरेको स्रोतले बतायो । स्रोतको अनुसार डाक्टरहरुको निजी अस्पतालका सञ्चालक भएकै कारण भेन्टिलेटर सञ्चालन हुन नसकेको हो ।

तर, मेसु पोखरेलले भने जनशक्ति मुख्य समस्या रहेको बताउँछन् । भेन्टीलेटर सञ्चालन गर्ने हुँदा त्यही  बिषयको डाक्टर आवश्यक पर्ने भएपनि अहिले जनशक्ति व्यावस्थापन गर्न नसकिएको उनको भनाई छ । अञ्चल अस्पतालको आइसीयु इन्चार्ज डा. दिपक सिग्देल हुन् । उनकै रोहवरमा सञ्चालन हुनु पर्ने हो भेण्टीलेटर सेवा तर विडम्बना आवश्यक पूर्वाधार उपकरण तयार भएपनि सञ्चालन हुन सकेको छैन ।

अस्पतालको नाम            –   दैनिक भेन्टीलेटर चार्ज 
नोवेल मेडिकल कलेज     –        ७७००
विपिकेएचएस धरान                  ३५००
विराटनगर अस्पताल                 १५२५० 
गोल्डेन अस्पताल                      १३०००
न्यूरो अस्पताल                         १३,०००
सप्तकोशी नसिंङहोम               ११०००
मोरङ सहकारी अस्पताल          ११०००
आर के चिल्डेन हस्पिटल           १४०००
हाम्रो अस्पताल                       ११६००
म्याक्स ट्रमा सेन्टर                   ९०००
कोशी अञ्चल अस्पताल           १००० (आइसियु)

नोट : निर्धारित शुल्क डाक्टर चार्ज बाहेकका हुन । 

Last modified on 2017-08-24 06:58:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts