ठूला मेडिकल कलेजसँगै छैन अस्पताल सञ्चालनको स्वीकृती

स्वीकृती नलिई सञ्चालित अस्पतालको सूचीसहित



Download our app to get more features

काठमाडौं, १८ भदौ । देशका अधिकांश ठूला मेडिकल कलेजले स्वास्थ्य मन्त्रालयको स्वीकृती विनै अस्पताल सञ्चालन गरिरहेका छन् । चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र बीएण्डसी मेडिकल कलेज बाहेक अन्य मेडिकल कलेजले दुई सय शय्या भन्दा बढी सञ्चालनको स्वीकृती लिएका छैनन् । तर, बर्षैदेखि निर्धक्कसँग पाँच सय भन्दा बाढी शय्याको अस्पताल सञ्चालन गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा. भोला श्रेष्ठले तीन वटा बाहेक अन्य मेडिकल कलेजले अस्पताल सञ्चालनको स्वीकृती नै नपाएको बताए । ‘धेरै मेडिकल कलेजले मापदण्ड विपरित अस्पताल सञ्चालन गरिरहेका छन्, उनीहरूको अनुगमन गरी बन्द गर्ने तयारी गरिरहेका छौं ।’ डा. श्रेष्ठले भने । 

केही समय अगाडी स्वास्थ्य मन्त्रालयले उपत्यका र उपत्यका बाहिरका क्लिनिक दर्ता नभएको भन्दै बन्द गर्यो । तर, वर्षौदेखि दर्ता नै नभई ठूला मेडिकल कलेजले अस्पताल संचालन गरिरहदा पनि स्वास्थ्य मन्त्रालयको भने आँखा पुगेको छैन् । मन्त्रालयबाट स्वीकृती लिएर सञ्चालनमा रहेको चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र बीएण्डसी मेडिकल कलेजले क्रमशः सात सय ५७, तीन सय र तीन सय शय्याको स्वीकृती पाएका छन् । केही कलेजले स्वीकृतीका लागि मन्त्रालयमा निवेदन दिएका छन् । तर, उनीहरूको मापदण्ड नपुग्दा स्वीकृती नपाएको मन्त्रालयले जनाएको छ । तर ती कलेजहरूले मन्त्रालयको स्वीकृती विनै अस्पताल सञ्चालन गरिरहेका छन् । 

तीन वटाले निवेदन नै दिएका छैनन्
स्वास्थ्य मन्त्रालयका अनुसार तीन वटा ठूला मेडिकल कलेजले अस्पताल सञ्चालनका लागि अहिलेसम्म निवेदन समेत दिएका छैनन् । नेपाल मेडिकल कलेज जोरपाटी, कलेज अफ मेडिकल साइन्सेज चितवन र नेशनल मेडिकल कलेज विरगन्जले अस्पताल  दर्ताका लागि निवेदन नै दिएका छैनन् । अस्पताल सञ्चालनको अनुमति पाइनसके पनि यी कलेजले एक सय १५ विद्यार्थी पढाउन भने अनुमति पाएका छन् । एक सय १५ विद्यार्थी पढाउन नियम अनुसार कम्तीमा पनि पाँच सय ४५ शय्याको स्वीकृती लिएको हुनु पर्छ । कलेज अफ मेडिकल साइन्सेज चितवनले हालसम्म मन्त्रालयमा स्वीकृतीका लागि निवेदन नदिए पनि नेपाल मेडिकल काउन्सिलमा भने सात सय ५० शैया सञ्चालन गरेको उल्लेख छ । 

मापदण्ड विपरीत संचालन
सुशासन ऐन २०६४ अनुसार स्वास्थ्य मन्त्रालयले ७ पुस ०७० मा जारी गरेकोे स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशीकामा सबै निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई सञ्चालन स्वीकृती तथा अनिवार्य नवीकरण गर्नु पर्ने बाध्यकारी व्यवस्था छ । तर, अधिकांश कलेजले मन्त्रालयबाट स्वीकृती नलिई निर्देशीका विपरित सञ्चालन गरिरहेका छन् । अन्य कलेज तथा अस्पतालले पनि थोरै शय्या स्वीकृति लिएर धेरै शय्यामा अस्पताल संचालन गरिरहेका छन् । निर्देशीकाले दुई सय शय्यामाथि संचालन भएका स्वास्थ्य संस्थाले अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयबाट स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ । तर, हाल संचालनमा रहेका तीन वटा बाहेक अन्य मेडिकल कलेजले स्वीकृती नै नपाएको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा. भोला श्रेष्ठले बताए । 

यी हुन् अस्पताल सञ्चालनको स्वीकृति नपाएका मेडिकल कलेज
काठमाडांै मेडिकल कलेज, मणीपाल मेडिकल कलेज पोखरा, काठमाडौं विश्वविद्यालको मेडिकल कलेज (धुलिखेत अस्पताल ), यूनिर्भसल मेडिकल कलेज भैरहवा, नेपाल मेडिकल कलेज जोरपाटी, नेपालगञ्ज मेडिकल कलेज, कलेज आफ मेडिकल साइन्सेज चितवन,  जानकी मेडिकल कलेज जनकपुर, नेशनल मेडिकल कलेज वीरगंज, कान्तिपुर डेन्टल कलेज, पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले अझैसम्म पनि अस्पताल सञ्चालनको स्वीकृती पाएका छैनन् । 

मन्त्रालयको स्वीकृती विनै अस्पताल सञ्चालन गरे पनि कलेजहरूले नेपाल मेडिकल काउन्सिलमा भने अस्पताल सञ्चालन गरेको शय्या संख्या भने उल्लेख गरेका छन् । जसमध्ये काठमाडौं मेडिकल कलेजले सात सय ५०, केयुले चार सय ४०, युनिर्भशल मेडिकल कलेजले सात सय ६२, नेपालगंज मेडिकल कलेजले सात सय ७५, कलेज अफ मेडिकल साइन्सेजले सात सय ५०, जानकी मेडिकल कलेजले सात सय ३७, पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले एक सय, कान्तिपुर डेन्टलले एक सय शय्या सञ्चालन गरिरहेको उल्लेख गरेका छन् । 

स्वीकृती पाएकामा पनि शय्या धेरै
कतिपय मेडिकल कलेजले अस्पताल सञ्चालनका लागि पाएको स्वीकृती शय्या संख्या भन्दा धेरै सञ्चालन गरेका छन् । किष्ट मेडिकल कलेजले एक सय शय्या सञ्चालनको स्वीकृती पाए पनि सात सय ५० शय्या सञ्चालन गरिरहेको छ । यस्तै नोबल मेडिकल कलेजले सात सय ५०, देवदह मेडिकल कलेजले तीन सय ८१ शैय्या राखेको छ । गण्डकी मेडिकल कलेजले तीन सय शय्याको स्वीकृती लिई पाँच सय ३९ शय्या सञ्चालन गरिरहेको छ । 

स्वास्थ्य मन्त्रालयबाट मेडिकल कलेजले पाएको स्वीकृत शय्या संख्या र मेडिकल काउन्सिलमा हाल संचालनमा रहेको भनेर बुझाएको शय्या संख्या

 

Last modified on 2017-09-04 11:19:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts