निःशुल्क घोषणापछि भल्भको शल्यक्रिया गर्ने बाथ मुटुरोगी बढे

६ महिनामा तीन सय ८५ बाथ मुटुरोगीको भल्भको शल्यक्रिया



Download our app to get more features

काठमाडौं, १९ भदौ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ६ महिनामा तीन सय ८५ बाथ मुटुरोगीको भल्भको निःशुल्क शल्यक्रिया गरेको छ । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बाथ मुटुरोगीको भल्भको निःशुल्क शल्यक्रियाको घोषणापछि अस्पताल आउने बिरामी बढेका हुन् । गत १ फागुनदेखि तत्कालिन स्वास्थ्यमन्त्री थापाले बाथमुटुरोगीको निःशुल्क शल्यक्रियाको घोषणा गरेका थिए । 

बाथ मुटुरोगले मुटुको भल्भलाई असर गर्ने हुँदा शल्यक्रियाबाट ठीक गर्न मुटुुको भल्भ फेर्नु पर्छ । अघिल्लो वर्षसम्म गंगालाल हृदय केन्द्रमा वार्षिक चार सय हाराहारीको मुटुको भल्भको शल्यक्रिया हुने गरेको थियो । तर, सरकारले भल्भको निःशुल्क शल्यक्रिया गर्ने व्यवस्थाछि ६ महिनामा नै करिब चार सयको हाराहारीमा शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार निःशुल्क शल्यक्रिया हुनु पुर्व अवस्था हरेर डेढ लाख देखि चार लाखसम्म शुल्क लाग्ने गर्दथ्यो । 

अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काका अनुसार गत फागुनदेखि साउनसम्ममा एक सय ९५ पुरुष र एक सय ९० महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ । उनका अनुसार फागुन महिनामा ६६, चैतमा ५६, बैशाखमा ७१, जेठमा ५६, असारमा ६२ र साउन महिनामा ७२ जनाको शल्यक्रिया भएको थियो ।

बाथ मुटुरोगीको भल्भको निःशुल्क उपचार र प्रारम्भिक अवस्थामा यसको रोकथामका लागि सरकारले औषधि निःशुल्क दिने भने पनि गंगालाल हृदय केन्द्रमा सम्पूर्ण उपचार नै निःशुल्क हुने भन्दै बिरामी पुग्ने गरेका छन् ।  

के हो बाथ मुटुरोग ?  
स्कूल जाने ५ देखि १५ वर्ष उमेरका बालबालिकामा बारम्बार दोहोरिने टन्सिलाइटिस वा फ्यारिन्जाइटिसले बालबालिकामा बाथ ज्वरो र बाथ मटु रोग निम्त्याउँछ । घाँटीको सामान्य इन्फेक्सनबाट सुरु हुने बाथ ज्वरोबाट बाथ मुटुरोग भएर जीवनभर उपचार वा मृत्यु कै कारण बन्न सक्ने गंगालाल अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्माले बताए । बालबालिकामा दोहोरिरहने ज्वरो र घाँटीको दुखाईलाई सामान्य रुपमा लिन नहुने डा. शर्माको सुझाब छ । ‘ग्रुप ए बिटा हेमोलाइटिक स्टेप्टोकोकस’ नामक किटाणुको संक्रमण सुरु भई घाँटी दुख्ने, ज्वरो आउने, ५ देखि ७ दिनमा आफै ठीक भएर जाने हुन्छ । त्यसपछि एकदेखि चार हप्तापछि फेरी ज्वरो आउने हुन्छ । यसरी ज्वरो फर्किएर आउँदा हातखुट्टा तथा जोर्नी दुख्ने र सुन्निने हुन्छ । यसरी आउने ज्वरोलाई बाथ ज्वरो भनिन्छ । यसले कहिलेकाही मुटुमा समेत असर गर्छ । 

बाथ ज्वरो आएमा सबैलाई बाथ मुटु रोग नलाग्ने डा. शर्माले जानकारी दिए । उनका अनुसार ‘ग्रुप ए बिटा हेमोलाइटिक स्टेप्टोकोकस’ नामक किटाणुको संक्रमण भएको तीन प्रतिशतमा बाथ ज्वरो हुने र बाथ ज्वरो भएका मध्ये ५० प्रतिशतमा मुटुको भल्भमा असर गर्छ । बाथ ज्वरोको आक्रमण बढ्दै जाँदा हात खुट्टा, जोर्नी दुख्ने, पछि गएर मुटुको भल्भ सुन्निने, भल्भ साँघुरो हुने र मुटु सुन्निने हुन्छ । 

कसरी बच्ने ?  
यसबाट बच्न बालबालिका खेल्ने वातावरण सफा हुनुपर्छ, चिसो तथा गुम्सिएको स्थानमा उनीहरूलाई नराख्ने, स्कूलका कक्षाकोठा घाम लाग्ने र राम्रोसँग हावा खेल्ने हुनुपर्छ, घरमा भेन्टिलेसनको राम्रो व्यवस्था हुनुपर्ने डा. शर्माको सुझाब छ । यसका लागि बालबालिकालाई चिसो तथा गुम्सिएको स्थानमा राख्नु हुँदैन । यदि घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल भएमा तुरुन्त जाँच गराउँनुपर्छ । 

रोकथाम
स्कूल जाने ५ देखि १५ वर्ष उमेरका बालबालिकामा बारम्बार दोहोरिने टन्सिलाइटिस वा फ्यारिन्जाइटिस, घाँटी दुख्ने समस्या भएमा समयमै उपचार गर्न सुझाउँछन् डा. शर्मा । बाथ ज्वरो हुने सम्भावनालाई रोक्नु नै यसबाट बच्ने प्रमुख उपाय हो । साथै समयमै इन्फेक्सन पत्ता लगाई एन्टिबायोटिक वा पेन्सिलीन सुई लगाई यसबाट बच्न सकिन्छ । तर, बाथ ज्वरो लागिसकेको भए पेन्सिलीन सुई हरेक ३÷३ हप्तामा लगाउनु पर्ने डा. शर्माले बताए । यदि बाथ ज्वरोले मुटुको भल्भ साँघुरो पारेमा खुकुलो पार्न शल्यक्रिया नै गर्नुपर्छ । साथै भल्भ बिग्रिएमा कृत्रिम भल्भ राख्नुपर्ने हुन्छ । डा. शर्माका अनुसार सबै बिरामीको लागि शल्यक्रिया आवश्यक नहुन पनि सक्छ ।

Last modified on 2017-09-04 16:40:57

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts