EXCLUSIVE (भाग- १)

त्रिवि शिक्षण अस्पतालबाटै मिर्गौला तस्करी 

फर्जी नागरिकता बनाई नाता प्रमाणित



Download our app to get more features

काठमाण्डौ, २२ भदौ ।  त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भित्रैबाट अवैध रुपमा मिर्गौला कारोबार हुने गरेको खुलेको छ । हाम्रो डक्टरको अण्डर कभर रिर्पोटिङबाट त्रिवि शिक्षण अस्पालबाटै मिर्गाैला तस्करी भएको खुलासा भएको हो । 

म्याग्दीको बेनी नगरपालिका–११ का नविन खत्रीको मिर्गौला काठमाडांै म्हैपी बस्ने शम्भुलाल श्रेष्ठले अवैध ढंगबाट खरिद गरी प्रत्यारोपण गरेको फेला परेको छ । कानुन अनुसार मिर्गौला प्रत्यारोपण गर्न मानव अंग प्रत्यारोपण ऐन छ । जसअनुसार आफन्त बाहेक (परिवारका सदस्य, नजिकको नातेदार, दुई या दुई भन्दा बढी परिवारका सदस्यका नजिका नातेदार, धर्मपुत्र धर्मपुत्री र मस्तिष्क मृत्यु भएका जो कसैको) का अन्य व्यक्तिले मिर्गौला लिन, दिन पाईदैन । तर, खत्रीको मिर्गौला श्रेष्ठलाई बेच्न दलाल र त्रिवि शिक्षण अस्पताल प्रशासनका दुई कर्मचारीको मिलेमतो रहेको देखिएको छ । यस क्रममा दलालले नविन खत्रीको थर परिवर्तन गरेर श्रेष्ठ बनाउन फर्जी नागरिकता बनाए । फर्जी नागरिकताको विषयलाई लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ । 

मिर्गौला निकालेपछि शिक्षण अस्पतालले दिएको डिस्चार्ज पेपर (नविन श्रेष्ठ बनाइएको छ) र मिर्गौला नभएको भनि चितवन मेडिकल कलेजले दिएको रिपोर्ट जसमा नविन खत्री उल्लेख छ । 

दलालमार्फत मिर्गौला बिक्री
पोखरामा डेरा गरी बस्ने नारायण जिसीसँग नविन खत्रीको पोखरामा चिनजान भयो । खत्री पोखरामा एक वर्षदेखि घर बनाउने काम गर्दै आएका थिए । उनी घरबाट कसैलाई खबर नगरी भागेर पोखरा पुगेका थिए । खत्री भन्छन्, ‘नारायणसँग रक्सी खाँदाखादै चिनजान भएको थियो । एकदिन उसले एउटा स्याउ दिनुस्, १० लाख दिन्छु र गाडी लोन (ऋण) मा निकालिदिन्छु भनेर भन्यो ।’ तस्करले मिर्गौलालाई स्याउ भनेर संकेत गरेका थिए ।  

२८ भदौ ०७३ मा नविनलाई नारायणले आफ्नो डेरामा लगेर राखे । उनले नविनलाई रक्सी खुवाए । केही दिन आफ्नो डेरामा राखेपछि नविनलाई नारायणले पोखराबाट गाडीमा राखेर काठमाडौं ल्याए । नविन भन्छन्, ‘तस्करले मलाई स्याउ दिएमा १० लाख पाइन्छ भनेका थिए ।’ पोखराबाट कलंकी ल्याएपछि तस्करले उनलाई कंलकी ओराले र त्यहाँको एक होटलमा खाना र रक्सी खुवाए । त्यसै दिन नारायणले भक्तपुर बस्ने प्रकाश बस्नेतलाई फोन गरे । तर, फोन उठेन । भोलीपल्ट नारायणले उनलाई कलंकीबाट गोगंबु बसपार्क पु¥याए । नारायणले प्रकाशलाई त्यहीबाट फोन गरेर मान्छे ल्याइदिसकँे र आउन भने । 

तस्करले उनलाई गोगंबु चोकमा रहेको चिन्तामणीको होटलमा राखे । त्यही होटलमा खाजा खुवाएर नारायणले अर्का तस्कर प्रकाशलाई नविनको जिम्मा लगाए । प्रकाशले गोगंबुमा रहेको म्हैपी मन्दिर नजिकै लगेर शान्ता श्रेष्ठलाई भेटाए । पीडित खत्री भन्छन्, ‘उहाँलाई राम्रोसँग खानपिन गराउनु । रक्सी खुवाउनु । चेकअप गराउनु । काम सकिएपछि मलाई भन्नु भनेर प्रकाशले शान्ताको जिम्मा लगायो ।’ शान्ता नविनको मिर्गौला लिने सम्भुलालको श्रीमती हुन् ।

करिब चार महिनासम्म नविन मिर्गौला लिने सम्भुलालको म्हेपीस्थित घरमै बसे । यसैक्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मिर्गौला प्रत्यारोपण सम्बन्धी निर्णय गर्न बोर्ड बैठक बस्यो । ७ पुस ०७३ मा मिर्गौला दिने र लिने दुबै पक्ष त्रिवि शिक्षण अस्पताल पुगे । उनीहरूले अस्पतालका कर्मचारी कुमार खनाललाई भेटे । कुमारले त्यतिबेला भनेका थिए, ‘उहाँहरु (मिर्गौला लिने पक्ष) को पैसा धेरै खर्च भइसकेको छ । तपाईँले जसरी हुन्छ, दिने काम गर्नुस् । एउटा मिर्गौला दिएर केही हुँदैन । दुई महिनासम्ममा ढुङ्गा फोरर खान सकिन्छ ।’

यसरी जोडियो अस्पताल
भोलीपल्ट अर्थात ८ पुषमा अस्पतालको बोर्ड बैठक बस्यो । बैठकमा मिर्गौला लिने र दिने दुवै पक्षलाई बोलाइयो । तर, मिर्गौला लिने शम्भुलाल श्रेष्ठ र दिने नविन खत्री भएकाले तस्करले नविनको थर परिवर्तन गरी नक्कली नागरिकता बनाए । केन्द्रीय अनुशन्धान ब्यूरो (सिआईबी) को प्रारम्भिक अनुसन्धानबाट नक्कली नागरिकता जिल्ला प्रशासनबाट नभई अन्यत्रैबाट बनेको खुलेको छ । अस्पतालको सामाजिक सेवा इकाईमा कार्यरत कर्मचारी कुमार खनालले अस्पतालको बोर्ड बैठकमा नाता सोधेँ दाई–भाई भन्न सिकाए । बोर्ड बैठकमा सबैभन्दा पहिले मिर्गौला लिने सम्भुलाल र उनका आफन्त गए । अन्तिममा नविनको पालो आयो । ‘बोर्ड बैठकमा चार जना कालो कोट लगाएका व्यक्ति थिए । तीनै मध्ये छेऊमा कुमार खनाल पनि बसेका थिए । तपाईं सम्भुको भाई हो की होइन नढाँटी भन्नुस् भने । मैले हो भने ।’ नविनलाई अस्पताल बोर्डले गर्ने काम बारेमा जानकारी लिएको थियो । सामान्य सोधपुछ पछी अस्पताल बोर्डले नाता रहेको जनाउने गरि कागजमा हस्ताक्षर गर्न लगायो । 

पीडित र दलालले अस्पतालमा सेटिंग मिलाउने भनेर आरोप लगाएका अस्पतालका कर्मचारी

बोर्ड बैठकपछी उनलाई मिर्गौला दिने र लिने बीचको पारिवारिक नाता भए÷नभएको पुष्टि गर्न आवश्यक मेडिकल जाँच गर्न लगाइयो । नाता प्रमाणित गर्न उनले ६० हजार खर्चेर स्वास्थ्य परीक्षण गरे । स्वास्थ्य परीक्षणपछि उनी त्रिवि शिक्षण अस्पतालका डा. रविन्द्र नेपाली कहाँ गए । उनको रिपोर्ट हेरेपछि डा. नेपालीले भने, ‘तपार्इंको हुलिया हेर्दा मिर्गाैला लिने व्यक्तिसँग मिल्दैन । तर, मिर्गाैला प्रयारोपण गर्न मेडिकल बोर्डबाट पास भएर आइसकेछ ।’ डा. नेपाली प्रत्यारोपणको मिति तय गर्ने वा नगर्नेमा अलमलमा परे । त्यतिबेला मिर्गौला लिने व्यक्ति सम्भुलालले डा. नेपालीलाई जसरी पनि मिलाईदिन भने । र, अन्त्यमा डा. नेपालीले मिर्गौला प्रत्यारोपणका लागि २० पुषको मिति तोकिदिए । 

‘भाग्न खोज्दा दलालले धम्काए’
नविनले प्रत्यारोपण नगर्र्दै भाग्ने सोँच पनि बनाएका थिए । तर, तस्कर प्रकाशले भागेमा झन् समस्यामा पर्ने भन्दै धम्काए । धम्कीपछी उनी डराए र भाग्नभन्दा अप्रेशन गर्ने सोच बनाए । सम्भुलालले नविनलाई बिहान पाँच बजे नै अप्रेशनका लागि टिचिङ अस्पताल लगे । उनको बिहान ९ बजेबाट अप्रेशन शुरु भएको र दिउँसो तीन बजे होस् आयो । ‘चार बजे मैले मान्छे चिन्न थाले । म पहिलेको जस्तंै भए ।’ उनले भने । अस्पतालले नविनलाई २३ र सम्भुलाललाई २५ पुषमा डिस्चार्ज ग¥यो । अस्पतालबाट निस्केपछि नविन सम्भुलालको घरमा एक साता बसे । सम्भुलालले तस्कर प्रकाशलाई बोलाए । प्रकाश सम्भुको घरमा आए र, पैसा झोलामा हालेर नविनलाई दिए । ‘सम्भुलालले पैसा पट्टाउने र प्रकाशले झोलामा पैसा राख्ने काम गरे ।’ उनले भने । 

पुरै रकम नदिएपछि घटना सार्वजनिक
मिर्गौला बेच्ने पक्ष नविनलाई तस्कर प्रकाश बस्नेतले कबुल गरेको १० लाख रकम र गाडी नदिएर एक लाख २५ हजार मात्रै दिएकाले घटना सार्वजनिक भएको हो । ‘हाम्रो डक्टर’ टिमको स्टीङ अपरेशनमा तस्कर प्रकाश बस्नेतले मिर्गौला लिने पक्षबाट लिएको रकम मध्ये डेढ लाख त्रिवि शिक्षण अस्पताल प्रशासनका कर्मचारी धनबहादुर गुरुङ र कुमार खनाललाई आठ हजार दिएको बताएका छन् । मिर्गौला दिने नविनले पनि अस्पताल प्रशासनका गुरुङ र खनालले पैसा लिएर फर्जी कागजातलाई सेटिङ मिलाएर सही बनाएको बताएका छन् । 

यसो भन्छन् अस्पतालका निर्देशक

यस विषयमा अस्पतालका निर्देशक डा. दीपकप्रकाश महरासँग बुझ्दा उनले अनभिज्ञता प्रकट गरे । उनले प्रशासनसँग बुझेरमात्र बाँकी जानकारी दिन सकिने बताए । यस काण्डमा मुछिएकामध्येका एक कुमार खनाल त्यतिबेला सामाजिक सेवा ईकाइका फोकल पर्सन रहेको उनले पुष्टि गरे । यद्यपी खनाललाई अहिले आन्तरिक रुपमा सरुवा गरिएको तर किन गरिएको आफुलाई थाहा नभएको उनको भनाइ छ । 

(दलाल र पीडित नविन खत्रीबीच भएको कुराकानीको प्रमाण हामीसँग सुरक्षीत छ ।)

यो पनि पढ्नुहोस्

मिर्गौला तस्करी काण्ड-भाग २: मिर्गौला दलाल बस्नेत भन्छन्ः नौ लाख म आफैले बुझेँ र बाँडे [ पीडितलाई एक लाख २५ हजार मात्रै ]

सिआईबी भन्छ : मिर्गौला तस्करी भएकै हो

 

Last modified on 2017-09-10 12:28:21

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts