ओम अस्पतालको चरम लापरवाही,अस्पतालभित्रकै संक्रमणले बिरामीको मृत्यु



Download our app to get more features

काठमाडौं, २९ भदौं । अप्रेशनको समयमा सफा औजारको प्रयोग नगर्दा ओम अस्पतालमा एक महिलाले मृत्यु भएको छ ।

नाकमा सामान्य मासु पलाएर अप्रेशन गर्न ओम अस्पतालमा भर्ना भएकी गुल्मीकी ३९ बर्षीया कमला भट्टराईको संक्रमणका कारण बुधबार मृत्यु भएको थियो । 

कमलाको गत २४ भदौमा डाक्टर राजेन्द्र गुरागाईले अप्रेशन गरेका थिए । ‘अप्रेशन सामान्य हो ।’ डा. गुरागाईले भने, ‘अचानक उनमा संक्रमण फैलियो । हामीले बचाउन सकेनौं ।’ अप्रेशनमा कुनै समस्या नआएको डा. गुरागाईको दावी छ । अप्रेशन सकिएपछि कमलालाई पोष्ट आप्रेटिभ वार्डमा सारिएको थियो । त्यहीबाट संक्रमण फैलिएको डा. गुरागाईको भनाई छ । 

अस्पताल प्रशासनले भने बिरामीमा अरु नै रोग भई अप्रेशनका बेला हृदयघात भएको बताउँदै आएको मृतकका भाई तिर्थ अर्यालले बताए । तर, अप्रेशनमा सहभागी चिकित्सक गुरागाईले भने सरसफाईको कमी र वार्डमा प्रदुषणका कारण संक्रमण भएको बताए । ‘राम्रो सरसफाई पनि भएन, वातावरण पनि ठीक छैन । खानपान राम्रो छैन, जसका कारण कमलामा संक्रमण फैलिएको हुनसक्छ ।’

सेप्टेरोमिया नामक संक्रमणका कारण कमलाको शरीरका सबै अंग बिग्रिसकेको थियो । ‘संक्रमण भएको थाहा पाउनासाथ बिरामीको उपचार सुरु गयौं ।’ डा. गुरागाईले भने, ‘आवश्यक उपचार गर्दागर्दै बचाउन सकिएन । उनको रगतमा पुरै संक्रमण फैलिसकेछ ।’

चिकित्सकका अनुसार संक्रमण भएको खण्डमा मानिसको मिर्गौला, मुटु, कलेजोले नियमीत जस्तो काम गर्न छाड्छ ।

सार्वजनिक रुपमा माफी माग्नु पर्छ : पीडित परिवार
मृतक कमलाका अफन्तले अस्पतालले सार्वजनिक रुपमा माफी माग्नु पर्ने माग गर्दै आएका छन् । ‘नाकमा पलाएको सानो मासु निकाल्न गएका हौं ।’ मृतकका भाई तिर्थले भने, ‘चिकित्सकले नै सामान्य भनेको अप्रेशनले कसरी मृत्यु हुन्छ । यो अस्पतालको चरम लापरवाही हो । ओम अस्पताललाई कारवाही गर्नुपर्छ ।’ मृत्युको जानकारी पाएसँगै आफन्तले बुधबार दिनभर अस्पताल परिसरमा विरोध प्रर्दशन गरेका थिए । उनीहरूले आर्थिक रुपमा क्षतिपुर्ति नमागी अप्रेशनमा शंका व्यक्त गर्दै अप्रेशन गर्दाको भिडियो देखाउन आग्रह गरेका छन् । तर, भिडियो देखाउन अस्पताल प्रशासन राजी भएको छैन । 

गल्ती देखिए कानुन अनुसार कारवाही : मन्त्रालय 
ओम अस्पतालमा भएको घटनालाई लिएर स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयका डाक्टर विनोदमान सिंहको नेतृत्वमा ७ सदसीय समिति गठन गरेर बुधबारबाटै अध्यन सुरु गरेको चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले जानकारी दिए । 

Last modified on 2017-09-15 09:33:01

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Basanta kumar Acharyaon Fri, Sep 15 2017 05:32 PM

    Chhanbin gari dosi mathi karbahi prakriya agadi badhaunu parx MOHP


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts