स्वास्थ्यमन्त्रीको निर्देशनपछि 'मृगौला प्रत्यारोपण' गर्ने तयारीमा 'भरतपुर अस्पताल'

कूल जनसंख्याको १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या



Download our app to get more features


चितवन, ८ असोज (रासस) : पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ । 

कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुने गरेको बताइन्छ । तिनीहरुमध्ये नेपालमा वर्षमा करिब तीन हजारलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । 
राजधानीका चार अस्पतालले मिर्गौला प्रत्यारोपण गर्दै आएको भए पनि राजधानी बाहिर हालसम्म प्रत्यारोपणको काम नियमित भएको छैन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेल राजधानी बाहिर प्रत्यारोपण केन्द्र बनाउनुपर्छ भन्ने पक्षमा रहेका छन् । पोख्रेलकै निर्देशनमा भरतपुर अस्पताल विकास समितिले प्रत्यारोपण केन्द्र स्थापना गर्न प्रस्ताव अघि बढाउने निर्णयसमेत गरेको छ । 

राजधानीमा सरकारी तवरबाट मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालमा प्रत्यारोपणको काम हुँदै आएको छ । निजी क्षेत्रमा ग्र्याण्डी अस्पतालले प्रत्यारोपण गर्दै आएको छ । सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु पाँच लाख ५० हजार अनुदान दिँदै आएको छ ।स्थापना र पहिलो वर्षको खर्च सरकारी तबरबाट उपलब्ध गराएमा अस्पतालले प्रत्यारोपणको कामलाई निरन्तरता दिन सक्ने मरासिनीले बताए ।  

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने शल्यक्रिया कक्ष अस्पतालमा भएको भन्दै उनले चिकित्सकको समूह र आवश्यक औजार जुटाएसँगै प्रत्यारोपण गर्न सकिने बताए ।  सामान्यरुपमा प्रत्यारोपण शुरु गर्न करिब रु चार करोड खर्च लाग्ने भए पनि उच्चस्तरको व्यवस्थापन गरी काम गर्न करिब रु १३ करोड खर्च हुने अनुमान गरिएको छ । भरतपुर अस्पतालले गत महिनाबाट मिर्गौलाको डायलासिस गर्दै आएको छ । डायलासिस गरेका बिरामीको अन्तिम उपचार मिर्गौला प्रत्यारोपण नै हो ।

हरेक वर्ष चितवन र छिमेकी जिल्लाबाट आउने झण्डै दुई लाख बिरामीलाई सेवा दिँदै आएको भरतपुर अस्पतालमा यसै वर्षबाट न्यूरो सर्जरी, कार्डियो थेरापी सर्जरी, सिटिस्क्यान, उच्चस्तरको बाल सघन उपचार कक्षसमेत सञ्चालनमा ल्याइएको छ । 
 

Last modified on 2017-09-24 09:59:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts