यस्तो छ बिशेषज्ञ चिकित्सकहरूको दशैं योजना



Download our app to get more features

दशैंको रमझम प्रायः सबै नेपालीको घरघरमा सुरु भइसकेको छ । यो रमझमबाट चिकित्सा पेशामा लागेकाहरू अछुतो रहने कुरै भएन । कतिपय चिकित्सकले यो अवधिलाई बाहिरफेर घुम्ने अवसरका रुपमा लिन्छन भने कतिपयले केही नयाँ काम थाल्न गरेका छन् । अन्य बेला अत्यन्तै व्यस्त रहने बिशेषज्ञ चिकित्सकहरूले पनि यो बेला अलि फुर्सद पाउने गरेका छन् । लामो समयसम्म बिदा हुने र अस्पताल क्लिनकमा बिरामीको चाप पनि कम हुने हुँदा उनीहरूको दशैँ कस्तो होला सबैको चासो हुन्छ । जानौ यो दशैंमा विशेषज्ञ चिकित्सकहरू के गर्दैछन् :-

दशैँको बेला पदयात्रामा जान्छु
डा.भगवान कोइराला (कार्डियोलोजिस्ट)

यसपालि दशैं मनाउन नपाउने भएको छु । जूठो परेको छ । तर पनि यो दशैंलाई रमाइलो बनाउन हिमाली क्षेत्रको यात्रातिर जाने सोँचमा छु । अरु त सबै त्यस्तै हो ।

आफन्तहरूसँग दशैं मनाउने साँच छ
डा.भोला रिजाल (गाइनोकोलोजिस्ट)

निकै नै व्यस्तताका कारण यसपटक एक दिन पनि शक्तिपीठमा गएर पूजापाठ गर्न सकेको छैन् । फुलपातीदेखि बल्ल फुर्सद हुने भएको छ । त्यसपछि परिवारका सदस्यहरुसँग मन्दिर गएर दुर्गा भवानीको पूजापाठ गर्छु । दशैंमा रमाइलो भन्दा पनि बिरामीको सेवा गर्नु पहिलो धर्म भएकाले काम आइपरे काम गर्दै घरमै आफन्तहरूसँग दशैं मनाउने सोँच छ । अनि अर्को मुख्य कुरा भनेको दुई वटा गीत पनि यही बेला सार्वजनिक गर्दैछु । ‘उमेर ढल्दै जाँदा...’ र ‘पाथीभरा माता की जय..’ यो दुवै गीत दर्शक माँझ पस्किने कार्यक्रम बनाएकोे छु । 

परिवारसँग रमाइलो गरेर मनाउँछु
डा. अनन्त श्रेष्ठ  (हेपाटोलोजिष्ट)

यसपालीको दशैँ सामान्य तरीकाले मनाउँदै छु । काठमाडौं क्षेत्रपाटीस्थित घरमा परिवारका सबै सदस्य जम्मा भएर दशैं मनाउने योजना छ । यसपालीको दशैँमा अस्पतालबाट बिदा पनि लिन्न । काठमाडौं बाहिर जाने कुनै तयारी छैन् । चाडपर्वको बेला घरमा पाक्ने परिकार खाँदा विशेष स्वास्थ्यको ख्याल गर्ने गर्छु । मलाई काउलीको तरकारी मनपर्छ । आलुतामा र फ्राई फोक्सो एकदमै मनपर्छ ।  तर, मिठो भयो भन्दैमा धेरै खाँदिन । 

दशैंभर हरेक दिन कम्तीमा एक पटक अवश्य पनि अस्पताल पुग्छु र बिरामीलाई भेट्छु । अस्पतालमा अरु डाक्टर भए पनि म बिदा लिएर बस्दिन । 

बिरामीसँगै हुन्छु 
डा. सुनिलराजा मान्नधर  (बालरोग विशेषज्ञ, केएमसी अस्पताल)

यसपालीको दशैं काठमाडौंमै मनाउने विचार छ । उपत्यकाबाहिर जादिन । हरेक दिन अस्पताल जान्छु र कामपछि बाँकी रहेको समय परिवारसँगै बिताउँछु । नेवार समुदायमा दशैंको बेला हुने महाअष्टमी भोज मन पर्छ । उक्त भोजमा सामेल हुन्छु । दशैंको बेला सबैको घरमा मासुका परिकार धेरै पाक्ने गरे पनि मेरो घरमा थोरै मात्रामा मात्र पाक्छ । घरमा सबैले मासु नखाने हुँदा भान्सामा सागसब्जी बढी पाक्छ । 

काठमाडौंको लगनखेलस्थित घरमा दशमी दिन टिका लगाएर घरका सबै बालबच्चालाई घुमाउन लाने योजना छ । बाबा आमा र ससुराली घरमा गएर थाप्ने योजना छ । 
एक वर्ष भन्दा कम उमेरका बच्चालाई मासु नदिदा राम्रो हुन्छ । दिए पनि चिल्लो, पिरो कम भएको, राम्रोसँग पाकेको मासु मात्र दिनुपर्छ । बच्चाका लागि समय अनुकुलका फलफुल खावाउनु राम्रो हुन्छ । सकेसम्म बच्चाहरूलाई लिटो नै खुवाउँदा उत्तम हुन्छ । 

नयाँ योजना छैन
डा. ऋषि विष्ट (सिनियर, कन्सल्टेन्ड, अर्थाेपेडिक सर्जन)

यसपालीको दशैंमा खासै नयाँ योजना छैन । अस्पतालमा नियमित जान्छु । नवमीको दिन एक दिन बिदा बस्छु । बागडोल ललितपुरस्थित घरैमा दशैं मनाउने सोच छ । दशैं मेरा दिन सामान्य हुन्छ । अरु कुनै नयाँ योजना छैन । दशैंमा बाबाममीलगायत मान्यजनबाट टिका थाप्छु यत्ति नै हो । 
दशैंको बेला घरमा विभिन्न परिकार पाके पनि खानपानमा जहिले पनि सचेत हुन्छु । कहिले पनि जंकफुड सेवन गर्दिन । चाडवर्पमा जे जति खाए पनि स्वास्थ्यलाई ख्याल गर्न सबैलाई सुझाब दिन्छु साथै नियमित व्याम गर्न नछुटाउनु होला । 

दशैंमा अर्घाखाँची जाने योजना थियो तर सफल भएन 
डा. जया सत्याल  (आयुर्वेदिक चिकित्सक)

दशैं अर्घाखाँची मनाउने योजना थियो तर सफल भएन । म तीन वर्षपछि घर जान लागेकी थिए । यसपालीको दशंैमा फुलपातीदेखि पाँच दिन बिदा बस्छु । यो बिदाको सदुपयोग गर्दै विभिन्न लेखहरु लेख्ने योजना छ । 
उनले दशैंको बेला खानपानमा विशेष ध्यान दिनुपर्छ । माछामासु धेरै खानाले दीर्घरोगीहरूलाई असर पर्छ । स्वास्थ्यमा असर पर्छ भनेर खादैं नखाने पनि होइन । स्वास्थ्यलाई ध्यान दिदै खादा राम्रो हुन्छ । चाडपर्वमा धेरै रमाइलो गर्ने भनेर पेयपदार्थ जस्तैं अल्कोहल सेवन नगर्नुहोला ।

जन्मथलो जनकपुर जान्छु
डा.अजयकुमार झा (हेमाटोलोजिस्ट)

चिकित्सकहरूको आन्दोलनका कारण प्रायः काम ठप्प नै छ । सरकारले डाक्टरहरूको यो वर्षको दशैं बिगारिदिएको छ । हुन त चिकित्सकको आन्दोलनका कारण दशैं बिदा अघि नै बिदा जस्तैं भएको छ मलाई । पाँच दिनको दशैं बिदामा चितवनको एउटा कार्यक्रममा सहभागी भई टिका थाप्न जन्मथलो जनकपुर जान्छु । 

यो वर्ष मनाउँदिन
डा. प्रकाश विष्ट (न्यूरोलोजिस्ट)

यसपालिको दशैं जूठो परेर नमाउने भए । अरु त खासै त्यस्तो केही छैन ।

आफन्तसँग भेटघाट गरेर मनाउँछु
डा. मिरा ओझा (गाइनोकोलोजिस्ट)

गतवर्ष त काठमाडौं बाहिर गएर दशैं मनाइएको थियो तर, यसपटक काठमाडौँमा नै मनाउने योजना छ । एकदमै तामझाम गरेको मन पर्दैन त्यसैले घरमै र आफन्तहरूसँग टिका थाप्ने, भेटघाट गर्ने कार्यक्रम छ ।


 

Last modified on 2017-09-29 07:16:39

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts