सप्तरी वीरेन्द्रबजारमा दुई महिनादेखि खानेपानी ठप्प हुँदा स्थानीय अशुद्ध पानी पिउन बाध्य



Download our app to get more features

राजविराज (सप्तरी), १८ असोज । सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत वीरेन्द्र बजारमा विगत दुई महिनादेखि खानेपानी ठप्प हुँदा स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् । 

अविरल वर्षासँगै दुई महिना अगाडि आएको भिषण बाढीका कारण त्यहाँको खानेपानी पाइप बगाएपछि खानेपानी ठप्प भएको बताइएको छ । 

उक्त खानेपानीबाट त्यहाँका सयाँै उपभोक्ता पानीको सेवा लिँदै आएका भएपनि सम्बन्धित निकाय मौन बसेका कारण पानीको समस्या हुँदा अहिले अशुद्ध पानी उपभोग गर्न बाध्य भएको स्थानीय बृजमान तामाङले बताए । 

शुद्ध पानी खाने आशामा धारा जडान गर्नका लागि रु एक हजार ५ सय धरौटी र मासिक रु १ सय को दरले मासिक बिल भुक्तानी गरेको भएपनि अहिलेसम्म नियमितरुपमा पानी उपभोग गर्न समेत नपाएको उपभोक्ताले गुनासो गरेका छन् । 

धाराको पाइप आधा फीट गहिराइसम्म बाढीले क्षतिग्रस्त बनाएको र सो पाइप लाइनबाट सवारीसाधन हिँड्दा पाइप फुट्दा खानेपानी अवरुद्ध भएको तामाङले बताए । 

यसबारे जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीलाई जानकारी गराइएको भएपनि हालसम्म कुनै पहल नभएको स्थानीयको गुनासो छ । 

गत असार १७ गते अविरल वर्षासँगै आएको बाढीले वीरेन्द्र बजारमा रहेको सो खानेपानी पाइप बगाएको थियो । 

यसैबीच, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले बगाएको खानेपानी पाइप मर्मतको लागि चाँडै काम शुरु हुने बताए ।

रासस 

Last modified on 2017-10-04 08:07:08

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts