आत्महत्याका घटनामा वृद्धि



Download our app to get more features

बैतडी, १९ असोज । असोज २ गते पुर्चौडी नगरपालिका–३ न्वादेउकी २२ वर्षीया शारदा धामी झुण्डिएको अवस्थामा मृत फेला परिन् । 

यस्तै, असोज १ गते पुर्चौडी–९ तल्लादेहीका ३८ वर्षीय लोगे लुहारले पनि झुण्डिएर आत्महत्या गरे । यसरी बैतडीमा दिनैपिच्छे हुन थालेको आत्महत्याका घटनाले यसको कारण पत्ता लगाउन र त्यसलाई हतोत्साह गर्न जरुरी भएको देखाउँछ । बैतडीमा आत्महत्याको अवस्था डरलाग्दो छ र यो बढ्दो क्रममा रहेको देखिन्छ । चालु आर्थिक वर्षको अहिलेसम्म मात्रै १० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँकले देखाएको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका मुद्दा शाखाका प्रहरी सहायक निरीक्षक करन सिंह धामीका अनुसार पछिल्लो ३ वर्षको तथ्याँक हेर्दा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो क्रममा रहेको भेटिन्छ । आव २०७१÷७२ मा १६ जनाले आत्महत्या गरेकामा २०७२/७३ मा २९ जनाले आत्महत्या गरेको देखिएको छ । गत आव २०७३/७४ मा आत्महत्या गर्नेको सङ्ख्या बढेर ३६ पुगेको उनले बताए । आत्महत्याका घटना बढ्दै गएकाले यसको रोकथामका लागि सबैले सचेतता अपनाउनुपर्नेमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा जोड दिए । 

आत्महत्याका घटना बढ्दै जानाको मुख्य कारण तनावलाई मानिन्छ । तनावमा रहेका व्यक्ति घोरिने, चिट्चिट गर्ने, बेलाबेलामा झस्किने, कसैसँग कुरा नगर्ने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागुपदार्थ सेवन गर्ने लगायतका लक्षण उनीहरुमा देखापर्ने भएकाले यस्तो लक्षण देखिनासाथ चिकित्सकको सल्लाहमा त्यस्तो व्यक्तिलाई सम्झाइबुझाई गर्नुपर्ने तथा एक्लै यताउति जान नदिने प्रहरीको सुझाव रहेको छ । 

साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक हैसियत, मानसिक रोग, मादकपदार्थ सेवन लगायतका कारण पनि मानिसले आत्महत्या गर्ने प्रहरीको अनुसन्धानले देखाएको छ । बैतडीमा आत्महत्याको अवस्था डरलाग्दो भएकाले तत्काल त्यसको कारण पत्ता लगाई न्यूनीकरणका लागि प्रयास थाल्न जरुरी रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख चिकित्सक गुणराज अवस्थीले बताए । “आत्महत्याका घटनामा कमी ल्याउन विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्छ,” उनले भने – “आत्महत्या रोग जस्तै देखापरेको छ ।” 

आत्महत्या कसैबाट पीडित भएर गर्ने भएकाले त्यस्तो लक्षण देखिने व्यक्तिलाई सम्झाउनतर्फ लाग्नुपर्ने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पसप्रमुख पृथ्वीराज अवस्थीको भनाइ छ । यस्ता व्यक्तिलाई परिवारले पनि सहयोग गर्नुपर्छ । 

घरेलु हिंसा न्यून गर्न सकिए आत्महत्या गर्ने दर पनि घट्छ । आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले जनचेतनाको कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि यो काम चुनौतीपूर्ण रहेको छ । आव २०७१/७२ मा १६ जनाले आत्महत्या गरेका थिए । यसमा १४ जनाले झुण्डिएर र दुई जनाले विष सेवन गरेर इहलीला समाप्त गरे । आव २०७२/७३ मा २४ जनाले झुण्डिएर, चारले विष सेवन गरेर र एक जनाले हामफालेर ज्यान गुमाए । 

यस्तै गत आव २०७३÷७४ मा ३० जनाले झुण्डिएर, पाँचले विष सेवन गरेर र एक जनाले हामफालेर आत्महत्या गरेको तथ्याँक छ । चालु आवकोे अहिलेसम्म १० जनाले आत्महत्या गरेका छन् । साउनमा एक जनाले झुण्डिएर, भदौमा ६ जनाले झुण्डिएर र एकजनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । असोज महिनामा पनि दुई जनाले झुण्डिएर देहत्याग गरेका छन् । रासस

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts