बिरालोको टोकाईबाट युवकको मृत्यु



Download our app to get more features

काठमाडौं, २२ असोज । घरमै पालेको बिरालोको टोकाईबाट नुवाकोट महाकाली–४ का ४६ बर्षीय राजन पोखरेल (नाम परिवर्तन) को मृत्यु भएको छ । दुई महिना अघि उनलाई घरमै पालेको बिरालोले टोकेको थियो । बिरालोले टोके पनि पोखरेल रेबिज विरुद्धको सुई भने लगाएनन् । केही दिन पछि नै उनलाई चक्कर लाग्न थाल्यो, खान गाह्रो हँुदै गयो । पोखरेलको गत १८ असोजमा टेकु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चिकित्सकका अनुसार पोखरेललाई सुरुमा चिनीरोग भएको आशंकामा परिवारले उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा लगेका थिए । कुकुरले टोकेको होइन भनेपछि उनलाई रेबिजको सुई लगाउन कसैले सल्लाह नै दिएनन् । बिरालाले पोखरेलको तिघ्रामा टोकेको थियो । सामान्य उपचार गरेर घरमा बसेका पोखरेलको दुई महिनापछि स्वास्थ्यमा समस्या आउन थालेपछि टेकु अस्पताल आएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर शेरबहादुर पुनले बताए । उनले भने,  ‘साउनमा बिरालाले टोकेको रहेछ । चिकित्सकहरूले कुकुरले टोकेको अवस्थामा मात्रै रेविजको सुई दिने अन्य अवस्थामा सोधखोज नगर्ने हुँदा पोखरेलमा रेबिज देखियो । बिरालाले टोक्नसाथ अस्पताल गएर रेबिजविरुद्धको सुई लगाएको भए कुनै समस्या आउने थिएन ।’ 

बिरालाले टोकेर रेबिज 
चिकित्सकका अनुसार सामान्यतया जनावरले टोकेको एक सातादेखि तीन महिनाभित्र रेबिजको लक्षण देखिन सक्छ । रेविज लागे नलागेको परीक्षणबाट जानकारी पाउन सकिदैन । ‘बिरामीको लक्षण हेरेर पत्ता लगाउने गरिन्छ ,’ डा. पुनले भने । रेबिज लागेको व्यक्तिले पानी पिउन डराउने, खान समस्या हुने, हावादेखी डराउने, छटपटिने गर्छन । यहि गतिबिधि पोखरेलले गरेको डा. पुनको भनाई छ । ‘कुकुरले स्यालले टोकेर रेबिज भएका रेकडहरु प्रशस्त छन् ।’ पुनले भने, ‘बिरालाले टोकेर रेबिज भएको संम्भवत नेपालमा पहिलो घटना हो ।’ 

उनले विश्वमै बिरालाको टोकाइबाट रेबिज भई मृत्यु भएको घटना जानकारीमा नभएको बताए । यस्ता घटनाप्रति बिरामी र चिकित्सकले समेत चासो दिनु पर्ने पुनले थपे । ‘जनावरले टोकेर आएका बिरामीहरुलाई सबै चिकित्सकहरुले कुकुरले टोकेको हो मात्रै भनेर सोध्ने गर्छन’ उनले भने,  ‘१८ असोजको घटनालाई हेर्दा अन्य जनावरको टोकाइबाट पनि रेविज हुन्छ र रेबिजको सुई तत्काल लगाउनु पर्छ भन्ने ज्ञान लिनु जरुरी देखियो ।’ 
 

Last modified on 2017-10-08 17:32:51

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts