यो सिजनमा मौसमी रुघाखोकीले १७ को मृत्यु



Download our app to get more features

काठमाडौँ, २६ असोज । मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार १२ अक्टोबरसम्ममा तीन हजार १  सय १ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो । यसमध्ये १७ जनाको मृत्यु भएको हो । 

महाशाखाका निर्देशक डा. भीम आचार्यका अनुसार मृत्यु भएका मध्ये नौ जनामा अन्य रोग पनि थियो । काठमाडौँलगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको संख्या बढेको थियो । इन्फ्लुएन्जा भाइरस टाइप ए को (एच१एन१) भाइरसबाट गत साउन–भदौमा सक्रमित बिरामीको सङ्ख्या ८०६ थियो । 
निर्देशक आचार्य मौसमी रुघाखोकी कुनै पनि समय फैलन सक्ने भएकाले यसबाट हमेसा सतर्क रहनुपर्ने बताउँछन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरसले छिटो सक्रमण गर्ने हुँदा रुघाखोकी लाग्ना साथ उपचार गराउन उनको आग्रह छ । ‘सामान्य मौसमी रुघाखोकी भएकाले धेरै डराउनु पर्ने नभए पनि सतर्क हुनु पर्छ, जटिलता भएमा मृत्यु हुने खतरा बढी हुन्छ,’ उनले भने । विगतमा सुँगुरबाट (एच१एन१) भाइरस सर्दै आएको थियो । अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ । 

सिजनल इन्फ्लुएन्जा (एच१एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनले बताए । केही वर्षयता एच१एन१का बिरामीको संख्या निरन्तर वृद्धि भइरहेको छ । ‘ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्ने जस्ता सतर्कता अपनाउन आवश्यक छ,’ उनले भने । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकीेका बिरामी आउने गरेका छन् । डा. पुनले एच१एन१ भाइरसको जिनमा परिवर्तन आई कडा रूपमा देखिन थालेको बताए । ‘टेमी फ्लू’नामकऔषधि चलाउँदा पनि काम नगरेको उनले जनाए । बिरामीमा निमोनिया देखिने गरेको छ ।

खासगरी, मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समयमा देखिने भए पनि पछिल्लो समय सिजनल इन्फ्लुएन्जा भाइरसले जुनसुकै बेला संक्रमण गर्न थालेको छ । क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गौलाले काम गर्न छाडेका, डायलासिस गरिएका, ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति र पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी संक्रमणको उच्चजोखिममा रहेको निर्देशक आचार्यले जानकारी दिए ।

रासस

Last modified on 2017-10-12 18:00:58

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts