चितवनमा दुई सय ६५ जनामा स्क्रब टाइफस, १८ जनामा डेंगु



Download our app to get more features

रत्ननगर, चितवन १ कात्तिक (रासस) चितवनमा २ सय ६५ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउनदेखि अहिलेसम्म २ सय ६५ जनामा स्क्रब टाइफस र १८ जनामा डेंगु रोग देखिएको छ । तीमध्ये स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भइसकेको छ । विगत तीन महिनामा एक हजार ७६ जनामा स्क्रब टाइफसको र ६४४ जना बिरामीमा डेंगुको परीक्षण गरिएको सो कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताए । 

विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो प्रतिवेदनअनुसार भरतपुर अस्पतालमा १ सय १, रत्ननगर बकुलहर अस्पतालमा नौ, चितवन मेडिकल कलेजमा ७०, नारायणी सामुदायिक अस्पतालमा ६९, मनकामना अस्पतालमा दुई, सेन्ट्रल अस्पतालमा एक जना र निजी ल्याबमा १३ जनामा स्क्रब टाइफस भएको पाइएको हो । ‘माइट’ नामको एक प्रकारको सुक्ष्म कीरा (किर्ना) ले टोकेमा स्क्रब टाइफस रोग सर्ने चिकित्सकले बताएका छन् । 

यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर दुख्ने हुन्छ । यो रोगको जिवाणु मुसाको कानमा बस्ने गर्छ । मुसाबाट घाँसपातमा झर्ने र सोही घाँसपातमा जाँदा मानिसमा सरेर यसले टोक्ने इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनीधि शर्मा बताउँछन् । 

त्यस्तो ठाउँमा काम गर्दा सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । डेंगु भने एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्ने गर्छ । यसबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । ज्वरो आएमा र दुई, तीन दिनसम्म निको नभएमा विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्ने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

Last modified on 2017-10-18 13:55:47

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts