बामगठबन्धनले यसरी बिच्कायो स्वास्थ्यमन्त्री र सचिवलाई

आफुलाई असहयोग भएको मन्त्री पोखरेलेको गुनासो



Download our app to get more features

काठमाण्डौ, २ कार्तिक । बामगठबन्धन निर्माणसँगै सत्तासाझेदार दलहरुबीच उत्पन्न तिक्तताको असर दुई फरक ‘राजनीतिक लाईन’का मन्त्री र सचिवबीच पनि देखिएको छ । नेकपा माओवादी केन्द्रका तर्फबाट स्वास्थ्यमन्त्री बनेका गरिराजमणि पोखरेलले बिदाई कार्यक्रममा स्वास्थ्य सचिवले असहयोग गरेको गुनासो गरेसँगै दुईजनाबीचको तिक्तता सतहमा आएको हो ।

 उनीहरुले एकअर्काको विरुद्ध केहीदिनयता आफु निकटसँग टिप्पणी गरेको सुनिएपनि मन्त्रिले बिहीवार बिहानको कार्यक्रममा भने मुखै खोलेका हुन् । उनले स्वास्थ्य सचिव डा. किरण रेग्मीले अन्तिम समयमा कयौं महत्वपूर्ण निर्णयहरु गर्न असहयोग गरेको र  त्यसले गर्दा सेवा प्रदायक र सेवाग्राही दुवैलाई अप्ठ्यारो परेको गुनासो गरेका छन् । नेपाली कांग्रेसको नेतृत्वको सरकारको साझेदार माओवादी केन्द्रले नेकपा एमालेसँग बाम गठबन्धन गरेपछि सचिव डा. रेग्मीले मन्त्री पोखरेलले गराउन खोजेका निर्णयहरुमा असहयोग गरेको पोखरेलले दावी गरेका छन् ।

श्रोतका अनुसार कांग्रेसनिकट स्वास्थ्य सचिव डा. किरणलाई अचानक माओवादी केन्द्रले सरकारलाई धोखा दिएपछि सोही पार्टीका तर्फबाट स्वास्थ्य मन्त्री बनेका पोखरेललाई काम अघि बढाउन नदिनु भन्ने सम्मको निर्देशन आएको थियो । सोही निर्देशनअनुसार डा. रेग्मीले तत्कालिन स्वास्थ्यमन्त्रीले निर्णय गर्न चाहेका कार्यक्रमहरुका फाइल आफ्नो कार्यकक्षमा थन्काइदिएकी थिइन् । 

उनले तत्कालिन स्वास्थ्यमन्त्री पोखरेलको बिदाईका लागि स्वास्थ्य मन्त्रालयमा कार्याक्रमको आयोजना समेत गरिनन् । केही सिप नलागेपछि मन्त्री पोखरेलले बिहीबार राजधानीको एक रेस्टुरेन्टमा कार्यक्रमको आयोजना गरी आफ्नो कार्यकालमा सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरेका छन् । सोही सन्दर्भमा उनले आफुले अन्तिम समयमा स्वास्थ्य सचिवबाट सहयोग नपाएको गुनासो गरेका हुन ।  ‘गएको एक हप्तादेखि सचिव म नआउँदै मन्त्रालय आउने र हाजिर गरेर बाहिरने गर्नुभयो । कयौं महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने थियो । त्यो निर्णयहरुलाई अवरोध पु¥याउने भूमिका उहाँको भयो,’ पूर्व स्वास्थ्यमन्त्री पोखरेलले थपे, ‘क्याम्पहरु चलिरहेका थिए । त्यसमा मन्त्रालयले सहमति दिनुपर्ने थियो । सचिवको कोठामा फाइलहरु अड्किँदा मानिसहरु रुने,कराउने गरिरहेका थिए । त्यो छटपटाहटलाई सचिवले बुझ्नु नै भएन ।’

 उनले सरकारको माथिल्लो तहमा जे भएपनि अत्यावश्यक सेवा दिने स्वास्थ्य, भन्सार, प्रहरी लगायत निकायको काम कुनै पनि बहानामा रोकिन नहुने बताए ।  ‘म सँधै मन्त्री हुन्न र उहाँ पनि सँधै त्यही पदमा रहनुहुन्न । हामी सामाजिक र आर्थिक परिवर्तनको क्रममा छौ । यहाँ हामी सबैलाई कुनै न कुनै बेला एकअर्काको खाचो पर्नसक्छ । मिलेर काम गरेको खण्डमा मात्र सफलता प्राप्त गर्न सकिन्छ,’ उनले भने । 

उनले आफुलाई श्रीखण्डको रुखको रुपमा लिएको समेत दावी गरे ।  ‘वरीपरि सर्पहरु भएपनि श्रीखण्डको रुखलाई सर्पको विषले छुँदैन । त्यसैरी नै मैले आफुलाई लिएको छु । जसले सहयोग गर्नु भयो उहाँप्रति आभारी छु । जसले सहयोग गर्न चाहनुभएन त्यसमा पनि मेरो केही गुनासो छैन,’ उनले भने ।

यता, स्वास्थ्य सचिव किरण रेग्मीले पनि पछिल्ला दिनमा मन्त्रिको कामलाई लिएर खुबै गुनासो गर्नेगरेको उनी निकटहरुले दाबी गरेका छन् । श्रोतका अनुसार सचिव रेग्मीलाई मन्त्रि पोखरेलले सुरुकै दिनदेखि ‘टर्चर’ दिने गरेका थिए । मन्त्रि पोखरेलले आफुलाई स्वागत गर्न नबसेर श्रीलंका गएको भन्दै मन्त्रि भएलगत्तै सचिव रेग्मीलाई थर्काएको भन्ने प्रसंग मन्त्रालयतिर गाईंगुईं सुन्न पाइन्थ्यो । 
बिदाइका क्रममा स्वास्थ्यमन्त्री पोखरेलले भनेझैं सचिव रेग्मी पन्छिएको कुरा सत्य भएको उनीनिकट श्रोतले स्वीकार गरेको छ । श्रोतका अनुसार मन्त्रि पोखरेलले रेग्मीलाई आफु अनुकुलका अव्यवहारिक निर्णय गराउन बाध्य पारेकाले १० दिनयता मन्त्रालय नै बस्ने नगरेको केही निकटहरुलाई सुनाएकी थिइन् । 

Last modified on 2017-10-20 07:59:14

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts