पटका पड्काउँदै हुनुहुन्छ ? आँखा र फोक्सो जोगाउनुहोस्



Download our app to get more features

काठमाडौं, २ कार्तिक । तिहारलाई भिलिमिली बत्तीको पर्वको रुपमा लिइन्छ । यो हिन्दु धर्मालम्बी नेपालीको दोस्रो ठूलो पर्व हो । यो पर्वका अवसरमा सबैको घरमा फुलमाला र बत्तीको प्रयोग गरी झिलिमिली बनाइन्छ ।

केही वर्ष अघिसम्म दियोमा कपासको बात्ती बालेर घरलाई झिलिमिली बनाइन्थ्यो । तर, पछिल्लो समय यो चलन हराउँदै गइरहेको छ । बजारमा पाइने सस्तो र टिकाउ विद्युतका सामाग्रीले गर्दा कपासका बत्ती शहर बजार देख्न पाइदैन । कपासका परम्परागत बत्तीका स्थान विद्युतका बत्ती, पटकाले लिएको छ । तर यस्ता सामान स्वास्थ्यका लागि राम्रो भने मानिदैन । तिहारमा बालिने विद्युतका बत्ती र पटकाले आँखामा बढी असर गर्ने चिकित्सकहरू बताउँछन् ।

आँखामा यस्तो असर गर्छ पटकाले
पटका र भुँईचम्पा पट्काउँदा बालबालिकालाई टाढै राख्नु पर्ने चिकित्सकको सुझाब छ । सबैलाई सचेत गराएर मात्रै पटका पट्काउन उनीहरू सल्लाह दिन्छन् । भुँईचम्पा र पटका पट्काउँदा त्यसको झिल्काले आँखाको अगाडीको भागमा असर गर्ने नेत्ररोग विशेषज्ञ डा. रोहित सैजु बताउँछन् । उनका अनुसार आँखामा यस्तो झिल्का परेमा आँखा पोल्ने, आँसु आउने, बिझाउने, आँखा धमिलो हुने र आँखा खोल्न समस्या हुने गर्छ । 

यस्तो भएको लामो समयसम्म पनि उपचार नगरे आँखाको ज्योति गुम्छ । यदि कसैको आँखामा भँुईचम्पा वा पटकाको झिल्को परे त्यसलाई सफा पानीले पखाल्नु पर्ने डा. सैजुको भनाई छ । यस्तो बेलामा आँखा मिच्नु हँुदैन । साथै आँखा बन्द गरेर छिटोभन्दा छिटो नजिकको अस्पताल पु¥याउनु पर्छ । 

पटकाको धुँवा फोक्सोका लागि घातक
दिल्लीको सर गंगाराम अस्पतालको लग्स सर्जरी डिपार्टमेन्टका डा. अरविन्द कुमारका अनुसार पटका पड्काउँदा निस्किने  तत्व र धुँवा मानव स्वाथ्यका लागि विष सरह हुन्छ । आममानिसमा पटका पट्काउँदा निस्किने विषाक्त चिज एक दिनमै बिलाएर जाने गलत धाराण रहेको उनले बताए । तर, यसको असर दीर्घकालसम्म रहने उनी बताउँछन् । पटका पड्काउँदा हामीले धेरै मात्रामा विषालु पदार्थ आफ्नो शरीरभित्र भित्राउने र पछिसम्म त्यसको असर रहिरहने विज्ञहरूको भनाई छ । चिकित्सककाअनुसार पटका पट्काउँदा निस्कने धुँवा फोक्सोमा जम्मा हुने र यसले कालन्तरमा असर गर्ने गर्छ । 

Last modified on 2017-10-20 08:59:36

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts