भौगोलिक विकटताले स्वास्थ्य संस्थाको भवन निर्माणमा ढिलाई



Download our app to get more features


बाबियाचौर, म्याग्दी, १० कात्तिक (रासस) : म्याग्दीका स्वास्थ्य संस्थाको भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा समस्या भएको छ । 
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण निधौरित समयमा भवन नबन्दा उपचार सेवा प्रवाहमा समस्या भएको हो । अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा १८ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७१ मा शुरु भएको स्वास्थ्य चौकीको भवन निर्माण कार्य अझै पूरा हुन सकेको छैन । 

एक वर्षअघि नै सकिनुपर्ने भवन अझै पूरा नहुँदा अलपत्र पर्नुका साथै सेवा प्रवाहमा असर परेको राम्चे स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राजु पुनले बताए । हाल वडा कार्यालयसँगैको दुईवटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ ।

 बिरामीको स्वास्थ्य परीक्षण, परामर्श, सुरक्षित प्रसूति, औषधि भण्डारणजस्ता कक्षको अभाव हुँदा समस्या भएको हो । सो भवन निर्माणको जिम्मा लिएको भगवती निर्माण सेवाका सञ्चालक गोपाल भट्टचनले भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण ढिलाइ भएको बताए ।  हिउँद र बर्खामा प्रतिकूल मौसमका कारण काम गर्न नसक्नु तथा दुर्गम भएकाले बालुवा, सिमेन्ट, रड, ढुंगाजस्ता निर्माण सामग्री ढुवानी गर्न समस्या भएको उनको  भनाइ छ । राम्चेको मात्र नभएर गत असारमै सकिनुपर्ने बिम, बरंजा र पिप्ले स्वास्थ्य चौकीको भवनको अवस्था पनि उस्तै छ । 

अठार महिनामा सक्ने लक्ष्यसहित विसं २०७० मा बेनीमा शुरु भएको जिल्ला जनस्वास्थ्य कार्यालयको भवन निर्माण कार्य हालै मात्र सकेर हस्तान्तरण भएको थियो । डिभिजनका इञ्जिनियर गणेश महर्जनले भौगोलिक विकटता र व्यवसायीले समयमै काम नगर्दा भवन निर्माणमा ढिलाइ भएको बताए ।  

ढिलाइ गर्ने व्यससायीलाई ताकेता गरिरहेको उनले बताए । उनका अनुसार बरंजा, पिप्ले र बिमको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसैगरी विसं २०७३ देखि देविस्थान र भगवती स्वास्थ्य चौकीको भवन निर्माण कार्य शुरु भएको छ । 

यस वर्ष थप छवटा स्वास्थ्य चौकीको भवन निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । कुइनेमंगले, घार, हिस्तान, पुलाचौर, कुहुँ, ओखरबोट र मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माणका लागि ठेक्का सम्झौताको तयारी भएको इञ्जिनियर महर्जनले बताए । 

यसैगरी, बेनी अस्पतालको ५० सै्यया क्षमताको भवन र चिकित्सक निवासका दुईवटा भवन निर्माणको काम शुरु भएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts