एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि



Download our app to get more features

चितवन, ११ कात्तिक । एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् ।

रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो । 

संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन गर्न पाउने भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकेयर फाउण्डेशन (एएफएच) नेपालका वरिष्ठ क्षेत्रीय परियोजना संयोजक कृष्णहरि सापकोटाले बताए । उनका अनुसार संक्रमण भएको प्रमाणित भएलगत्तै र संक्रमणको जोखिममा परेकालाई औषधि दिइने छ । यसअघि रगतमा सिडिफोरको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्था थियो । 

भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरका प्रमुख डा उन्नत श्रेष्ठका अनुसार एचआइभीको जोखिम रहेकालाई पनि औषधि दिने व्यवस्था सरकारले गरेको छ । श्रेष्ठले भने “कोही व्यक्ति संक्रमित छैन तर उसले यौन सम्पर्क गर्ने साथी एचआइभी संक्रमित छ भने त्यस्तो व्यक्तिलाई औषधि दिन सकिन्छ ।” त्यस्तो व्यक्तिले औषधि खाएमा संक्रमण हुने नसक्ने नभई खतरा कम हुने श्रेष्ठले बताए । 

संक्रमित नभएका तर समलिंगी यौन व्यवहार गर्ने, यौनकर्मी, बलात्कारमा परेकालाई यो औषधि दिन सकिने श्रेष्ठले बताए । त्यस्तै संक्रमितको सम्पर्कमा आएर आफूलाई पनि संक्रमण भयो कि भन्ने आंशका गर्नेलाई पनि औषधि दिने नीति बनेको उनले बताए । 

बलात्कृत भएमा वा अन्य कारणबाट संक्रमित भएको शंका लागेमा ७२ घण्टाभित्र चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्ने उनले बताए । लगातार २८ दिन औषधि खाएपछि जोखिम कम हुने उनको भनाइ छ । उनले भने “यसरी औषधि खाँदा संक्रमत हुँदै हुँदैन भन्ने होइन, संक्रमण हुने सम्भावना कम रहन्छ ।” 

भरतपुर अस्पतालमा सन् २००७ देखि एआरटी सेन्टर शुरु भएको हो । त्यसयता गत सेप्टेम्बर ३० सम्म सो सेन्टरमा एक हजार ४६९ जना एचआइभी संक्रमितले नाम दर्ता गराएका छन् । तीमध्ये ७४८ जनाले त्यहीबाट नियमित औषधि खाइरहेको एएफएच नेपालका वरिष्ठ क्षेत्रीय परियोजना संयोजक सापकोटाले जानकारी दिए । 
नेपालमा ३२ हजार ७३५जना एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । सन् २०१६ सम्म १८ हजार १३० जना संक्रमित रहेको प्रमाणित भएको सापकोटाले बताए । तीमध्ये १३ हजार ६९ जनाले एआरटी सेवा लिएका छन् । 

सरकारले जोखिममा रहेकाको परीक्षण गर्ने, परीक्षणबाट एचआइभी संक्रमित भएको भेटिएमा उपचार शुरु गर्ने र सन् २०३० सम्म एचआइभीलाई निर्मूल बनाउने योजना बनाएको छ । वैदेशिक रोजगारी, खुल्ला सीमा, संक्रमित पत्ता लागेर पनि नियमित औषधि खान नमान्नुजस्ता कारण एचआइभी संक्रमण घटाउन समस्या भइरहेको जानकारहरु बताउँछन् । रासस

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts