बिचमै उपचार छाडेर घर फर्किए प्रेम नेपाली 

डायलाइसिस निःशुल्क भए पनि बस्ने व्यवस्था नहुँदा बिरामीको बिचल्ली 



Download our app to get more features

काठमाडौं, १७ कात्तिक । मिर्गौलाको उपचारका लागि गत चैतमा दाङबाट काठमाडौं आएका ७५ वर्षीय प्रेम नेपाली विहीबार बिचमै उपचार छोडेर घर फर्किएका छन् ।

मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा आठ महिनादेखि उपचाररत नेपाली काठमाडौंमा एक्कासी बढेको चिसो सहन नसकेर घर फर्किएका हुन् । उनी दाङबाट आएदेखि नै अस्पतालको चिसो भुईमा बस्दै थिए । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनले बाहिर कोठा खोजेर बस्न नसकेको बताए । बुधबार अस्पतालमै भेटिएका उनले भने ‘अस्पतालको भुईको चिसो सहनै नसक्ने भएँ, बाहिर बस्न कोठा भाडा तिर्ने पैसा छैन ।’ उनका दुवै मिर्गाैलाले काम गर्दैन । ढल्कदो उमेर र दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनलाई हिड्डुल गर्न समेत अरुको सहयोग चाहिन्छ । उनलाई सहयोग गर्न उनकी श्रीमती पनि आठ महिनादेखि अस्पतालको चिसो भुईमा बस्दै आएकी थिइन ।

३ वर्षमा २० लाख खर्च
तीन वर्ष अघि मृगौलामा समस्या भएपछि उनी उपचारको लागि भारत गएका थिए । उमेरमा भारतमै मजदुरी गरेको उनलाई उपचारका लागि काठमाडौं आउनु भन्दा भारत जानु सजिलो भएको सुनाए । खेतीकिसान गरेर परिवार चलाइरहेका उनको आयको अन्य स्रोत छैन । उनका एक छोरा र एक छोरी छन् । छोरा गाउँमै बस्छन । भारतमा उपचारका क्रममा करिब तीन चार लाख खर्च भएको उनले बताए । ‘भारत र यहाँको उपचार र औषधिमा करिब २० लाख सक्किसक्यो ।’ उनले भने ‘सुरुमा आफन्तसँग ऋण मागेर उपचार गरे । पछि जग्गा नै बेचेँ ।’ काठमाडौं आएदेखि मात्रै डायलाइसिस गर्ने थालेको उनले बताए । त्यसअघि उनी औषधि सेवन गर्दै आइरहेका थिए । अस्पतालमा डायलाइसिस निःशुल्क भए पनि औषधि लगायतमा खर्च बिरामीले नै गर्नुपर्छ ।

उपचारका क्रममा भारतमा उनी नौ महिना बसे । भारतका चिकित्सकले ‘मिर्गौलामा पानी जमेको छ’ भनेर नौ महिना अस्पताल राखेको उनकी छोरी रिता बस्यालले बताइन् । ‘भारतबाट घर फर्केपछि उनको स्वास्थ्य अवस्थामा अलि सुधार आएको थियो । तर, आठ महिना अघि स्वास्थ्यमा फेरी खराब आयोे ।’ उनले भनिन् । काठमाडौंमा कोही आफन्त पनि नभएका र कोठा भाडामा लिएर बस्ने अवस्था नभएपछि अस्पतालको चिसो भुईमा बस्न बाध्य भएको छोरीले सुनाइन । उनले थपिन् ‘बुबाको स्वास्थ्य धेरै नै नाजुक भएमा अस्पतालले आकास्मिक कक्षमा राख्थ्यो ।’ 

खुल्ला ठाउँ त्यसमाथि सिमेन्टको चिसो भुईमा बस्न नसक्ने भएकोले घर दाङ फर्कने निर्णय गरेको प्रेम नेपालीले बताए । उनले साताको दुई पटक डायलाइसिस गराउनुपर्छ । तर भुई मै बस्ता चिसोले स्वास्थ्यमा अरु जटिलता नआओस् भनेर घर लैजान लागेको छोरी रिताले सुनाइन । उनी बाबुलाई घर लान भनेर आइतबार काठमाडौं आइपुगेकी हुन् । उनले अब डायलाइसिसको लागि काठमाडौं नआउने र दाङमै गर्ने बताइन ।

असाहयका लागि बस्ने ठाउँको पहल गर्न जोड
असाहय र विपन्न बिरामीका लागि अस्पतालले बस्ने व्यवस्था गर्न सके निकै राहत मिल्ले प्रेम नेपालीले बताए । उनी मात्र होइन डायलाइसिस गर्नुपर्ने अरु बिरामीको पनि काठमाडांैमा बसोवास गर्ने ठाउँ नहुँदा अस्पतालको चिसो भुईमा बस्न बाध्य छन् । सातामा एक वा दुई पटक डायलाइसिस गर्नुपर्ने तर, आर्थिक अवस्था कमजोर र धेरै टाढा घर भएकाहरूलाई निकै सास्ती हुने गरेको छ । 

Last modified on 2017-11-04 07:29:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts