के गण्डकी मेडिकल कलेजमा लापर्वाही भएकै हो ? यस्तो छ नालीबेली !



Download our app to get more features


पोखरा,२३ कात्तिक । पोखरास्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल यतिखेर विगत एक हप्ता देखि सुत्केरीको मृत्यु प्रकरणले तनावग्रस्त छ ।

अस्पतालमा प्रहरी परिचालन गरिएको छ भने दिनहुँ हुने वादविवाद र प्रदर्शनका कारण उत्पन्न परिस्थितिले अस्पतालमा सेवा लिन आउने बिरामीहरु मर्कामा परेका छन । मृतकको शव  पाँच दिनपछि प्रहरीको रोहवरमा अस्ति मंगलबार पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगेर राखिएको छ । 

के भएको थियो ?
कार्तिक ११ गते सुत्केरी हुन अस्पताल आएकी स्याङ्जा अर्जुनचौपारीकी १९ वर्षीय गिता अर्यालको अपरेसन गरेर सुत्केरी भएको एक साता पछि गत शुक्रबार मृत्यु भएको थियो । अपरेसनको एक हप्ता पछि उपचार गर्दागर्दै आमाको मृत्यु भएपनि जन्मिएको बच्चा भने सकुशल छ । अपरेसनको क्रममा जटिलता आएको र बचाउने हरसम्भव प्रयास गर्दा गर्दै सुत्केरीको मृत्यु भएको अस्पतालले बताएको छ । उता बिरामीका आफन्तहरुले भने अस्पतालले उपचारको क्रममा लापर्वाही गरेको र मृत्यु भएको र यथार्थता बाहिर नल्याएको आरोप लगाउदै अस्पताल अगाडी प्रदर्शनको साथसाथै तोडफोडमा समेत उत्रिएका छ्न । मृतकका आफन्त र अस्पताल प्रशासन बीच पटकपटक विभिन्न चरणमा वार्ता भएपनि निष्कर्श आउन सकेको छैन ।

आफन्तहरुको आरोप
मृतक अर्यालका आफन्तहरुले अपरेसनको क्रममा भएको गल्ती लुकाउनलाई अस्पतालले सुत्केरीलाई बेहोश भएको भनेर आइसीयुमा राखेको र एक हप्तापछि मृत्यु भएको जानकारी दिएको आरोप लगाएका छन । सामान्य अवस्थामा हिडेर अस्पताल पुराइएकी बिरामीको उपचार प्रक्रियाको बारेमा जानकारी नदिइएको, बिरामीलाई भेट्न नदिइएको र अन्तिमसम्म पनि हजारौंको औषधि किनेर ल्याउन भनेर बिरामीको यकिन अवस्थाको बारेमा जानकारी नगराईएको भनाइ  आफन्तहरुको छ ।

अस्पतालको भनाइ
अस्पताल प्रशासन भने आफन्तहरुले लगाएको आरोपमा रत्तिभर सहमत छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. तुमाया घलेका अनुसार मृतक अर्यालको उपचारमा अस्पताल र चिकित्सकको कुनै कमजोरी वा त्रुटि भएको छैन । अपरेसनको क्रममा देखिएको जटिलताका कारण श्वासप्रश्वासमा समस्या भएर आइसीयुमा राखेर उपचार गर्नुपरेको र बचाउने हरसम्भव प्रयास गर्दागर्दै पनि सफल नभएको उनको भनाइ छ । हजारौंमा एक–दुइमा यस्तो समस्या देखिन सक्ने र त्यसो भन्दैमा चिकित्सकको लापर्वाही नहुने उनको तर्क छ । आफन्तहरुलाई बिरामीसंग भेट्न नदिइएको भन्ने कुरा पनि झुट रहेको र हरेक दिन दुइपटक आफन्तहरुलाई बिरामीको अवस्थाबारे जानकारी दिइएको दाबी उनले गरिन । मृतकका आफन्तहरुलाई उपचार प्रक्रियाको बारेमा केही शंका लागे विशेषज्ञको टोली बनाएर घटनाको छानबिन गर्ने र अस्पताल र चिकित्सकहरुको गल्ती देखिए त्यसै अनुरुप कानुन अनुसार कारर्वाहीको  निम्ति आफुहरु तयार रहेको  डा. घलेले बताइन ।

अस्पताल अगाडी प्रदर्शन र तोडफोड
बिरामीको मृत्यु भएको दिन देखिनै आफन्त तथा गाउँलेहरुले हरेक दिन अस्पताल अगाडि नाराबाजी, टायर बालेर सडक अबरोध र प्रदर्शन गर्दै आएका छन । आइतबार बेलुकी उनिहरु मेडिकल सुपरिटेन्डेन्टको कार्यलयमा प्रवेश गरेर ढोकाका सिसा, कम्प्युटर, प्रीन्टर लगायतका सामानहरु तोडफोड गरेका थिए । हिजो बुधबार पनि आफन्त तथा गाउँलेहरु अस्पताल हाताभित्र प्रवेश गरेर अस्पतालका सेवा बन्द गर्न दबाब दिएका थिए । अस्पतालमा यस्तो समस्याका कारण दैनिक अस्पतालमा सेवा लिन आउने करिब ८०० बिरामी मारमा परेका छन ।

विभिन्न पेसागत संघ संगठनहरुद्वारा भर्त्सना
अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा, तोडफोड, हुलहुज्जत तथा प्रदर्शन गरी निर्भीक र स्वतन्त्र रुपले काम गर्ने वातावरणमा  खलल पुर्याएको भन्दै चिकित्सक तथा विभिन्न पेशागत संघ संगठनहरुले विरोध जनाएका छ्न । नेपाल चिकित्सक संघ(गण्डकी शाखा, अफिन(पोखरा शाखा, डाक्टरस सोसाइटी अफ नेपाल, गण्डकी मेडिकल कलेजमा कार्यरत चिकित्सक तथा इन्टर्नहरुले छुट्टाछुट्टै बिज्ञप्तिमार्फत अस्पतालमा भएको तोडफोडको भत्र्सना गर्दै यस्तै परिस्थिति रहे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन । साथै सम्बन्धित पक्षलाई कानुनसम्वत घटनाको छानविन गरि त्यसैअनुसार अघि बढ्न जोड दिएका छन ।

पहिले लापर्वाहीको स्वीकार अनि छानबिन– मृतक पक्ष
मृतक पक्षद्वारा अस्पतालकै लापर्वाहीले सुत्केरीको मृत्यु भएको अस्पतालले जिम्मा लिने र स्वीकार गर्नुपर्ने, बच्चाको पालन पोषण, शिक्षा दिक्षा  र भविष्यको  जिम्मेवारी लिनुपर्ने, उपचारमा संलग्न डाक्टरहरुको लापर्वाही र योग्यता छानविन गरि हदैसम्मको कारर्वाही हुनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने भन्दै अस्पताल प्रशासन समक्ष ज्ञापन पत्र बुझाएका छन । समस्या समाधान नभए आन्दोलन अझै अघि बढाउने उनिहरुको भनाइ छ ।

छानविन समिती गठन
हिजो बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसुती रोग विशेषज्ञ डा. रवि रेग्मीको संयोजकत्वमा एनेस्थेटिस्ट डा सुशील तिमल्सिना, जिल्ला प्रशासन कार्यलय प्रतिनिधि, जिल्ला जनस्वास्थ्यका प्रतिनिधि र उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधि रहेको छानविन समिती गठन भएको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको र त्यसैअनुसार घटनामा त्रुटि भएको नभएको यकिन गरि कारर्वाही गर्ने पश्चिमाञ्चल स्वास्थ्य निर्देशक डा.विनोद गिरीले बताए ।


 

Last modified on 2017-11-10 16:36:07

2 Comments

  1. Afno khutta ma afai bancharo hanne yo sochai le Hami sabai Nepali Marka ma parchhau, kina yo kura nabujheko hola,

  2. Marepachhi, birami ka manche le yesto jhut bolchha " Bhetnai diyena" " Mareko lai judo bhani paisa thagyo" " Arkai doctor le operation garyo" " Sikaru thyo" yo sab " Driver le back garera kichyo" bhane jastei guff ho.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts